अब हिसाब–किताब खोज्ने बेला आएको छ « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

अब हिसाब–किताब खोज्ने बेला आएको छ

प्रकाशित मिति :  १५ माघ २०७३, शनिबार ०९:१४


  • लक्ष्मण राजवंशी, सांसद तथा बौद्धिक जनतान्त्रिक परिषद्का अध्यक्ष

कुनै बेला नेपालको शिक्षा क्षेत्रमा सिद्धार्थ बनस्थली स्कुलमा पढ्न पाउनुमा ठूलो नाम र इज्जत थियो । त्यही स्कुलका प्रिन्सिपल हुन्, लक्ष्मण राजवंशी । उमेरले ८२ वर्ष काटिसकेका छन् । उनी काठमाडौंका नेवार राजवंशी हुन् । जीवनको ऊर्जाशील ५५ वर्ष अध्यापनमा बिताए । राजनीतिक चेत यस्तो छ कि, ००७ सालदेखि उनी कम्युनिस्ट आन्दोलनमा । जेल–नेल भोगे । उनको सादगी जीवनशैली देखेरै होला पुष्पलालले आफ्नै बहिनी शोभनाको विवाह गराइदिए । ५५ वर्षको शिक्षण अवधिमा ५० हजारभन्दा बढी विद्यार्थीलाई पढाए । उनकै चेला हुन्, नारायणकाजी श्रेष्ठहरू । जनयुद्धताका माओवादीका अधिकांश नेता–कार्यकर्तालाई सेल्टर दिए । माओवादी शान्तिप्रक्रियामा आएपछि सोही पार्टीनिकट भएका उनले ०७० को संविधानसभाअघि केशवमान शाक्यहरूको अनुरोधमा नेपाः राष्ट्रिय पार्टीबाट सामानुपातिक सांसदको सूचीमा समावेश हुन सहमत भए । केशवहरू अहिले बाबुराम भट्टराईको नयाँशक्तितिर छन् । संविधान संशोधनलाई राष्ट्रघात ठहर गर्दै उनले बूढेसकालमा ‘कलंकको टीका नलगाउने’ निर्णय गर्दै संविधान संशोधनको विपक्षमा मतदान गर्न अठोट गरेबापत पार्टीले कारबाहीस्वरूप पार्टीबाटै निष्कासन ग¥यो । तर, उनले यस्तो चतु¥याइँ गरे कि पार्टीले निष्कासन गर्नु एक दिनअघि नै निर्वाचन आयोगमा ‘बौद्धिक जनतान्त्रिक परिषद्’ नामक पार्टी दर्ता गराए ।

० कारबाही गर्नुपर्ने गरी तपाईंले त्यस्तो के बिगार्नुभयो ?

– व्यवस्थापिका संसद्मा नेपाः राष्ट्रिय पार्टीको एक्लो नेवार सांसद । मैले संशोधन प्रस्तावको विरोधमा बोल्दैमा कसैको रौँ हल्लने कुरा थिएन । तैपनि, मैले उक्त प्रस्तावको विरोधमा आवाज उठाएँ । पार्टी छाडिसकेका केही नेवार साथीलाई यो पचेन । अरूले चुक्ली लगाए । यसमा अर्काे पनि कारणले काम ग¥यो । एमालेलगायत हाम्रा पार्टीका साथीलाई उचाले । र, मलाई कारबाहीस्वरूप पार्टीबाट निष्कासन गरिएको विज्ञप्ति निकालियो ।

० स्पष्टीकरण पनि सोधिएन ?

