यूथफोर्स भ्याली कमाण्डरमा पुष्पराज श्रेष्ठ नियुक्त

यूथफोर्स भ्याली कमाण्डरमा पुष्पराज श्रेष्ठ नियुक्त

केपी ओली नेतृत्वको एमालेले हालसालै ब्युँताएको युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजित एक कार्यक्रमका बीच महासचिव ईश्वर पोखरेलले कमाण्ड घोषणा गर्नुभएको हो ।

युथफोर्सको भ्याली कमाण्डमा पुष्पराज श्रेष्ठ कमाण्डर तोकिएका छन् । उनको नेतृत्वमा १ हजार १ सदस्यीय भ्याली कमाण्ड पनि घोषणा गरिएको छ जसमा शिव थापालगायत रहने गरी १५ जनाको स्टेरिङ कमिटी र नवराज खड्कालगायत रहेको ९० सदस्यीय कोअर्डिनेसन कमिटी सार्वजनिक गरिएको छ । कार्यक्रममा बताइएअनुसार प्रत्येकले १०/१० जनाको कमाण्ड गर्नेछन् ।

उनीहरुलाई युवासंघका अध्यक्ष किरण पौडेलले शपथ खुवाएका थिए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि महासचिव पोखरेलले सम्बोधन गर्नुभएको थियो । ओली प्रमुख अतिथि हुने भनिएको कार्यक्रममा आयोजकले ओलीको ठुल्ठुला फोटा राखेर तामझामका साथ प्रचार गरेको थियो ।

युथफोर्स ब्युँताउने महेश बस्नेत लगायतका युवाको निर्णयले ओली समूहभित्रै केही नेता असन्तुष्ट बनेको चर्चा चलिरहेका बेला कार्यक्रममा ओलीको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू