गरिबलाई नि:शुल्क बिजुली दिने घोषणा

गरिबलाई नि:शुल्क बिजुली दिने घोषणा

ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएकोछ ।

आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन आफूले गृहकार्य थालिसकेको जानकारी समेत दिनुभयो । भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पार्नुभयो ।

‘यो मेरो निर्णय नभई अवधारणा हो ।’ उहाँले भन्नुभयो, ‘निर्णय गरेपछि यहाँहरुलाई फेरि बोलाउनेछु ।’

मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सार्नुभयो । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग,कलकारखाना,व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उहाँको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो । त्यसैगरी उहाँले ट्रान्समिसन लाइन निर्माणको कामलाई तीव्रता दिने जानकारी दिनुभयो । मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुलुकको उत्पादन र उत्पादकत्व बृध्दिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको पनि बताउनुभयो । मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत वस्तु सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जालगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको जानकारी समेत दिनुभयो । जलविद्युत आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढन नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू