सेनापति थापासँग थोरै सवाल

सेनापति थापासँग थोरै सवाल

– हरिशचन्द्र गौतम

प्रधानसेनापति पूर्णचन्द्र थापा केही विसंगति र समयानुसार अमिल्दो परम्परालाई हटाउन चालेका कदम समयसापेक्ष र प्रशंसनीय छन् । यसका लागि ‘नेतृत्व संवाद’ कार्यक्रम चलाउनुका अतिरिक्त ‘सैनिक आचारसंहिता संग्रह, २०७६’ पुस्तिकासमेत वितरण गरिएको छ । यस कार्यक्रम र पुस्तिकामार्फत उपहार लेनदेन, भनसुन, आर्थिक अनियमितता, स्वार्थको द्वन्द्व, अधिकारको दुरूपयोग, यौनजन्य शोषण तथा दुव्र्यवहारजस्ता विषयमा सबै सैनिक व्यक्तिलाई गर्न हुने र नहुने कार्यबारे जानकारी गराइन्छ ।

सैनिक संगठनमा नेतृत्वले नै उदाहरणीय भएर देखाउनुपर्ने अर्थात् सैनिक भाषामा ‘लिड बाइ एक्जाम्पल’ भन्ने मान्यता हुन्छ । प्रधानसेनापति थापाले पहिलो वर्ष उदाहरणीय हुने प्रयास गरे पनि पछि आफैँले भनेका तथा लागू गरेका कतिपय आचारसंहिताका नियम स्वयंले उल्लंघन गरिरहेको, नैतिकताको सवालमा दोहरो मापदण्ड अपनाएको र ‘सानालाई ऐन ठूलालाई चैन’ चलाएको आममान्यता छ ।

प्रधानसेनापतिको कार्यालयबाट वितरित नेतृत्व संवाद निर्देशिकामा एउटा उदाहरण यस्तो दिइएकोछ– युनिटका सकल दर्जाहरूको खाता खोलिदिएबापत सम्बन्धित बैंकले एउटा कम्प्युटर उपहार दिएमा के गर्ने ? भन्ने प्रश्नमा नैतिकता, सैनिक ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत कार्य भएकाले लिन नहुने लेखिएको छ ।

यस्तै जलविद्युत् आयोजना सुरक्षाका लागि खटिने फौजलाई सम्बन्धित निकायले सामाजिक उत्तरदायित्वअन्तर्गत दिने खेल तथा मनोरञ्जनका साधन र रासन ठेकेदारले दसैं तथा वार्षिकोत्सवको उपलक्ष्यमा खसीबोका चढाउने परम्परालाई पूर्णरूपमा निषेध भनिएको छ ।

उक्त नीतिलाई तल्लो तहका कमाण्डरहरूले अक्षरशः पालना गरिरहेका छन् । तर जंगीअड्डा तहमा प्रधानसेनापतिको निर्देशन उल्लंघन भइरहेको देखिन्छ । सेना दिवसको अवसरमा आयोजित ‘रन फर वन हेल्थ’ कार्यक्रमका लागि कल्याणकारी कोषको अर्बाैं निक्षेप राख्ने बैंकहरूबाट प्रायोजित हजारौं टी–सर्ट र पि–क्यापहरू स्वीकार गर्नु नेतृत्व संवाद र आचारसंहिता पुस्तिकाको पाना १२८ मा उल्लिखित ‘व्यावसायिक लाभ उठाउने उद्देश्यले हुन सक्ने उपहारको प्रभाव’ शीर्षकको दफा ३ विपरीत भएको ठहर तल्लो तहका कमाण्डरको छ ।

यसरी नै गैरसरकारी संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको फुटबल खेल विकासलाई सहयोग गर्नु र सेनाले त्यसको अधिकतम उपयोगमार्फत् राष्ट्रिय फुटबललाई सहयोग गर्नु सकारात्मक कार्य हुन् । तर, सहयोगको नाममा ०७७ असार २६ गते एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट सोफा सेट, टेबल, लकर, ऐना, कार्पेट, झ्यालहरूका लागि स्टिकर आदि गरी करिब १४ लाख रकम बराबरको फर्निचर तथा अन्य सामान ग्रहण गर्नु नैतिकता र सामाजिक उत्तरदायित्वको दृष्टिले कत्तिको जायज भयो ?

