कान्छी ल्याउनेको आउनैपर्छ काल

नेपाली सेनामा बहुविवाह गरेका, यौनदुराचारी र भ्रष्टहरूको नालीबेली लामै छ । फरक यति हो कि यस्ता जर्नेल–कर्णेललाई कुनै कारबाही भएको देखिन्न । कारबाही सिर्फ तल्ला दर्जाका व्यक्तिलाई मात्रै हुन्छ । बहुविवाह गरेर सेनामा हालिमुहाली गरिरहेका प्रतिभाशाली व्यक्तिमध्ये ग्यारिजन गणका मेजर रेवतबहादुर बस्नेत पनि हुन् । उनले सेनामा जागिर खानुअघि नै आफ्नो जन्मस्थान रामेछापमा एक सोझी गाउँले केटीलाई १८ वर्षकै उमेरमा विवाह गरेका थिए । उनी सेनामा भर्ना भएपछि जमदार नहुँदासम्म तिनैलाई श्रीमतीका रूपमा शोषण गरिरहे तर बच्चा जन्माएनन् । जमदार भएर जेसिओ क्याडेटमा छनोट भइसकेपछि उनलाई श्रीमती नराम्री लाग्न थाल्यो । फलस्वरूप उनले धादिङ, नौबिसेकी मञ्जु नामक युवतीलाई कान्छी श्रीमतीका रूपमा भिœयाए । मञ्जुबाट छोराछोरी पनि भइसकेका छन् । अहिले कान्छीलाई लिएर भक्तपुरमा घर बनाई बसेका छन् ।

जेठीले कुनै मुद्दामामिला गरेकी छैनन् । कुनै दिन मुख हेर्ला भनेर उनी कहिलेकाहीँ रेवतलाई भेट्न भक्तपुर घरमा आउँछिन् । तर, रेवत र मञ्जुले कुटपिट गरी घरबाहिर निकाल्छन् । जेठी गाउँमा नोकरका रूपमा रेवतको घर धानेर बसेकी छन् । यता, रेवत र मञ्जु कहिले रामनगर, कहिले खिम्ती त कहिले थापाथली राष्ट्र बैंकमा बसेर हामी जवानको रासनपानीमा दारु खाइरहेका हुन्छन् । स्मरण रहोस्, रेवत बस्नेत ग्यारिजनमा सरुवा भएपछि अटुट रूपमा मञ्जुलाई ब्यारेकमै राखी हामी जवानलाई सताइरहेका छन् । रेवत उल्टै जवानसँग पैसा सापट माग्छन् अनि माग्दा दिँदैनन् । एक किलो मासु, एक क्यारेट अन्डा र एक किलो चिनी पनि पल्टनबाट घरमा लैजान्छन् । बिदा छाड्ने बेलामा र बिदाबाट आएपछि हामीले उनलाई कोसेली बुझाउनुपर्छ । यो कुरा गणपतिलाई पनि थाहा छ तर रेवतलाई गाली गर्न सक्दैनन् । हामी जवान रेवतको कति गुलामी भएर बस्ने ? कतैबाट सुनुवाइ हुँदैन । यस्ता बहुविवाह र भ्रष्टाचार गर्ने मेजरलाई उल्टै बलदेव महतको प्रमोसन बोर्डले कर्नेल दर्जामा बढुवाका लागि सिफारिस गरेको छ भन्दा हामी छक्क परेका छौं । यही सिफारिस भएको थाहा पाएर होला रेवतले अब म यही ग्यारिजन पल्टनको गणपति हुन्छु, तिमीहरूलाई हेर्छु भन्दै हुंकार गरिरहेका छन् । यस्ता मेजरले हामीलाई के हेर्ने, आफूभन्दा माथि गणपति हुँदाहुँदै त हामीलाई शोषण गरेका छन् भने आफैं गणपति भएपछि के गर्लान् ? उल्टै ब्रह्मलुट गर्नेछन् यिनले ।

राजेन्द्र क्षत्री सेनापतिले ग्यारिजनलाई इन्फेन्ट्री गण बनाउन लागेको सुन्दा हामीलाई धेरै खुसी लागेको छ । जमाना कहाँबाट कहाँ पुगिसक्यो, बूढाखाडा, बहुविवाह र भ्रष्टाचारमा लिप्तलाई जम्मा गर्ने अड्डा हो र ग्यारिजन ? यसलाई इन्फेन्ट्री बनाएको धेरै राम्रो काम हो चिफ सा’बको । रेवतजस्ता शोषकलाई कर्णेल बनाउने होइन, इन्फेन्ट्रीमा पठाएर दपेट्नुपर्छ । यस्ता बद्मासलाई राम्रो भविष्य भएको गणपतिअन्तर्गत राखेर पेल्नुपर्छ, तब न अरू बद्मास पनि तर्सिन्छन् ।

नेपाली सेना देशको गहना हो । यस संस्थालाई कलंकरहित जनताको सेना बनाउन हामी सबैले कोसिस गर्नुपर्छ । बहुविवाह गर्ने, दर्जाको भरमा प्रलोभनमा पारेर आफ्ना सोझा महिला सैनिकको सतीत्वहरण गर्ने, परस्त्रीगमन गर्ने, जवानको रासनमा ब्रह्मलुट गर्ने अफिसरहरू खासगरी जर्नेल–कर्नेललाई खोजीखोजी कारबाही नगरेसम्म रेवतजस्ता अफिसरले नेपाली सेनाको बद्नाम गरिरहन्छन् । सोझा सेनापतिज्यूको यसतर्फ नजर जाओस् । हजुरको सोझोपनको फाइदा यौनदुराचारी र भ्रष्टले लिन नपाऊन् । हजुरबाट ज्ञानेन्द्र रायमाझी, अशोकनरसिंह राणा, विनोज बस्नेत, राजीव पाण्डेहरूलाई कारबाही भएकै हो । यस्ता अरूलाई पनि कारबाही होस्, ताकि नेपाली सेना आमनेपाली जनताका लागि सधैं सम्मानित होस्, निष्कलंकित होस् ।

– नं. २ ग्यारिजन गण, तल्लो दर्जाका सैनिक जवान

टिप्पणीहरू