मन त पग्लियो, तर जिन्दगी त्यतै अड्कियो « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

मन त पग्लियो, तर जिन्दगी त्यतै अड्कियो

प्रकाशित मिति :  १५ माघ २०७३, शनिबार ०९:१५


सुनमा जन्मिएँ, हीरामा हुर्किएँ– यस्तै थियो मेरो बाल्यकाल । समय र परिस्थितिले यसरी फन्को मा¥यो कि आज म काँडैकाँडाबीच जीवन जिउने अभ्यास गर्दै छु । अभ्यस्त भइसकेको छु । बाल्यकालमा दुःख÷अभाव के हो ? त्यसको कुनै अनुभवसमेत रहेन । बुबा उद्यमी, आमा सरकारी जागिरे । धेरैलाई लाग्दो हो उद्यमी परिवारभित्र जन्मेर हुर्कनेहरू सुख सयल र मोजमस्तीको जीवन बिताउँछन् तर यसैमध्यको एउटा ‘अपवाद’ हुँ । बुबा तपाईं नेपालको एउटा उद्यमी, आमा तपाईं नेपाल सरकारको जागिरे । तपाईंहरूको नाम पत्रिकामा लेख्दा इज्जत जाला भन्ने सोचेर तपाईंहरूको नाम उल्लेख गर्न चाहिनँ ।  

छोरीका रूपमा आमाको कोखमा जन्म लिनु नै मेरा लागि दुर्भाग्य भयो ! सानैदेखि छोरा÷छोरीबीचको भेदभावको पर्खालले मेरो बुबा÷आमाको मनस्थितिलाई नछोइरहन सकेन । बुबाले १० कक्षापछिको पढाइमा उति रुचि देखाउनुभएन । स्कुलमा उति धेरै खर्च नहुने भएर मात्र हो । तर, मेरो जिद्धिका बाबजुत प्लस टु (साइन्स) अध्ययन पूरा गरे त्यो पनि सरकारी कलेज अमृत साइन्सबाट ।  हुर्कंदै गरेकी एउटी चेलीको इच्छा र आकांक्षामाथि जब परिवारकै सदस्य भनौं अभिभावकले खुँडा चलाइदिन्छन् तब आफ्नै बुबा÷आमा र आफन्त र अभिभावक नभएर बैरी भइदिँदा रहेछन् । यो मनमा कति चोट र व्यथा सँगालेर राखेको छु । त्यो त कतै छ भने दैवलाई थाहा होला, नभए मलाई मात्र थाहा छ ।   
मेरो पनि रहर थियो दाजुले जस्तै इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने । तर, ती रहर फुल्नै नपाई ओइलाएर झ¥यो । डराइ÷डराइ आफूले इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने प्रस्ताव राखेँ, बुबासँग । सायद बुबा सन्तानको खुसीभन्दा पैसाको पछाडि दौडनुभयो । बुबाले हुँदैन त भन्नुभएन तर कम खर्चमा अध्ययन गर्न सकिने गरी छात्रवृत्तिमा एउटा कलेजमा भर्ना गरिदिनुभयो । होस्टलको बसाइ थियो । कलेजमा भर्ना भएँ मन खुसी नै थियो । दुःख–सुख गरेरै भए पनि बिई लेभलको पढाइ सकाएँ र यता फर्किएँ । जब घरमा आएँ जतिखेर पनि पिताजीको मुखबाट मेरो कारणले कलेजमा यति पैसा डुब्यो, उति पैसा डुब्यो मात्र हिसाब गर्न थाल्नुभयो । बिहानै, दिउँसै, बेलुकै एउटै कुराले टोक्न थालेपछि दिक्क लाग्दोरहेछ । उहाँकै कारण मेरो मानसिक स्थिति ठीक भएन ।

