दिल्ली दूतावासमा झण्डै दुःखद्

अघिल्लो हप्ताको आकस्मिक बर्षात् हुँदा जाडो घट्ने अवसर त बन्यो, तर यसैले सिर्जना गरेको एउटा सामान्य क्षतिको बहानामा सरकारी कोषको केही करोडमाथि दखल पुगेको छ । अर्थात्, त्यस्तै बहानामा नेपाल सरकार दिल्लीस्थित नेपाली दूतावासलाई थप केही करोड रकम निकासा गर्न बाध्य हुने अवस्था आइलागेको छ ।

राजनीतिक मामिला हेर्ने सहचारी (अट्याची) बुद्धमाया भट्टराई र कन्सुलर शाखाकी अस्मिता न्यौपाने गत शुक्रबार अफिस जान ठिक्क परिसकेका थिए । कोठाबाट निस्कन पनि पाएका थिएनन् । दिल्ली दूतावासस्थित निवासको छतबाट सिमेण्टीको चपरी भुइँमा झ¥यो । धन्न, ज्यानमा तलमाथि हुन पाएन । अधिकृत सिर्जना अधिकारीमाथि पनि त्यस्तै विपद् आइलाग्यो । उनको निवासबाहिर बरण्डाको स्ल्याब खस्दा कर्मचारीहरुको भागाभाग भयो । त्यसमाथि दिल्ली महानगरले आठ फिटको कम्पाउण्ड वाल लगाउन उर्दी जारी गरेपछि र बाह्रखम्बा रोडस्थित दूतावास भवन मुन्तिरबाट मेट्रो रेल कुद्न थालेपछि भौतिक संरचना थर्किएर अर्को बिजोग छ । त्यस्तै–त्यस्तै अप्ठेरो स्थितिलाई सम्हाल्न राजदूत दीपकुमार उपाध्यायले थप बजेटको माग गरेका हुन् ।

परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखामा त्यससम्बन्धी पत्र आइपुगेको छ । यो वर्ष आठवटा प्रिफ्याब भवन बनाउने प्रयोजनको निम्ति तीन करोड र वरपर पर्खाल ठड्याउन चार करोड मागिएको हो । अहिले दूतावासका जिम्मेवार अधिकृतहरु दूतावासबाहिर फ्ल्याट भाडामा लिई बसेका छन् । यदि रकम निकासा हुने हो भने घर भाडाबाट समेत बचिने दीपकुमारको तर्क छ । दिल्ली दूतावासमा तैनाथ जर्नेल अरुण घले, प्रहरीका एसएसपी यादव खनाल, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अधिकृत ओमप्रकाश जोशी र लोकमानको प्रवक्ता हुँदाहुँदै इकोनोमिक मिनिष्टरको हैसियतमा दिल्ली खटिएका कृष्णहरि पुष्करका निम्ति नेपाल सरकारले वार्षिक ५४ लाख भाडाबापत खर्च गर्नुपरेको छ । ३० वर्षको ग्यारेण्टीयुक्त यस्ता प्रिफ्याब भवन बनाउन सकियो भने तेल, ड्राइभर खर्च तथा समयको बचत हुने र ज्यान जोखिमबाट समेत बचिने तर्कसहित रकम निकासाको पत्र परराष्ट्र आइपुगेको हो ।

अर्को वर्ष चारवटा त्यस्ता भवन बनाउने लक्षबारे समेत पत्रमा उल्लेख छ । एउटा प्रिफ्याबमा एउटा परिवार ढुक्कैसँग बस्न मिल्ने बनाउन ५० देखि ६० लाख भारु. लाग्ने प्रारम्भिक अनुमान छ । त्यसरी नै आगामी मार्च १८–२० मा नेपाल महोत्सव आयोजना गरिने लक्ष्यसहित सोको निम्तिसमेत बजेट माग गरिएको परराष्ट्रस्रोतबाट थाहा लागेको छ ।

टिप्पणीहरू