राजश्व उठाउनैमा पनि रोजीरोजी

सरकारी नियुक्तिहरुमा सत्ताधारीबीच भागबण्डा मिल्ने कुरा त नौलो भएन, अब हुँदाहुँदा राजश्व उठाउने संवेदनशील निकायमा समेत त्यस्तो धन्दा चल्न थालेको छ ।

कांग्रेस र माओवादीबीच लेनदेनको फलस्वरुप राजश्व अनुसन्धान विभागमा घुमिफिरी रामशरण चिमोरियालाई पठाउन लागिएको छ । आन्तरिक राजश्व विभागका लागि महेश्वर न्यौपाने या विष्णु नेपाललाई तयारी हालतमा राखिएको छ । शिशिर ढुंगाना सचिव बढुवाको एक नम्बरमा परेपछि भन्सार विभागको महानिर्देशकमा रामकृष्ण सुवेदीलाई हप्तादिनभित्रै पदस्थापन गरिने सम्भावना छ । स्थानीय विकास मन्त्रालयमार्फत बजेटमै नपरेका स–साना आयोजनाका नाममा रकम निकासा पनि जोडदार हिसाबले हुन थालेको छ, बाटो– पानी भन्दै । माओवादी नेताहरुको निर्वाचन क्षेत्रलाई ध्यानमा राखेर यस्तो हुन लागेको हो । असुलीजस्तो बसी–बसी सात पुस्तालाई पुग्ने निकायमा घुमिफिरी उनै कर्मचारीको सेटिङ मिल्दा राज्यको आम्दानीमा राम्रै चुना लाग्ने गरेको इतिहास छ । श्रमको कर्मचारीले म्यानपावरसँग साझेदारी गरेर नीति निर्माणमा असर पार्न थाल्यो भने, भौतिक योजनाको इञ्जिनियरले ठेकेदारसँग चोचोमोचो मिलाउन थाल्यो भने, बर्दी सरकारी फौजको तर रिपोर्टिङ विदेशी एजेन्सीलाई हुन थाल्यो भने, पोशाकमा कालोकोट तर अदालतमा बहस गर्न छाडेर जग्गा दलालीतिर तनमन समर्पित हुन थाल्यो भने त्यो देश उँभो लाग्छ भनेर कसले कल्पना गर्ने ?

दीप बस्न्यात अहिले अख्तियारमा निमित्त प्रमुख छन् । उनी राजश्व अनुसन्धानको महानिर्देशक हुँदा निजी सचिव थिए लक्ष्मण बाँस्तोला । त्यही फाइदा उठाएर तातोपानी नाका गए । दीप अख्तियार पुग्नासाथ पिए बन्न त्यतै गए । त्यहीँबाट नेपालको चीनसँग एकमात्र भन्सार नाका रसुवागढीको स्वाद चाख्न पुगेका छन् । त्यताबाट चल्ने आधाभन्दा बढी कन्टेनर व्यवसायीसँग उनको राम्रै कनेक्सन छ । सूर्यनाथकै पालामा डामिएका अर्थसम्बद्ध २२ भाइमध्ये श्याम बस्नेत पनि रसुवा भन्सारकै अधिकृत छन् । अर्जुन थापा राजश्व अनुसन्धान विभागमा छन् । नुवाकोटे नासु रामकृष्ण तिवारीलाई ढुक्कै पथलैया नाकाको जिम्मा छ ।

एकातिर सरकारी कर्मचारी, अर्कातिर व्यापारीको दलाली † दोहोरो दायित्व थपिँदा तिनले इमानका साथ कर्तव्य निर्वाह गर्छन् भनेर कसले पत्याउने  ? तातोपानी, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज, विराटनगर र निजी भन्सार एक्लै हाँकेका ज्ञानेन्द्र कार्की लोकमानका एक्का थिए । त्यही आडमा अकूत कमाए । कृष्णनगर भन्सारबाट भर्खर अवकाश पाएका छन् । यस्तो बिचौलिया कर्मचारीमा भरत घिमिरे, रमेश चालिसे, राजेन्द्र गौतमको नाम पनि राम्रैसँग चर्चित छ । जबसम्म आँटिलो नेताले यस्ता प्रबृत्ति र पात्रलाई कठोरताका साथ नियन्त्रण गर्न सक्दैनन्, तबसम्म देश उँभो लाग्ने कुरा त उठ्दैउठ्दैन ।

टिप्पणीहरू