सधैं एकनाशको टोकसो र बुहार्तन सहन सकिएन, त्यसपछाडि उहाँहरूबाट छुट्टै बसेर काम गर्न थालेँ । सँगै काम गर्न साथीको बुबा गाउँबाट सिकिस्त भएर उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनको उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै थियो । साथीको पीडा आफ्नै पीडा ठानेँ । उनीहरूको स्थिति हेर्दा मन थाम्नै सकिनँ । कोमल मन मैनझैं पग्लिहाल्यो । दिनरात सकेको सहयोग गर्न थालँे । एक महिनासम्मको नियमित उपचारपछाडि उनी तंग्रिए । जब उनलाई सहरबाट बिदाइ गर्ने समय आयो तब ती वृद्धले मेरो हात समाएर भने, ‘तपाईंले मेरो सेवा आफ्नै छोराले भन्दा बढी गर्नुभयो । केही संकोच नभए, मेरो छोराको हात थाम्नुभयो भने म साह्रै खुसी हुनेछु । यति भन्दा नभन्दै उनको आँखाबाट अश्रुधारा पो बग्न थाल्यो । बुबा÷आमा, आफन्त छैनन् भनौं, जीवितै छन् । छन् कसरी भनौं † एक्लै थिएँ । केही सोच्नै सकिनँ । कसैसँग केही सल्लाह पनि लिइनँ÷लिइरहन आवश्यक पनि ठानिनँ । ‘हुन्छ’ भनी स्विकारँे उक्त प्रस्तावलाई । यसरी मन्दिरमा गएर हाम्रो टीकोटालो लगाएर विवाह भयो, तिनै वृद्धको छोरासँग । घर कहाँ हो पनि थाहा थिएन, जात–भातको प्रश्न त मैले उठाएको होइन, यद्यपि उनी आफ्नो थर ‘ढकाल’ भएको बताउँथे । घात–प्रतिघातको यो दुनियाँमा एउटा पीडाबाट उम्कन नपाई फेरि अर्काे पीडाले डसिरह्यो । जहाँबाट भागेर हिँडिरहेको थिएँ, त्यहीँ पुगेर ठोकिएँ । विवाह भएपछि पनि काम गर्न छाडेको थिइनँ । समयक्रमसँगै एउटा सन्तान (छोरी) को जन्म भयो । समयक्रमसँगै थाहा भयो, न श्रीमान्को सम्पत्ति थियो । ऐलनो जग्गामा एउटा झुपडी रहेछ । न त उनले भनेझैं उनको थर ढकाल रहेछ । उनी रहेछन्, परियार । यसै त घरपरिवारको छिःछि र दुरदुर, तल्लो जातको केटासँग विवाह गरेको चाल पाएपछि घर परिवारले हेर्ने दृष्टिकोणमा अकाश–जमिनको फरक आइदियो । त्यो माइतीघरको ढोका मेरा लागि सधँैका लागि बन्द भइदियो ।

 जे हुनु भयो । आफंैबाट भएको गल्ती र आफ्नै कर्मलाई सम्झेर चुप लागेर बसँे । रोएर हुने पनि केही थिएन, कराएर पनि हुनेवाला केही थिएन । छोरीका लागि भए पनि मैले बाँच्नुपर्छ भन्ने सोच्न थालँे । छोरी अलि ठूलो भएपछि फेरि उही काम गर्न थालेँ । मैले सोचेजस्तो सहज रेखामा चलेन जिन्दगी । श्रीमान्ले विवाह पछाडि काम गर्न छाडिदिए । उनीबाट एक रुपैयाँ कमाइ कस्तो हुन्छ देख्न पाइएन, जति कमाउँछन्, खाने, पिउने र उडाउने स्वभाव रहेछ उनको । बुबाबाट पीडा भोगेर भाग्दै हिँडेकी म झन् ठूलो पहाडमा आएर ठोक्किएँ । श्रीमान्बाट झनै पीडा खेप्न बाध्य भएँ । उनलाई सुधार्न लाख कोसिस गरे तर सबै प्रयास बालुवामा पानी खन्याएजस्तै भयो । उल्टै पिट्ने र दुव्र्यवहार गर्न थाले । मानसिक तनावको ‘ग्राफ’ प्रतिदिन बढ्दै गयो । अर्काे बच्चा नजन्माउने निर्णय लिएको थिएँ, कोखमा बच्चा आयो फाल्ने कुरा भएन । छोराको जन्म भयो । छोरा जन्मिएपछि मेरो स्वास्थ अवस्था झन् बिग्रियो । श्रीमान्को पुरानो बानी सुध्रिने छाँटकाँट कहिल्यै देखिएन । महँगो काठमाडौंले टिक्न दिएन । उनकै गाउँ ओखलढुंगातिर खेद्यो । एउटा जालबाट उम्केको मान्छे, म फेरि–फेरि अर्काे जालहरूको जन्जालभित्र फस्दै गएँ । श्रीमान्सँग टिकेर बस्न सक्ने अवस्था रहेन ।

