वायुसेवाको किचलो अझै उस्तै

वायुसेवाको किचलो अझै उस्तै

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेजीको माग गर्दै आन्दोलन हुन थालेको आज २२ दिन पूरा भएको छ । सुन्धारास्थित निगमको केन्द्रीय कार्यालयमा असार १८ गतेदेखि संयुक्त ट्रेड युनियन संघर्ष समितिको आयोजनामा जारी प्रदर्शन अझै रोकिएको छैन ।

आज पनि निजीकरणको निर्णय खारेजी,महाप्रवन्धकको राजीनामा, महाप्रबन्धकको अस्वभाविक तलब बृद्वि खारेजी, सञ्चालक समितिमा निगमको व्यावसायिक स्वार्थ बाझिने एजेन्टहरूको नियुक्ति खारेजी लगायतका माग राखी प्रदर्शन भइरहेको छ ।

२२ दिनदेखि निगम कार्यालयमा धर्ना दिइरहेको संघर्ष समितिले आजको विरोध कार्यक्रम निगम कर्मचारी युनियनका संयोजक सुवास डाँगीको नेतृत्वमा जारी राखेको हो ।

विरोध कार्यक्रममा सहभागीहरुले ‘भ्रष्ट महाप्रबन्धक राजीनामा दे’, ‘सबै कर्मचारी एक हौं’, ‘कर्मचारी एकता जिन्दावाद’, ‘सार्वजनिक संस्थानमाथिको दलाली बन्द गर’, ‘सार्वजनिक सम्पत्ति बेच्न पाईँदैन’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘निगम बेच्न पाईँदैन,डिम हामीलाई चाहिँदैन’, नालायक एमडी राजीनामा दे’, ‘हवाई माफिया मूर्दावाद’, ‘निगम निजीकरण बन्द गर !’ जस्ता नारा लगाएका छन् ।

टिप्पणीहरू