कटौती गर्ने कमरेडी कसम

खादा, माला र आसनग्रहणलाई नियन्त्रण गर्दै अब एमालेले आफूलाई सच्याउने भएको छ । पोखरामा ९ गते सुरु भई हिजो सम्पन्न मोर्चा संगठनको राष्ट्रिय भेलाको घोषणापत्र जारी गर्दै भनिएको छ, ‘हामी औपचारिक कार्यक्रममा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । अतिथिलाई लगाइदिने ब्याच, माला र खादाको अत्यधिक प्रयोगबाट हाम्रा कार्यक्रम भद्दा एवं खर्चिला भइरहेका छन् ।

हामी यस्ता परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने र आसनग्रहणमा मूल्यवान समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले अब प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्र मञ्चमा राख्ने, अरू सबै आमन्त्रित अतिथिलाई दर्शकदीर्घामै राखी कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कारको विकास र अवलम्बन गर्नेछौँ ।’ नेताको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै तदनुकूल सम्मानजनक व्यवहार गर्न संवेदनशील हुने भन्दै एमाले मोर्चा संगठनले नेतालाई स्वागत गर्ने नाममा एअरपोर्ट र बसपार्कमा अनावश्यक भीड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामीप्य दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने सहमति जनाएका छन् । घोषणापत्रमा भनिएको छ, ‘यस्तै प्रवृत्तिका आधारमा व्यक्तिको पदोन्नति गर्ने गलत अभ्यासलाई रोक्नसमेत हामी जनसंगठन कटिबद्ध छौं । साथै, हामी सबै जनसंगठन जातीय छुवाछुत, लैंगिक तथा सामाजिक विभेदपूर्ण व्यवहार र महिला हिंसा, साम्प्रदायिक विद्वेष बढाउने खालका अभिव्यक्ति तथा व्यवहारको समूल अन्त्य गर्न प्रतिबद्ध छौँ र त्यस्ता क्रियाकलापलाई संगठनभित्र दण्डनीय विषय बनाउने घोषणा गर्दछौँ ।’

कामका लागि नभई नामका लागि भद्दा कमिटी बनाउने र उपलब्ध सदस्यबीचको बैठक भन्दै सामूहिक निर्णय प्रणालीलाई ओझेलमा पार्दै मन परेकाहरू बीचको निर्णयलाई संगठनको निर्णयका रूपमा व्याख्या गर्ने परम्परा अन्त्य गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् । भनिएको छ, ‘दाउपेच होइन, कमरेड्ली भावना भन्ने आधारमा सबै संगठन सञ्चालन गर्न क्रियाशील हुनेछौँ ।’

एमालेले २१ फागुनबाट सुरु गर्ने मेची–महाकाली राष्ट्रिय अभियान सफल पार्न मोर्चा संगठनले सक्रियतासाथ संलग्न हुने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसका लागि विभिन्न जिल्लाका कार्यक्रममा समन्वय र परिचालनका लागि निम्नानुसार जिम्मेवारी बाँडफाँड गरिएको छ । त्यसअनुसार झापामा अनेरास्ववियु,     मोरङ, सुनसरीमा जिफन्ट, सप्तरीमा पेसागत महासंघ नेपाल, सिरहामा भूमिहीन सुकुम्बासी संगठन, धनुषामा लोकतान्त्रिक मधेसी संगठन, सर्लाहीमा अनेमसंघ, रौतहटमा बुद्धिजीवी परिषद्, बारा, पर्सामा खेलकुद महासंघ, मकवानपुरमा उद्योग व्यवसायी महासंघ, चितवन    मा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नवलपुरमा जनसांस्कृतिक महासंघ, परासी, रूपन्देहीमा युवासंघ,     कपिलवस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपांग संगठन, दाङमा प्रेस चौतारी नेपाल, बाँके, बर्दियामा किसान महासंघ र भूपूसैनिक तथा प्रहरी संगठन, कैलालीमा मुक्ति समाज नेपाल,    कञ्चनपुरमा पेसागत तथा प्रगतिशील कानुन व्यवासायी संघ (पिपिएलए), सुर्खेतमा मानवअधिकार एलाइन्स रहने भएका छन् । भेलामा २० मोर्चा संगठनका केन्द्रीय पदाधिकारी उपस्थित थिए ।
करोडका लागि खेल कत्रो ?

नेपाल आयल निगमको पूर्वाञ्चल डिपो खोल्ने नाममा करोडौंको चलखेल सुरु भएको छ । कार्यकारी निर्देशक गोपालबहादुर खड्काले २० बिघा जमिन खरिदका सिलसिलामा २० करोड कमिसनको चाँजोपाँजो मिलाइसकेको बताइन्छ । अहिलेसम्म चार वटा फर्मले जमिन खरिदको प्रस्ताव प्रस्तुत गरेको छ । प्रतिकठ्ठाका पाँच–६ लाख पर्ने जमिन किनेर त्यसको मूल्य १० देखि १२ लाखसम्म देखाउँदै २० करोड जोहो गर्न लागिएको हो । आयल निगमको आह्वानबमोजिम यस कामका निम्ति रामेश्वर ताम्राकार, एपेक्स कन्ट्रक्सन, मनोज कन्ट्रक्सन र कमल फैजुले निगममा प्रस्ताव पेस गरेका छन् ।

टिप्पणीहरू