मौका यही हो, सक्दो लुटे हुन्छ

झापाका धनाढ्य छत्र गिरीहरूको झण्डै ३५० बिघा जमिन छ । त्यो पनि प्राइम लोकेशनमा । विर्तामोडबाट पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै रहेको त्यो जग्गा चिया उद्योगका लागि भनेर उनीहरूलाई राख्न दिइएको हो ।

नत्र २८ बिघा मात्र एक जनाले राख्न पाउने हदबन्दीको नियमका कारण जम्मा ३ भाइ गिरीले ८४ बिघाभन्दा बढी जग्गाको स्वामित्व राख्नै पाउँदैनथे । अहिले त्यही बढी जग्गा बेच्न कानुन नै परिवर्तन गर्ने खेलमा गिरीबन्धुहरू लागिपरेका छन् । यससम्बन्धी नियमावली फेर्ने प्रस्ताव यतिबेला कानुन मन्त्रालय पुगेको छ । गिरीबन्धु टि इस्टेटको सो जग्गा यदि बेच्न दिने हो भने राज्यलाई सोझै १५/२० अर्बको त नोक्सानी नै पर्छ ।

चिया बगान मासिन्छ र घडेरी बिक्री शुरु हुन्छ । झापाका गिरीहरू कति बाठा भने हामी त्यो बेच्छौं अनि अन्तै चियाबगान सार्छौं भन्छन् । काठमाडौंको जग्गासँग टिष्टुङ–पालुङको जग्गा साट्छु भन्दा हुन्छ ? उनीहरूको त्यस्तै माग छ । गज्जब त के छ भने गिरीहरूको बठ्याइँले काम नगर्ने भएपछि अहिले भूमिसुधारका सचिव नै फेर्ने योजनासमेत बन्न थालेको छ । झापाकै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीमाथि मध्यपश्चिमको क्षेत्रीय प्रशासकबाट भर्खर भूमिसुधारमा ल्याइएका कृष्ण देवकोटालाई अन्तै लखेट्नुप¥यो भन्दै दबाब शुरु भएको बताइन्छ ।

‘यी कडा मान्छे रहेछन् । यिनले काम नगर्ने भए मन्त्रीज्यू’ भन्दै मोटो रकमको प्रलोभनसहित सचिव फेर्ने योजना बन्दै गरेको बताइन्छ । स्मरण रहोस्, टि इस्टेटको नाममा रहेको सो जग्गा अन्य प्रयोजनमा भोगचलन गर्न त मिल्दैन भने त्यसलाई घडेरी बनाएर बेच्ने कुरा त हालको कानुनले कल्पनासमेत गरेको छैन ।

टिप्पणीहरू