लप्पन–छप्पनले रातारात लफडा

सुरुमा ठूलो गफ लगाउने, अप्ठ्यारो परेपछि अनेक बहाना बनाउँदै अरूलाई दोष देखाउने उम्कने ! सिनेकर्मीको यो पुरानै शैली हो । ‘दिमाग खराब’ नामका कारण अर्काे निर्देशककै ‘दिमाग खराब’ ! अहिले सुपरहिट भएर पनि नवलपरासीका कृष्ण सुवेदीको आत्महत्याका कारण तनाव व्यहोरिरहेको छक्का–पञ्जाका निर्माता दीपकराज गिरीकै झैं नामको कारण समस्या भोग्दा निश्चल बस्नेतको दिमाग खराब भएको हो । बल्ल–बल्ल जुराइएको चलचित्रको नाम अर्कैको नाममा रातारात दर्ता भइदिँदा निश्चलहरू छट्पटिएका हुन् । यसअगाडि छक्का–पञ्जाले लप्पन–छप्पन नाम जुराएको थियो । तर, मुकुन्द भट्टको लेखन तथा निर्देशनमा सो नाम डम्बरबहादुर चन्दहरूले टप्काइदिए ।
उस्तै पीडा हो निश्चलको पनि । टलकजंग भर्सेज टुल्के’ पश्चात् ‘दिमाग खराब’ शीर्षकमा फिल्म बनाउने चर्चा चलाए । एक वर्षअगाडि नै हो यस्तो चर्चा चलेको । उनी यो प्रोजेक्ट छाडेर ‘लुट २’ को धन्दातिर लागे । तर, यो बीचमा दिमाग खराब नाम अर्कैले कब्जा जमाइसकेछ । चलचित्र विकास बोर्डबाट २९ मंसिरमा इजाजतपत्र अर्कैले बुझेपछि निश्चलको दिमाग खराब भएको हो । दिमाग खराब यो आर्थिक वर्षमा दर्ता भएको ७४ औं नम्बरको चलचित्र हो । चलचित्र विकास बोर्डमा कालिञ्चोक डिजिटल नेपाल प्रालिका लागि आगद केसीले फिल्मका नाममा इजाजत लिएका हुन् । यसका निर्देशक जनकदीप पराजुली छन् । दयाहाङ राई, दीपिका प्रसाईं र श्याम राईलाई मुख्य अभिनय रहने यो चलचित्र वैशाखबाट फ्लोरमा जाने बताइएको छ । दिनेश खड्का यो फिल्मका निर्माता हुन् ।

टिप्पणीहरू