माइती नेपालका केही अग्रजसँग सल्लाह र सुझावमा छोडपत्रको आवेदन दिएँ । वकिलले जब मेरो श्रीमान्लाई बोलाउनुभयो । उनलाई पहिल्यै भनिसकेको थिएँ, तिमीसँग डिभोर्स दिँदै छु । आफ्नै गल्तीका कारण मेरा छोराछोरीसँग अब भेट्न पनि नपाउने भएँ भन्दै वकिलहरूकै अगाडि उनले विष सेवन गरिदिए । अस्पताल लगेर पनि बचाउन सकिएन । हाय ! मेरो खप्पर । श्रीमान् पनि थिए वा थिएनन्मा केही अन्तर थिएन । यद्यपि, फेरि एक्लो भएँ । जाने ठाउँ कतै भेटिनँ । म यता बसेर बुबा–आमा दाजु, भाइ आफन्त सम्झन्थें । आफ्नो जिन्दगी सम्झन्थें ? हाय ! कहाँको म, कहाँ जान हिँडेकी ? जिन्दगीले ओरालै, ओरालो भीरको बाटोमा कहाँ लगेर एक्लै पारिदियो । निर्झर जिन्दगीमाथि हेर्दा ठाडो भीर देख्थें, तल हेर्दा भीरैभीर देख्थें । बाँच्न मन फिटिक्कै मन थिएन । कहिलेकाहीँ त सोच्थेँ एक घुट्की विष खाएर आफ्नो जिन्दगीको इहलीला समाप्त पारिदिन्छु । तर थिए, दुई लालाबाला । तिनकै लागि भए पनि बाँच्नु छँदैथियो । सास अडाउन करै लाग्थ्यो । रुन मन लाग्थ्यो तर रुनका लागि आँखामा आँसु नै कहाँ बाँकी थियो र ?

अनाथ हुँ भनौं अनाथ होइन । आफन्त छन् भनौं, बुबा÷दाजुहरूको व्यवहार कहिल्यै पनि फेरिएन । नचाहेर पनि बाँच्नै पर्ने रहेछ जिन्दगी । दुनियाँको चोट र पीडा त मान्छेले सहजै सहन सक्ला । तर, सक्दैन रहेछ आफन्तले गरेको छिःछि र हेयको व्यवहार सहन ? समय क्रमसँगै, आफ्नो योग्यताअनुसार काम पाउन नसके पनि काठमाडौंको एउटा स्कुलमा बच्चा पढाउने काम पाएको छु । तर, बच्चाहरूलाई पढाएर कति नै तलब हात लाग्छ र ?

मान्छे भन्छन्, यो संसारका सबैभन्दा ठूलो ईश्वर कोही छन् भने ती बुबा–आमा हुन् । बुबा÷आमालाई पैसा भए सबै चिज भए पाइन्छ भन्ने लागेको हुँदो हो ? कुनै दिन यो छोरीलाई सम्झेर बुबा–आमाको आँखाबाट आँसु अवश्य आउने नै छ । मलाई यति धेरै दुःख–व्यथा र पीडा दिनुथियो भने जन्मँदै घाँटी निमोठोर किन फालिदिइनौ आमा ? कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ । बुबा निर्दयी भए पनि आमा निर्दयी नहुनुपर्ने हो । तर, ढुंगाको हृदय भएको आमाहरू पनि हुँदा रहेछन् यहाँ । मैले तिनै बुबा÷आमालाई देखाउन भए पनि बाँच्नु नै छ ।


प्रतिक्रिया दिनुहोस !