जहाँ स्त्रीले निर्वस्त्र भएर छिर्नुपथ्र्यो « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

जहाँ स्त्रीले निर्वस्त्र भएर छिर्नुपथ्र्यो

प्रकाशित मिति :  १५ माघ २०७३, शनिबार ०९:२१


  • राजेन्द्र स्थापित

सिपी, अर्थात् चेतपत पत्ताभिरमन रामास्वामी अøयर विद्वान्, सुधारक र लोकप्रिय राजनीतिज्ञ थिए । मद्रासी हुन्, तर कर्मभूमि ट्रावंकोरलाई बनाए । वर्तमान केरलाको मध्य तथा दक्षिणी भागदेखि तमिलनाडुको कन्याकुमारीसम्म फैलिएको ट्रावंकोरमा सन् १७२९ मा राजतन्त्र स्थापना भयो । भारतमा ब्रिटिशले शासन चलाउन थालेपछि आंशिक सार्वभौम सम्पन्न राज्यमा परिणत भयो । रामास्वामीपछि त्यहाँको देवान (राजालाई राजपाटमा सल्लाह दिने व्यक्ति, मन्त्री) बने । शिक्षा, समाजसुधार, सडक–यातायातलगायत क्षेत्रमा ठूलो सुधार गरे । त्यसबेला महाराजा र ब्राह्मणलाई देख्नेबित्तिकै महिलाले लुगा फुकालेर छाती उदांग पार्नुपर्ने चलन थियो । रामास्वामीले यो चलनको अन्त्य गरिदिए । राजा–महाराजा वा ब्रह्मण जो देखे पनि लुगा नफुकाल्न महिलालाई आदेश दिए । तर, परम्परादेखि चल्दै आएको चलन सजिलै हटेन । रामास्वामीलाई देखेपछि भने छाती उदांग पारेर बसेका महिलाले हत्तपत्त लगाइराखेको घाँघर माथि उठाएर स्तन छोप्न थाले । ताकि देवानले दिएको वचनको पालना होस् । यसो गर्दा महिलाहरूको कम्मरमुनिको अंग उदांग हुन्थ्यो । तर, यसतर्फ कसैले वास्तै गर्दैनथे ।

रामास्वामीले सो आदेश आफ्नो विवेकले दिएका थिएनन् । आदेश जारी गर्ने निर्देशन भाइसरायमार्फत बेलायतको सम्राट््बाट पाएका थिए । इसाई धर्म मान्ने भारतीय महिलाले आफ्नो धर्म र संस्कृतिको बर्खिलाफ उच्च ओहदाका व्यक्तिसामु जाँदा छाती उदांग पारेर जानुपर्ने विवशता उल्लेख गरी उजुरी दिएपछि सम्राट्ले उक्त निर्देशन दिन लगाएका थिए । राज्यका महाराजा चिथिरा थिरुनाल बालारामा बर्मा नाबालिग भएकाले महारानी लक्ष्मीबाइ रिजेन्ट (नायबी) बनेर शासन चलाइरहेकी थिइन् । त्यसो त महाराजाका माता सेथु पार्वथी बाइ थिइन् । नाताले लक्ष्मी र पार्वथी दिदीबहिनी हुन् । त्यसबेलाका लोकप्रिय चित्रकार राजारवि बर्माका नातिनी ।

सन् १९२४ मा महाराजा रामाबर्मा (छैटौं) को देहान्त भयो । महारानी लक्ष्मीबाइ छोरो जन्माउन असमर्थ भइन् । त्यसैले कान्छी महारानी पार्बथीका १२ वर्षीय पुत्र चिथिरा महाराज घोषित भए । चिथिरा रामाबर्माका भतिजा हुन् । महाराजा घोषित चिथिरा नाबालिग भएकाले नायबी कसले चलाउने भन्ने कुरामा दिदीबहिनीबीच मनमुटाव भयो । दरबारियाहरू गुटमा विभाजित भए तर अन्त्यमा उमेरमा पार्वथीभन्दा एक वर्षले जेठी लक्ष्मीले नायबी पाइन् । त्यसबेला उनी परिवारका सदस्यमध्येकै ज्येष्ठ थिइन् । ३४ वर्षीया लक्ष्मीले राज्यमा ठूलो सुधार गरिन् । देवदासी प्रथा अन्त्य गरिन् । सबै मन्दिर सबै जातिको निम्ति खुला गरिदिइन् । सन् १९२६ मा प्रेस कानुन ल्याई पत्रकारको मुखमा बुजो लगाइदिएपछि भने बद्नाम भइन् । त्यसबाहेक उनले चालेका प्रायः सबै कदमलाई सबैले मन पराए । स्वतन्त्रता संग्राममा लागेका महात्मा गान्धी र भारतका लागि बेलायतका अन्तिम गभर्नर लर्ड माउन्टबेटनले समेत तारिफ गरे ।