– सोध्नुपर्ने थियो । तर, त्यही दुईवटा कारण देखाएर मलाई पार्टीबाट निष्कासन गरियो । नेपाः राष्ट्रिय पार्टीको सदस्य नै होइन । मैले सांसद बन्नुअगाडि नै पार्टी सदस्यता लिएर सांसद बन्दिनँ भनेको थिएँ । मैले सांसद बन्ने बेलामै भनेको थिएँ, संविधान जारी भए पनि रूपान्तरित संसद्मा जान्नँ भनेर । पार्टीमा राजीनामा बुझाएको पनि हो, तीन पटकसम्म । त्यही राजीनामा स्वीकृति गरिदिएको भए भइहाल्थ्यो । किन मलाई कारबाही गर्ने भनेर अपमान गर्न खोजियो । म राष्ट्रको विरोधमा जान सकिनँ र जान सक्दिनँ पनि ।

० पचास वर्षमा कमाएको इज्जत राजनीतिमा लागेको पाँच वर्षमै किन सखाप भयो ?

– ५५ वर्षसम्म मास्टरी गरेँ । म सांसद बन्दिनँ भन्दा पनि घरमा आएर वाक्क–दिक्क लगाएर सांसद बन्न दबाब दिए । उहाँहरूले धेरै पटक आग्रह गरेपछि मात्र सांसद पद स्विकारेको हुँ । संविधान जारी भइसकेपछि म अब सांसद बस्दिनँ भनेर राजीनामा तीन पटकसम्म बुझाएको हुँ । त्यो बेला राजीनामा लिएनन्, अहिले निष्कासन गरेको भनेर अपमान गरिँदै छ । अहिले आएर अनावश्यक रूपमा मलाई बद्नाम गर्न काम भयो । अफवाह पनि कस्तो फैलाइएको छ भने, म संघीयताविरोधी रे † मैले बुझ्न नसकेको कुरा नेपाल राष्ट्र नै टुक्रियो भने राष्ट्र नै रहेन भने संघीयताको जग कहाँ राख्ने ? संघीयता कायम हुन पहिला नेपाल रहनुप¥यो नि † यहाँ त नेपाल नै रहला÷नरहला भन्ने चिन्ता भइसक्यो ।

० को हुन् त्यस्ता मान्छे, जसले तपाईंलाई बदनाम गरे ?

– औँलामा गन्ने हो भने ११ बाट १२ जना पुग्दैन, जसले मलाई संघीयता विरोधीको लेप लगाए । राजनीतिक संवाद समितिमा जातीय स्वायत्त शासन माग गर्दा अहिलेको सरकार घटकका वरिष्ठ नेताले को हुन् जनजाति ? को हुन् आदिवासी भन्दै मलाई चुनौती दिएका थिए । त्यो समयमा गोजीबाट सन् १९६९ को आइसिओ सन्धि र आदिवासी पहिचान र अधिकारसम्बन्धी घोषणापत्र पढेर नेताको मुखमा बिर्काे लगाउने मै हो । पाँच वटा पहिचान र चार वटा सामथ्र्यका आधारमा मात्र संघीयता हुन्छ, अरू हुँदैन भन्दा नेवारकै पहिचान पाँच वटा होइन, ५० वटा दिन्छु भन्ने मै हुँ । नेपाल राष्ट्र सिंगो संस्कृति सम्पदाले भरिएको भनी विश्वमा स्थापित गर्ने पनि नेवार नै हुन् । बजार स्थापना, विस्तार र विकास गर्ने पनि नेवार नै ! नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउने पनि नेवार लिपि नै हो । यसरी बोल्ने पनि म अनि मै माथि नेवारविरोधी, संघीयता विरोधीको लेप ? नेपाल नै नरहे कहाँ रहन्छ नेवाः राज्य ? कहाँ लागू गर्ने संघीयता ? मेरो चिन्ता र टिप्पणी यही मात्र हो ।

० पार्टीले कारबाही गर्नुपूर्व नै नयाँ दल खोलेर सांसद पद जोगाउनुभएछ, चतु¥याइँ त तपाईंले पनि गर्नुभएछ नि !

