ओली किन लचिलो बन्न थाल्नुभयो ?

ओली किन लचिलो बन्न थाल्नुभयो ?

आफ्ना बिरोधीप्रति सँधै अनुदार शब्दको प्रहार र व्यवहार गर्दै आउनुभएका एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि एमालेभित्रको अर्को पक्षलाई आममाफी दिन्छु भनेपछि सर्वत्र चासो बढ्यो । वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल त्यसको आलोचना गर्नुभयो । कम्युनिष्ट पार्टी र त्यसका नेताले बोलेका भाषा र निर्णय प्रक्रिया सयौं वर्ष अगाडिका राजा तथा महाराजाले गरेको जस्तै देखिएपछि नेपालले उछित्तो काढ्नुभएको हो ।

एकातिर पार्टीको बैठकहरू बोलाउने,ठूला र कडा निर्णय गर्ने तर अर्कोतर्फ राजनीतिक स्खलनको शैलीमा आममाफी भन्नुले उहाँमा एकाएक लचकता किन आयो भनेर स्वयम् बालकोट निकटहरूले नै खुट्याउन सकेका छैनन् । उतैका भित्रियाहरूले भने माधव एक जनाको व्यवस्थापन गर्न सकियो भने भोलिपल्टदेखि नेपाल समूहभित्र रडाको मच्चिने रणनीतिमा आममाफी र दोस्रो अध्यक्षको कार्ड फालिएको बताएका छन् ।

तर नेता नेपाल निकटहरूले सम्मानजनक शक्ति बाँडफाँड भन्दै आएको सन्दर्भमा बालकोटको प्रस्तावको कुनै अर्थ नभएको बताउनुभएको छ । त्यसो नभएमा उहाँहरूले भोलिका दिनमा हुने निर्वाचनमा बाँडिने टिकटको सन्दर्भमा खटपट हुने अहिले नै आँकलन गर्नुभएको छ । त्यसैले सबै महत्वपूर्ण विषय दुबैजनाले प्रमाणिकरण गरेपछि मात्र लागू हुने व्यवस्था नगरेसम्म पार्टीभित्रको विवाद दीर्घकालीन समाधान नहुने ठहर गरिएको छ ।

त्यसो गर्दा दुबै नेताको सहमतिमा अपानि समेत जारी हुनुुपर्ने हुन्छ । तर,बालकोटको ग्राण्ड डिजाइनमा आएको प्रस्तावबमोजिम आफ्नो मात्र व्यवस्थापन गर्ने,तलका नेता तथा कार्यकर्तालाई चिलबिल पारेमा वरिष्ठ नेता नेपालको अवस्था पनि उपाध्यक्ष वामदेव गौतमको भन्दा फरक नहुने नेपाल निकट नेता तथा कार्यकर्ता बताउँछन् । हिजो गौतमले त्यसो गर्दा आज उहाँसँग लगभग सबैजसो सकिएका छन् ।

त्यसैगरी एकताको नाममा आइरहेका प्रस्ताव र भइरहेका कोठे वार्ताले नेता नेपाललाई खासै ऊर्जा दिएको देखिँदैन । यसबीच अध्यक्ष ओलीले विभिन्न फण्डाको छर्रा फालेपछि नेपालको टिमभित्रै आशंका गर्नेहरू बढेका हुन् ।

अध्यक्ष ओलीका पटक पटकका गलत र कुटिल चालले पुर्याएको पीडा अरुलाई भन्दा नेपाललाई सबैभन्दा धेरै हुनु स्वाभाविक हो । हिजोका दिनमा ६० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा समेत ओलीले नेपाललाई दुई दशकअघि नै दुःख दिनुभएको बताइन्छ ।

त्यसैले अहिले फालिएको राजनीतिक कार्डको आधारमा दोस्रो अध्यक्षमा बस्दा आफू मातहतका नेता तथा कार्यकर्ता भाँडिन सक्ने सम्भावना बढेकाले अध्यक्षको प्रस्ताव सोचेअनुरुप कार्यान्वयन हुनेमा आशंका बढेको हो ।

अर्कोतर्फ एक महिनाअघि दौरा सुरुवालमा सजिएर बालुवाटारमा बोलाइएको केन्द्रीय समितिको बैठकमा पुग्नुभएका गौतमले आफूले ओलीको क्याम्प नछाड्ने बताउनुभएको थियो । तर एक महिनापछि उहाँले ठ्याक्कै विपरित गर्नुभएको छ । उहाँले साउन ३ गते संसदमा भएको विश्वासको प्रस्तावसम्बन्धी मतदानमा श्रीमती तथा सांसद तुलसा थापालाई जापान पठाइदिनुभयो । यता आफूनिकट धनबहादुर बुढा,प्रेम आलेलाई भने ओलीविरुद्ध भोट हाल्न लगाइदिनुभयो । उहाँ आफूचाहिँ राष्ट्रिय सभामा रहनुभएकाले मतदानमा सहभागी नै हुनु परेन ।

ओलीको तीब्र चाहना भने राष्ट्रपतिको कार्यकालमा कुनै विद्य्नबाधा उत्पन्न नहोस् भन्ने नै हो । आफूले यसवीच चालेका कतिपय नकारात्मक कदमबाट शीतल निवासमा थप अप्ठेरो नपरोस् भन्नेतर्फ उहाँको अन्तिम प्रयास भइरहेको धेरैले महसुस गरेका छन् ।

यसअघि एमालेभित्र आफ्नो गुटमा रहेका ९१ सांसदबाट अध्यक्ष ओलीको सांसद संख्या ८३ मा झरेको छ । राप्रपा,नेमकिपा र स्वतन्त्र भनिएका ब्रजेश गुप्ताहरूलाई समेत जोड्दा मुश्किलले ८७ जना सांसद हुनसक्छन् । अबको दिनमा उहाँको पक्षमा सांसदको संख्या बढ्ने देखिँदैन, बरु घट्ने बताइन्छ ।

अहिले राष्ट्रिय सभामा सत्ता गठबन्धन पक्षको दुई तिहाईको निम्ति दुई जना सांसद पुग्दैन । त्यसका लागि हात धोएर भए पनि पुर्याउने रोडम्यापमा सत्ताधारी गठबन्धन अघि बढेको हो । सबै पहल गर्दा गठबन्धनलाई दुई तिहाई पुग्ने छाँट देखिएकाले केही समय अघिसम्म दुई तिहाई बहुमतको शक्तिशाली सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष अहिले एक तिहाईबाट पनि ओरालो लाग्नुभएको छ ।

बुधबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले अन्य दिनको तुलनामा दिल खोलेर बोल्नुभएको सहभागी सदस्यहरूले बताउनुभएको छ । त्यो दिनको बैठकमा बोल्दै उहाँले कारबाहीतिरभन्दा समस्या मिलाउनतिर आफू उध्यत रहेको संकेत गर्नुभएको हो ।

यता बाहिर पनि एमालेभित्रको समस्या तत्काल नमिलाए शीतल निवासलाई अप्ठेरो पर्ने जोड घटाउ गर्न थालिएको छ । उता, बाग्मती र १ नम्बर प्रदेश सरकार पनि स्वतः ढल्नेछ । लुम्बिनी प्रदेश सरकार तासको घर जस्तै भएर उभिएको छ ।

टिप्पणीहरू