देवान रामास्वामीले भाइसरायको कार्यकारी परिषद्मा बसेर काम गरेका थिए । सो अवधिमा भाइसरायकी पत्नी लेडी वेलिङटनसँग घनिष्ठता बढाए । लेडी वेलिङटन पनि रामास्वामीको विद्वता र व्यक्तित्वबाट मक्ख भइन् । भाइसरायको डरको कारण दुवैले खुल्लमखुला प्रेम गर्न त सकेनन् तर टेलिफोनमार्फत घण्टौं मायाप्रेमको गफ गर्थे । महाराजाकी आमा सेथु पार्वथीको सुन्दरताको चर्चा राज्यभरि हुन्थ्यो । रामास्वामी वकिल थिए । त्यसबेला देवान बनिसकेका थिएनन् । एउटा इसाई संगठनको मुद्दाको वकालत गर्न त्रिबेन्द्रम पुगे । सरकारी वकिलको हैसियतले नायबी शासक लक्ष्मीबाइसँग भेट्न गए । त्यहीं पार्वथी बाइलाई देखे र मन्त्रमुग्ध बने । त्रिबेन्द्रमबाट फर्कनै मन लागेन । भाइसराय (गभर्नर जनरल) वेलिङ्टन उर्फ फ्रिम्यान थोमससँग उनको राम्रो सम्बन्ध थियो । उनै भाइसरायलाई रिझाएर ट्रावंकोरको देवानमा नियुक्ति लिए । ट्रावंकरकै देवान भएपछि दरबारमा आनाजाना बाक्लियो । पार्वथीसँग पटक–पटक भेट्ने मौका पाए ।

रामास्वामीको बिहे १६ वर्षको उमेरमा ९ वर्षीया सिथम्मासँग भइसकेको थियो । तर, लामो दाम्पत्य जीवन बिताएपछि सन् १९३० मा सिथम्माको देहान्त भयो । उनीहरूका तीन छोरा थिए । उता पार्वथी पाँच वर्षकै उमेरमा कनिष्ठ महारानी घोषित भएकी थिइन् । ११ वर्षको भएपछि सन् १९०७ मा बिहेका लागि केटा रोज्न लगाइयो । उनले भेला भएका केटामध्येबाट उच्च डिग्री हासिल गरेका संस्कृतका विद्वान् २१ वर्षीय पुरमनाल रवि बर्मालाई छानिन् र बिहे गरिन् । पाँच वर्षपछि १५ वर्षको उमेरमा आमा बनिन् । राज्यको उत्तराधिकारी जन्माएलगत्तै राजमाता घोषित भइन् । त्यसपछि दुई छोरी र एक छोरा जन्माइन् । रामास्वामीले देख्दा ४० की भइसकेकी थिइन् । तैपनि, ५७ वर्ष पुगिसकेका रामास्वामी उनीप्रति मोहित भए । पटक–पटकको भेटघाटपछि प्रेमप्रस्तावसमेत राखे ।

