एमाले मिलाउन जुटे दुबैतिरका साँसदहरु,आज २५ भाइको भेला

एमाले मिलाउन जुटे दुबैतिरका साँसदहरु,आज २५ भाइको भेला

नेकपा एमालेको दुईपक्षीय विवाद झन झन चर्किन थालेपछि दुवैतिरका केही सांसदले ‘पार्टी आन्तरिक एकता सुदृढिकरण अभियान’ शुरु गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच तिक्तता बढ्न थालेपछि सांसदहरुको एक भेलाले आज एकता अभियान थालेको हो ।

अभियानले आज विघटित कार्यदलका सदस्यहरुसंग छलफल गरी एक अपिल जारी गरेको छ । अपिलमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको छ ।

‘आज नेकपा एमालेभित्र जटिल राजनैतिक विवादहरु देखा परेका छन् । ती विवाद पार्टीका सबै कमिटी र जनसंगठन अनि सदनदेखि सडकसम्म छताछुल्ल रुपमा प्रकट भैरहेका छन् । जसका कारण एमालेका कार्यकर्ताहरु,समर्थक र शुभचिन्तकलाई निकै चिन्तित बनाएको छ’,अभियानले सार्वजनिक गरेको अपिलमा भनिएको छ ।

एमालेको आन्तरिक राजनीतिमा उत्पन्न समस्याले सिंगो राष्ट्रिय राजनीतिमा अस्थिरता पैदा हुँदा आम जनतामा निराशा र चिन्ता छाएको भन्दै अभियानले यसप्रति गम्भीर हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ । जारी अपिलमा जनताको भावनालाई आत्मसात गर्दै पार्टीभित्र देखिएका आन्तरिक विवादहरुलाई अविलम्ब समाधान गर्न नेताहरुको ध्यानाकर्षण गराइएको छ ।

कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन हुँदा पार्टीको समस्या समाधान हुने अभियानले विश्वास लिएको छ । अपिलमा भनिएको छ, ‘१० सदस्यीय कार्यदलले निकै लामो छलफलपश्चात मिति २०७८ असार २७ गतेका दिन नेकपा एमालेमा विद्यमान समस्या समाधानसम्बन्धी’ १० बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको कुरा सबैलाई विदितै छ। त्यसलाई इमान्दारिताका साथ् प्रभावकारी ढंगबाट कार्यान्वयन गर्दा आन्तरिक समस्या समाधान गरी एकतावद्ध बनाउन सकिन्छ भन्ने साझा बुझाइ रहेको छ ।’

अपिलमा १० बुँदे सहमतिको भावना विपरित कुनै पनि पक्षबाट भैरहेका र हुनसक्ने तिक्ततापूर्ण गतिविधि रोक्न र यस्ता गतिविधिमा नलाग्न नेता-कार्यकर्तालाई आव्हान पनि गरिएको छ । विवाद समाधान भई पार्टी एकतावद्ध हुनेमा आशावादी भएर संयमता र धैर्यता अपनाउन र एकताका लागि सकारात्मक योगदान गर्न अभियानका तर्फबाट पार्टी पंक्तिलाई अपिल गरिएको छ ।

अभियानमा अध्यक्ष ओली पक्षबाट कृष्ण दाहाल र वरिष्ठ नेता नेपालका तर्फबाट यज्ञराज सुनुवार संयोजक रहेका छन् । अपिलको मस्यौदा बनाएर विघटित १० सदस्यीय कार्यदललाई बुझाएपछि सार्वजनिक गरिएको हो । अभियानमा दुवैतर्फबाट ३५ सांसद सहभागी रहेको बताइएको छ । एकता हुनैपर्छ भन्नेमा ७० % ओली पक्षका साँसदहरु उपस्थित थिए ।

छलफलका क्रममा सांसदहरुले पार्टी एकतालाई सुदृढ गर्न १० बुँदे सहमति कार्यान्वयन गराउन सार्थक पहलकदमी लिनका लागि लागि कार्यदलका सदस्यहरुलाई अनुरोध गरेका थिए ।

एमाले विवादमा कार्यदलको सहमति प्रस्तावलाई लिएर शीर्ष तहमा अझै सहमति जुट्न सकेको छैन । नेपाल पक्षसँग छलफल नै नगरी संस्थापन पक्षको बैठकले प्रस्ताव अनुमोदन गरेपछि तिक्तता झन् बढेको छ ।

 

 

टिप्पणीहरू