टाउको गन्ने मुध्दा उनै कुमार श्रीमानको इजलासमा

टाउको गन्ने मुध्दा उनै कुमार श्रीमानको इजलासमा

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले दायर गरेको रिट फागुन २३ गते नेकपा फुटाउने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

ठाकुर समूहले निर्वाचन आयोगमा भोलि हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै अस्ति सर्वोच्चमा रिट हालेको थियो । रिटमाथि सर्वोच्चको ९ नं. इजलासमा सुनुवाइ जारी छ ।

उता,आधिकारिकता विवादमा निर्वाचन आयोगले जसपाका कार्यकारिणी समिति सदस्यलाई सनाखत गराउने निर्णय गरिसकेको छ । त्यसका लागि भोलि ११ गते विवाद उत्पन्न हुनुपूर्वको कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित सनाखतका लागि बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालयमा उपस्थित हुन भनिएको छ।

कार्यकारिणी र संसदीय दल दुबैतिर अल्पमतमा परेपछि ठाकुर खेमा अदालतको शरणमा पुगेको हो । ठाकुरका तफर्बाट दायर रिटमा जसपा विवाद निरुपणका लागि साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

सत्ता गठवन्धनलाई लिएर दुई धारमा विभाजित जसपामा ठाकुर खेमा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि विवाद चर्किएको थियो । अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा सहभागी हुनेहरुलाई कारवाही गरेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । दुवै पक्षले एकले अर्कालाई गरेको कारवाहीको जानकारी निर्वाचन आयोगलाई गराएका थिए । आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि यादव पक्षले आधिकारिकता दाबी गर्दै अर्को निवेदन दिएको थियो ।

आधिकारिकता सम्बन्धमा निर्णय लिन आयोगले सोमबार हेड काउन्ट गर्दैछ । यसअघि आयोगले सहमति कायम गर्न गरेको आग्रह दुवै पक्षले अस्वीकार गर्दै कानून अनुसार हुने निर्णय स्वीकार गर्ने बताएका थिए । सोही बमोजिम आयोगले इजलास गठन गरेर सुनुवाइ गरेको थियो ।

विवाद उत्पन्न भएपछि एकलौटी हेरफेर गरेको कमिटीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ठाकुर खेमा अदालत गएको हो । आयोगको निर्णय एकपक्षीय भएको र आफूले अधिकारप्राप्त अध्यक्षका हैसियतमा गरेको हेरफेरलाई मान्यता दिनुपर्ने ठाकुरको जिकीर छ । तर, निर्वाचन आयोग कानुनी प्रक्रिया अनुरुप नै अघि बढेपछि उक्त निर्णय कार्यन्वयन रोक्न माग गर्दै ठाकुर अदालतको शरणमा पुगेका हुन् ।

टिप्पणीहरू