महारानी पार्वथीले पनि सकारात्मक प्रत्युत्तर दिएपछि दुवैको मायाप्रेमले हुर्कने मौका पायो । राज्यका जनताले समेत थाहा पाए । दरबार, मन्त्रीगण, राजनीतिक नेता हुँदै भाइसरायसम्म कुरा पुग्यो । तर, रामास्वामी आफैं अत्यन्त शक्तिशाली थिए भने पार्वथीको प्रभाव क्षेत्र पनि विशाल थियो । त्यसैले कसैले आंैला उठाउने साहस गरेनन् । पार्वथी वीणा बजाउन पारंगत थिइन् । सांगीतिक विकासमा ठूलो योगदान पु¥याउँदै आइरहेकी थिइन् तर रामास्वामी र महारानी पार्वथीको प्रेमप्रसंग र ऐøयासी अचाक्ली हुन थालेपछि जनताले मौनता तोडे । रामास्वामीलाई घृणा गर्न थाले । त्यसैले जब उनले महाराजसित विचार विमर्शै नगरी ट्रावंकोरलाई स्वतन्त्र घोषणा गरे, तब जनताले उनीप्रति शंका गरे । उनलाई देवानको पदबाट तुरुन्त हटाउने माग गर्न थाले । तर, महाराजाकी आमा पार्वथीको ‘विशेष सहयोग’ रहेकै कारण पदमुक्त भएनन् । हुन त ट्रावंकोरलाई स्वतन्त्र घोषणा गर्ने आन्दोलन त्यहाँका कम्युनिष्टले छेडेका थिए । पुनापारा–भायालार विद्रोहको नाउँले प्रख्यात उक्त आन्दोलनलाई अनायास रामास्वामीले समर्थन गर्न पुगेका थिए ।

रामास्वामीले लण्डनमा आयोजित गोलमेच सम्मेलनमा दुईपटक भाग लिएका थिए । ट्रावंकोर राज्यको तर्फबाट प्रतिनिधिको रूपमा । पहिलो सम्मेलनमा रामास्वामीले पार्वथीलाई पनि लिएर गएका थिए । पानीजहाजबाट भारत फर्र्कंदै थिए । जहाजमा तीन÷चारवटा क्याबिन सँगसँगै थिए र प्रत्येकमा ठुल्ठूला बेडरुम र बैठक कक्ष थियो । वास्तवमा जहाज पूर्णतः रामास्वामी र पार्वथीकै निम्ति बुक गरिएको थियो । तर, त्यसमा अरू पनि सवार थिए । रामास्वामी र पार्वथीले अरू यात्रुको उपस्थितिको पर्वाह नै गरेनन् । दुवै आ–आफ्नो क्याबिनबाट बाहिर निस्कन्थे, अँगालो हाल्दै घुम्थे । ढोका खुलै छाडेर, सँगै टाँसिएर मदिरा पिउँथे । अरू यात्रुले खाए कि खाएनन् भन्नेसम्म पनि मतलब राखेनन् । रातदिन कैयौं दिनसम्म खुल्लमखुला माया–पे्रम गर्दै गए । अरू यात्रु देवान र महारानीको ऐøयासी हेर्दै बसे । स्वदेश पुगेपछि पार्वथी बाडियार दरबारमा छोरा महाराज चिथिरासँग बस्न गइन् । रामास्वामी दिनहुँ प्रियसीलाई भेट्न जान्थे । महाराजा नाबालिग भएकाले दुवैको प्रेममा कुनै व्यवधान आएन । चिथिराले सन् १९३१ मा शासन सम्हालेपछि बल्ल दुवैको मेलजोलमा कमी आयो । चिथिराको कार्यकालमा ट्रावंकोरले शिक्षालगायत सबै क्षेत्रमा प्रगति ग¥यो । पार्वथी सामाजिक कार्यमा लागिन् । अखिल भारत महिला सम्मेलनको अध्यक्ष बनिन् । भारतीय महिला परिषद्को अध्यक्ष र छोराले खोलेको ट्रावंकोर विश्वविद्यालयको उपकुलपति बनिन् ।

चर्को विरोधको बाबजुद रामास्वामी देवान बनिरहे । भारतीय राष्ट्रिय कांग्रेसको नेताको हैसियत बनाएपछि कसैले छुन सकेन । तर, सन् १९४७ को एकदिन आक्रोशित एक व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरे । आक्रमणमा ज्यान बचाउन सफल भए पनि नाक र ओठमा ठूलो घाउ भयो । त्यसपछि बल्ल देवान पद त्यागे र भागेर दिल्ली पुगे । त्यहाँबाट लण्डन । ब्राजिल, अर्जेन्टिना, पेरु र मेक्सिको घुमे । अमेरिका छिरेर त्यहाँका केही विश्वविद्यालयमा अध्यापन गरे । भारत स्वतन्त्र भएपछि बनारसस्थित हिन्दू विश्वविद्यालयको कुलपति नियुक्त भए । सन् १९५३ मा भारतीय प्रेस आयोगको सदस्य बने । अरू पनि थुप्रै आयोग र विश्वविद्यालयको व्यवस्थापन समितिमा रहेर काम गरे । उनको निधन ८६ वर्षको उमेरमा सन् १९६६ मा लण्डनमा भयो । उनका छोरा पत्ताभिरमण भारतीय स्वतन्त्रता संग्राममा सक्रिय बनेका कारण सन् १९५७ मा कांग्रेस पार्टीले लोकसभाको चुनावमा उठायो र जिते । सन् १९६६ मा उद्योगमन्त्रीसम्म भए । पार्वथीको निधन ८६ वर्षकै उमेरमा सन् १९८३ मा त्रिबेन्द्रममा भयो । उनको पूरा नाउँ श्री पद्मनाभोसभिनी महारानी मूलम थिरुनाल सेथु पार्वथी बाइ हो ।

