मध्यराती ओलीलाई योगेशको कडा सुझाव : समस्यामा पार्लान् है !

मध्यराती ओलीलाई योगेशको कडा सुझाव : समस्यामा पार्लान् है !

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै राती अबेरसम्म भेटेर एमाले सचिव तथा ताप्लेजुङका माननीय योगेश भट्टराईले दिएको सुझावले बालकोट तरंगित भएको छ । राज्यसत्ताबाट विमुख भएको एक साता नबित्दै ओली बालुवाटारको भित्री सूचनाबाट लगभग अलग्गिनुभएकाले पनि विभिन्न नेताहरूलाई बोलाउँदै राय सल्लाह गर्न थाल्नुभएको देखिन्छ ।

भेटघाटको क्रममा भट्टराईले भन्नुभयो-“संसदमा देउवाको पक्षमा स्पष्टसँग १ सय ६५ जना सांसद पुगेको छ । किसन श्रेष्ठ जस्ताले तपाईंको साथ छाडे । यो शुभसंकेत होइन । त्यसतर्फ ध्यान दिनुहोला ।’

आफ्नो सुझाव एकोहोरो सुनिरहनुभएका अध्यक्ष ओलीलाई भट्टराईले बुझ्ने भाषामा ‘उनीहरूले तपार्ईंले जस्तो तर्साउने तरिकाले होइन साँच्चिकै तयारी गरिरहेका छन् । को,कोसम्म जेल जान सक्छन् भन्ने हिसाब किताब गरिएको छ । शीतल निवाससम्मलाई ठेगान लगाउन आवश्यक गृहकार्य भएको बुझिएको छ । त्यसैले जतिसक्दो छिटो पार्टी एकता गरेर थप क्षति हुनबाट रोक्नुको विकल्प देखिँदैन ।” भन्नुभएको थियो ।

त्यसपछि अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘राष्ट्रिय एकताको रुपमा रहेको सम्मानित संस्थालाई चलाउने वा आक्षेप लगाउने काम नभइदिए राम्रो हुने थियो ।’

तर,उहाँसँग निकट भनिएका हिजोका दर्जनौं लोभीपापीले नयाँ गठन भएको सरकारतिर आँखा लगाइसकेको संकेत गर्दै भट्टराई राती अबेर बालकोटबाट निस्कनुभएको बताइन्छ ।

यता,वरिष्ठ नेता माधवकुमार नेपाल निकट केही केन्द्रीय सदस्यले कार्यदलका ११ जनाले पार्टी एकता हुँदाको अवस्थामा अर्को सिण्डिकेट लगाउन सक्ने भएकाले त्यो खेललाई बेलैमा भत्काउनपर्ने सुझाव दिएका छन् ।

वास्तविकता उधिनेर समस्याको चुरो पत्ता लगाउनेतिर भन्दा कार्यदल दुबैतर्फका शीर्ष नेतृत्वको नजिक भएर आफ्नो दुनो सोझ्याउने काममा अहिले नै सक्रिय भएकाले भोलि त्यहि कार्यदल घाँडो हुनेतर्फ उनीहरूले नेता नेपाललाई सुझाएको बताइन्छ ।

को,कोसम्म जेल जान सक्छन् भन्ने हिसाब किताब गरिएको छ । शीतल निवाससम्मलाई ठेगान लगाउन आवश्यक गृहकार्य भएको बुझिएको छ । त्यसैले जतिसक्दो छिटो पार्टी एकता गरेर थप क्षति हुनबाट रोक्नुको विकल्प देखिँदैन

टिप्पणीहरू