– ममाथि कारबाही हुँदै छ भन्ने हप्ता दिनअगाडि नै थाहा पाएको थिएँ । त्यही कारण कारबाही हुने अघिल्लो दिन नै निर्वाचन आयोगमा पुगेर बौद्धिक जनतान्त्रिक परिषद् दर्ता गराएँ । यसको अघिल्लो दुई दिनसम्म रातभर सुतिनँ । के गरौं र कसो गरौं भन्ने छलफल चलाएँ । रातारात पार्टीको विधान बनाएँ । सभामुखले पनि साथ दिनुभयो । निर्वाचन आयोगले पनि साथ दियो । पार्टीले मलाई संविधान संशोधन प्रस्तावको पक्षमा उभिन दबाब दिएको थियो । म ८२ वर्षको उमेरमा राष्ट्रहितप्रति गद्दारी गरेर मर्न चाहन्नँ । मेरो सांसद पद जोगिएकोमा भन्दा पनि मेरो एक मतको दुरुपयोग हुन नपाएकोमा सन्तुष्ट छु ।  

० पार्टीले कारबाही गरेकोप्रति कुनै पश्चात्ताप छ कि छैन ?

– पार्टीले कारबाही गरेकोप्रति मलाई कुनै पश्चात्ताप छैन । पार्टीको अधिकार हो । म पार्टीको मानार्थ सदस्य हो । मानार्थ सदस्यलाई पनि कारबाही गर्ने कस्तो राजनीतिक संस्कार हो ? पार्टीको विधानअनुसार कारबाही गर्नुअघि एक पटक स्पष्टीकरण सोध्नुपर्छ । केही नगरी मलाई निकाल्ने निर्णय भयो । मलाई बस्ने इच्छा पनि थिएन । देश टुक्र्याउने पक्षमा म जान सक्दिनँ । राष्ट्रको सार्वभौमसत्तामाथि गम्भीर प्रश्न खडा भएको अवस्थामा मधेसी गठबन्धनको पक्षमा मेरो आत्माले उभिन सकिनँ ।

० संविधान संशोधनबारे के भन्नुहुन्छ ?

– नेपाल यस्तो ठाउँमा छ, अहिले संविधान संशोधन केही गरी पारित भयो भने देशको धेरै भागमा आगो लाग्छ । संविधान संशोधन फेल भयो भने डढेलो लाग्छ, तराईमा । छिमेकीले चाहेको यही थियो । हिजो बिप्पामा बाबुरामजी कसरी चिप्लिएका थिए । त्यही ढंगबाट आज प्रचण्डजीहरू चिप्लँदै छन् । सुरुदेखि नै दक्षिणले हाम्रो कहिले प्रगति र उन्नति देख्न चाहेन । सदैव हाम्रो प्रगतिमा तगारो बन्यो । हुन त आफ्नै देशका नेता लम्पसार पर्ने भएपछि अरूलाई मात्र के दोष दिनु ? तर, प्रचण्डजीहरूले यो कुरा कहिल्यै बुझ्नुभएन वा बुझेर पनि बुझ पचाउनुभयो ? अहिले हामीलाई मात्र होइन, संघीयता भारतलाई पनि घाँडो भएको छ । पहिला एक जना राजालाई मात्र मनाए पुग्थ्यो । अहिले उसको स्वार्थपूर्तिका लागि धेरै राजालाई मनाउनुपर्ने पीडा छ । मधेसी नेता पनि साँच्चैका राष्ट्रवादी छन् । तर, तिनीहरू पनि विदेशीका लागि प्रयोग मात्र भए ।

० यो विवाद कसरी सल्टाउने ?