ट्रावंकोरका अन्तिम महाराजा चिथिरा नाबालिग रहुञ्जेल नायबी चलाएकी लक्ष्मी बाइ पनि नायबी पदबाट मुक्त भएपछि सामाजिक सेवामा लागिन् । भारत स्वतन्त्र भएपछि र ट्रावंकोर–कोचिन बनेपछि दुई छोरी र लोग्ने रामा बर्मासँग बैंगलोरमा बस्न गइन् । मृत्यु ९० वर्षको उमेरमा सन् १९८५ मा त्यहीं भयो ।
उता, स्वतन्त्र भएपछि महाराजा चिथिरालाई भारतको केन्द्रीय सरकारले दिल्ली बोलायो । गृहमन्त्री बल्लभभाइ पटेलसितको भेटघाटपछि चिथिरा ट्रावंकोरलाई भारतमा गाभ्न राजी भए । मन नमानी–नमानीकन भारतमा गाभिन राजी भएका उनले एउटा शर्त तेस्र्याए ।

शर्त थियो– भगवान् पद्मनाभनले ट्रावंकोर भारतअन्तर्गत रहोस् भन्ने चाहेको बेलासम्म भारतबाट अलग बस्ने कुरा म मान्दिनँ । चतुर पटेलले महाराजालाई आश्वासन दिए कि ‘अवश्य, भगवान् पद्मनाभनसँग कुरो गर्छु, प्रार्थना कोठामा बसेर महाराजको तर्फबाट कुरा राख्छु ।’ यति भन्दै पटेल पूजाकोठामा पसे । एकछिन बसेर बाहिर निस्के अनि भने, ‘भगवान पद्मनाभनले ट्रावंकोर भारतको राज्य बनाउने कुरामा सहमति जनाए ।’ यो कुरा सुनेपछि महाराजा चिथिरा मौन बसे । आफ्नो राज्यलाई भारतमा विलिन गराउने कागजपत्रमा हस्ताक्षर गरे । यसरी ट्रावंकोर राज्य सन् १९४९ मा भारतमा विलिन भयो । ट्रावंकोरलाई कोचिनसँग मिलाइयो र भारत सरकारले उनैलाई ट्रावंकोर–कोचिन युनियनको राज्यप्रमुख (गभर्नरसरह) बनायो । महाराजाबाट युनियनप्रमुख बनेका चिथिरा यो पदमा सन् १९५६ को अक्टोबर ३१ सम्म बसे ।

नोभेम्बर १ मा मलयालम भाषा बोल्नेहरूको अलग्गै राज्य केरलाको स्थापना भयो । उनी महाराजा हुँदा ब्रिटिश भारतीय सेनाको मेजर जनरल पद ओगटेका थिए । ट्रावंकोर राज्य सैनिकको सुप्रिम कमाण्डर । त्यति मात्र होइन, ट्रावंकोरलाई भारतमा गाभिएपछि स्वतन्त्रतापछिको सरकारले भारतीय सेनाको मानार्थ कर्णेल बनाएको थियो । सन् १९७१ मा संविधान संशोधन गरी उनले ओगटेको सबै पद र अधिकार छिनेर लियो– इन्दिरा गान्धीको सरकारले । सन् १९९१ मा ७८ वर्षको उमेरमा हृदयाघात भयो । ९ दिनसम्म कोमामा गए । २० जुलाईमा निधन भयो । उनी आजीवन अविवाहित थिए ।


प्रतिक्रिया दिनुहोस !