आफ्नो समुदायको हित र विपद्का दौरान सर्वसाधारणको लागि गरिरहेको मानवीय सहयोगसम्बन्धी कार्य प्रशंसनीय छन् । तर, यसले ‘क्लिनिक नेपाल’ लगायत विभिन्न व्यक्तिबाट लिएको अघोषित नगद रकम आचारसंहिता र चन्दा ऐनअनुसार कति उचित छ ?
राष्ट्रिय सेवा दलको कार्यकारी निर्देशक नियुक्त गर्दा सेनापति व्यक्तिगत स्वार्थमा फसेको र आफ्नालाई च्यापेको स्पष्ट देखिन्छ ।

तत्कालीन कार्यकारी निर्देशक उपरथी रमिन्द्र क्षेत्री २०७६ कात्तिकमा उमेर हदले पदमुक्त हुनुभएपछि व्यक्तिगत स्वार्थका कारण उक्त पद झण्डै एक वर्ष रिक्त राखियो । त्यसपछि सेनापति थापाले साँढुभाइ उपरथी रघु भण्डारी २०७७ कात्तिक १२ गते अवकाश भएपछि भोलिपल्टैको मितिबाट लागू हुने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराई नियुक्त गर्नुभयो, यस्तो कामलाई के भन्ने ?

त्यसैगरी, उपरथीको दर्जामा पृतना कमाण्ड गर्न जानुपर्ने हालसम्मको अलिखित नियम (परम्परा) लाई पाखा लगाई साँढुभाइ भण्डारीलाई फिल्डमा नपठाई सम्भाररथी विभाग र नीति तथा व्यवस्था महानिर्देशनालयजस्ता आकर्षक विभागमा राख्नु स्वार्थको द्वन्द्वको एउटा स्पष्ट उदाहरण हो ।

अनियमितता र यौनशोषणविरुद्ध उहाँले शून्य सहनशीलताको नीति अवलम्बन गरेको प्रचार छ । तर, सेनाको ‘सानो कुबेर’ भनी परिचित लेखा उपरथी भुवनबहादुर अधिकारीले मातहतका निकायलाई बजेट वितरण गर्दा तथा तनहुँको जग्गा खरिद प्रकरण र आफ्नै कार्यालयको जुनियर महिला सैनिक अधिकृतसँगको स्थायी अनैतिक सम्बन्धबारे कुनै छानबिनसमेत नगरी राजीनामामार्फत ‘क्लिन–चिट’ दिनुभयो । यसमा पनि स्वार्थ रहेको अनुमान गर्न सकिन्छ किनभने अधिकारी र थापाबीच मामा–भाञ्जाको नाता सम्बन्ध छ ।

थापाले आफ्नै ब्याचका साथी अवकाशप्राप्त ब्रिगेडियर जर्नेल आमोदनर्सिङ राणालाई सैनिक कल्याणकारी बोर्डको कार्यकारी निर्देशकमा गरेको नियुक्ति पनि अर्को उदाहरण हो । विभूषण सिफारिस समितिमा नेपाली सेनाको प्रतिनिधित्व गर्नुहुने अर्का साथी अवकाशप्राप्त उपरथी विनोद श्रेष्ठलाई फिल्डमा खटिएका बहालवाला कुनै जर्नेलको नाम सिफारिस नगरी सेनाको कोटामा ‘सुकीर्तिमय राष्ट्रदीप’ दिलाउनुमा समेत मित्रताको स्वार्थ लुकेको अनुमान गर्न सकिन्छ ।

थापा प्रधानसेनापति हुनुभएपछि निर्माण ठेकेदार बन्न पुगेका ब्रिगेडियर आमोदका छोरा आयुषको सूर्यकिरण कन्स्ट्रक्सन कम्पनीलाई सेनाभित्रका धेरै निर्माण ठेक्का परेको देखिन्छ । नेतृत्व संवादअन्तर्गत अधिकारको दुरूपयोगसम्बन्धी पाठ्यसामग्रीमा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले जानीजानी वा लापरवाहीका साथ आफ्नो अधिकारभित्रको कुनै काम गर्न इन्कार गरे वा अधिकारै नभएको कुनै काम गरे; तजबिजी अधिकार बदनियतपूर्वक वा स्वेच्छाचारी रूपमा प्रयोग गरे अनुचित कार्य गरेको मानिने’ भनी स्पष्टसँग लेखेको पाइन्छ ।

‘नेपाल सरकारबाट प्राप्त म्याण्डेट’ र संकटको नाममा सेनापति थापाले जिम्मेवारी क्षेत्र, विशेषज्ञता, क्षमता बाहिर गई स्वास्थ्य सामग्री तथा उपकरण खरिदजस्तो गैरव्यावसायिक तथा व्यापारिक कार्य गर्नु ‘अनुचित कार्य’ हो । यसले सेनाको छबिलाई पारेको प्रतिकूल असरको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । यसरी नै पूर्वसैनिक अधिकृत, बुद्धिजीवी तथा आमजनताले स्वास्थ्य सामग्री तथा उपकरण खरिदजस्तो व्यापारिक कार्यमा सेनाको संलग्नता अनुचित कार्य भएको आवाज उठाइरहेको अवस्थामा लामो विज्ञप्तिमाथि विज्ञप्ति निकालेर स्पष्टिकरण दिँदा ‘जो उसको ठूलो स्वर’ भन्ने उखानजस्तै त भएन ?

