मात्र एउटा मान्छेको खातिर

सरकारले घोषणै गरेको छ संघीयता कार्यान्वयन नहुञ्जेल कहिँ–कतै नयाँ दरबन्दी सिर्जना गरेर कर्मचारी अह्रन–खटन नगर्नु । तर, सरकारी घोषणाविपरित मन्त्रालयभित्रै दरबन्दी सिर्जना भएको छ । त्यो पनि कुनै ठूलो खड्गो टार्नलाई होइन, एउटा मान्छे पोस्नका लागि ।

भूमिसुधार मन्त्रालयले नापी विभागमा सहसचिव रहने गरी एउटा अलग्गै दरबन्दी सिर्जना गरेको छ । हेरिनसक्नुका सहसचिव थुप्रिएर, काम नपाएर बसेका छन् । तर, दरबन्दी सिर्जना गर्दै भूमिसुधारले के नै चमत्कार गर्न लाग्यो भन्नुहोला । जम्माजम्मी एकजना विवादास्पद उपसचिवलाई सहसचिवमा बढुवा दिनका लागि यी सब तिकडम रचिँदैछ । उनी हुन्, साविर हुसैन ।

सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधिले सरकारकै घोषणाविपरित थप्न लागिएको दखबन्दीलाई अस्वीकार गरिसकेका छन् । तर, मुख्यसचिव डा.सोमलाल सुवेदीले सुशील कोइराला सरकारका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यको दबाबमा यो काम जसरी पनि गर्नु भनी भूमिसुधारलाई निर्देशन दिएका छन् । त्यसअनुसार, मन्त्रालयले साविरको बढुवा सिफारिस ग¥यो । तर, अहिले लफडा चल्यो, शैक्षिक योग्यताको । उनलाई स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र पेश गर्न सामान्यले चिठी काट्यो । भारतको नागाल्याण्ड, डिम्बापुरस्थित ग्लोबल ओपन युनिभर्सिटीबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेको प्रमाणपत्र पनि पेश गरे । तर, भारतमा सन् २०११ मै कारवाहीमा परेको विश्वविद्यालयबाट सन् २०१३ मा उत्तीर्ण भएको प्रमाणपत्रले कसरी मान्यता पाओस् ! अर्थात्, पढेर होइन, किनेर ल्याएको प्रमाणपत्र !

यही व्यहोराको उजुरी लोकसेवामा पनि प¥यो । यसपछि बढुवाको निर्णय सार्वजनिक भएन । त्यसमाथि उनले नक्कली इक्विभ्यालेन्ट पेश गरेका रहेछन् । हिजो मंगलबार सामान्य प्रशासन मन्त्रालयले त्रिविस्थित पाठ्यक्रम विकास केन्द्रलाई यसबारे पत्राचार गरेको छ, समकक्षता निर्धारणबारे । उनले चाहिँ आफ्नो नभएर झापाका चेतप्रसाद भण्डारी नामक व्यक्तिले उहिल्यै लिएको समकक्षता पेश गरेका रहेछन् । यो लफडा एकातिर छ, सामान्यका सचिव पूर्णचन्द्र भट्टराईलाई मुख्यसचिव सोमलाल सुवेदीले हिजै पनि यो काम छिटो सिध्याएर बढुवा दिन भनिरहेका थिए ।

यी उपसचिव मन्त्रालयकै सबभन्दा धनी मानिन्छन् । भूउपयोग आयोजना, अर्घाखाँची विशेष नापी, अछाम विशेष नापीमा बसेका हाकिम हुन् । करारमा कर्मचारी नराखी तिनका नाममा रकम निकासा गरेको आरोपमाथि मन्त्रालयभित्रैबाट छानवीन भइरहेको छ ।

टिप्पणीहरू