– मैले संसदमा पनि बोलेको कुरा हो यो । आज पनि दोह्रो¥याउँछु । निर्वाचन विधेयक मामा सकुनीको पासाजस्तै भयो । १४ वर्ष पाण्डवलाई वनवास पठाउने र दौपद्रीको चीरहरण गर्ने योजना त सफल होला । तर, हस्तिनापुरको गद्दीको हकदार को हुन् ? मैले अगाडि नै भनिसकेँ, संविधान संशोधन भयो भने पनि, भएन भने पनि नेपालले हार्छ । कलियुगका कृष्णहरूले जित्छन् । निर्वाचन गरिए पनि पुनः यही परिस्थिति नदोहोरिएला भन्ने के ग्यारेन्टी छ ? यो समस्या सल्टाउने नै हो भने सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिने सदनमा प्रस्ताव राख्नु बुद्धिमानी हुने देख्छु । सदनले स्वीकृत गरिदिने । यो भयो भने विवादको जडै साफ ।

० अरू उपाय छैन ?

– अहँ । यसपछाडि कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नभएका भूगोलविद्, समाजशास्त्री र बुद्धिजीवि सम्मिलित एएटा अयोग बनाई समस्या देखिएका ठाउँमा समाधानका लागि संशोधन गर्दै जानेबाहेक अरू विकल्प देख्दिनँ ।

 ० वर्तमान सरकार गठबन्धनलाई कसरी हेर्नुहुन्छ ?

– देखिनेचाहिँ यो प्रचण्ड नेतृत्वको सरकार हो । यो सरकारमा कांग्रेसका प्रतिनिधित्व गर्दै विमलेन्द्र निधि छन् । अगाडि जे बोल्छन्, त्यही बोलिमा लोली मिलाउन प्रचण्ड र शेरबहादुरजीहरू । अहिले त प्रचण्ड र शेरबहादुरहरूलाई विमलेन्द्रले फनफन घुमाइरहेका छन् । सरकारका मन्त्रीहरू समाहित कार्यक्रममा प्रचण्डका दायाँ विमलेन्द्र र बायाँ कृष्णबहादुर महरा बस्छन् । अरूले यसलाई कुन अर्थमा पुष्टि गर्छन् कुन्नि ! तर, म यसको राजनीतिक अर्थ बुझिरहेको छु । यिनको हाउभाउ र फुर्ती देख्दा शंका लागिरहेछ, भोलि यिनै युवा देशको प्रधानमन्त्री हुने होलान् !

० एकसिटे सांसदहरू मन्त्री बन्दा तपाईंलाई रहर लागेन ?  

– पद, प्रतिष्ठा, पैसा सबै क्षणिक † म चाहन्थेँ, म मरिसकेपछि मेरा छोरा–नाति पुस्ताले मलाई नथुकून् । यही सोचेर हो, मैले सरकारको समर्थन गर्न सकिनँ । शायद प्रेमबहादुरले जस्तै प्रचण्डको फाइल आफैँले बोक्दै अगाडि–पछाडि लागेको हुँदो हो त म पनि मन्त्री बन्थे हुँला । ८२ वर्ष पुगेँ । ‘आज–भोलि’ को अवस्थामा छु । यस्तो अवस्थामा मलाई राष्ट्रघात गर्नु थिएन । कलंकको टीका लगाएर मर्न चाहन्नँ ।

० केपी ओलीबारे के भन्नुहुन्छ ?

– विगत हेर्न चाहन्नँ । तर, वर्तमानमा उनले जुन ढंगले भारतसँग टक्कर लिए । भारतले नाकाबन्दी नहटाएसम्म भारत भ्रमणमै आउँदिन भनेर भारतलाई झुक्न बाध्य बनाए । त्यो उनको महानता हो । भारतीय एकाधिकार तोड्दै चीनसँग उनले सम्झौता गरे । प्रधानमन्त्रीका रूपमा संविधानसभा भवनबाट प्रधानमन्त्री प्रचण्डले बोलेका एक÷एक शब्द रेकर्डमा छन् । चीनसँग भएका सम्झौता एक÷एक कार्यान्वयन गर्छु भनेका थिए । ती कुरा कत्तिको कार्यान्वयन भएका छन् ? त्यसको हिसाब–किताब खोज्ने बेला आएको छ ।


प्रतिक्रिया दिनुहोस !