सैनिक अधिकृत प्राविधिक तथा विविध सेवाका लागि तयार गरिएको आचारसंहितासम्बन्धी नेतृत्व संवाद २०७६ मा दिइएको एउटा उदाहरण यस्तो छ, ‘एउटा सैनिक पाइलटले पृतना हेडक्वार्टरमा सैनिक सामग्री ढुवानी गरी हेलिकप्टर रित्तो काठमाडौँ फर्कन लाग्दा एउटा अधिकृतले आफ्नी श्रीमती र छोरालाई लान अनुरोध गर्दा सैनिक आचारसंहिता र सरकारी सम्पत्तिको दुरूपयोग हुने भनी लान नमिल्ने’ बताइयो । त्यसो हो भने ‘प्रधानसेनापति थापाले आफ्नो छोराको वैवाहिक कार्यक्रमको अतिरिक्त चार वटा भोजमा सैनिक ब्याण्ड बजाउनु, अन्य अधिकृतले एक दिन क्लब नपाएको बेला दुई दिन छुट्टाछुट्टै पार्टी गर्नु, एक हप्ताभन्दा बढी सरकारी निवासमा व्यक्तिगत प्रयोजनका लागि झलमल बत्ती बाल्नु र सवारी साधन, फोटोग्राफरजस्ता सरकारी स्रोत साधन चलाउनु के अधिकारको दुरूपयोग भएन ?’

सैनिक आचारसंहिता संग्र्रह, २०७६ ‘पुस्तिकामा पोशाक, सामाजिक सञ्जाल प्रयोग, आर्थिक कारोबार तथा मितव्ययिता, विभिन्न व्यक्तिसँग भेटघाटलगायत विषयमा गर्न हुने नहुने बुँदा उल्लेख गरिएको छ । थापाले कार्यभार बुझ्नुभएपछि फजुल खर्च रोक्ने उद्घोषको सबैले प्रशंसा गरेका थिए । फजुल खर्च रोक्न ब्यारेकभित्र हुने वार्षिक उत्सवलगायत सबै कार्यक्रममा मदिरा निषेध गर्नुभयो तर जंगीअड्डाले आयोजना गर्ने कार्यक्रम– रक्षामन्त्री, रक्षासचिव र उच्च अधिकृतहरूको बिदाइ, पूर्वजर्नेल तथा अधिकृतलाई नयाँ जंगी अड्डाको अवलोकन कार्यक्रमदेखि पटक–पटक पत्रकारलाई दिने रात्रिभोजलगायत अन्य कार्यक्रममा मदिरा खुला राख्नुभयो ।

यसरी नै फजुल खर्च कटाउन र व्यक्तिवादी नहुन ब्यारेकमा प्रधानसेनापतिको फोटो एउटा मात्र राख्न निर्देशन दिनुभयो । तर, अहिले विभिन्न कार्यक्रमका ब्यानरका साथै ब्यारेकको भित्ता तथा गेटका ठूला फ्लेक्स बोर्डमा प्रधानसेनापतिको फोटोसहित ‘महावाणी’ राखेको पाइन्छ, जुन रंगीचंगी राजाको शासनकालमा मात्र हुने गथ्र्यो । यस्तो पूर्वप्रधानसेनापतिको कार्यकालमा देखिँदैनथ्यो । नयाँ भवन तथा संरचनामा शिलापत्र राखेर उद्घाटन गर्ने कार्यक्रमलाई निषेध गर्नुभयो तर अहिले उहाँ आफँै महँगो हेलिकप्टरबाट कल्याणकारी कोषको पैसाले निर्मित भवनको साथै मन्दिरको उद्घाटन गर्दै हिँडेको देखिन्छ ।

मेरो एक जना गाउँले सेनामा हवल्दार हुनुहुन्छ । उहाँ गणेश भगवान् तथा नक्षत्रहरूमा बढी नै विश्वास गर्ने भएकाले औंलामा रातो मुँगाको गणेश, विवाहमा दिएको सुनको र ग्रहशान्तिको नीलो पत्थर गरी सधैँ तीनवटा औंठी लगाउनुहुन्थ्यो । अहिले एउटा मात्र लगाएको देखेपछि गणपति करसाहेबले ‘जोगी चटके’ जस्तो किन धेरै औंठी लगाएको, तँलाई आचारसंहिता थाहा छैन ? भनी झण्डै कारबाही गरिदिए । पछि बुझ्दै जाँदा आचारसंहिता पुस्तिकामा बढीमा एउटा साधारण औंठी मात्र लगाउन पाउने भन्ने लेखिएको रहेछ ।

उहाँले के भन्न छुटाउनुभएन भने, ‘प्रधानसेनापतिज्यू भिजिटमा आउँदा आफैँ दुईवटा औंठी लगाएको देखेँ, नियम भनेको हामी सानाको लागि त हो !’

टिप्पणीहरू