माधव नेपालको यात्रा र त्यो बेलाको कथा

– पुष्पलाल पाण्डे

देउवाले ०५२ सालमा देशको पहिलो कम्युनिष्ट सरकारलाई विस्थापन गरेर सत्ताको शिखर चढ्दै गर्दा उता दाहाल भने जंगलयात्राको अन्तिम छेकोमा थिए । यी दुई कुनै समय मार्ने र मर्ने तहमा थिए । देउवाले दाहालको जिउँदो या मरेको टाउको ल्याउनेलाई ५० लाख रुपैयाँसम्म बक्सिसको घोषणा गरेका थिए । दाहालले त्यसरी टाउकाको मूल्य तोक्ने देउवा चढेकै गाडीमा बम प्रहार गरेर मोलतोलको जवाफ दिएका थिए । दाहाल–देउवा संघर्ष र मित्रताका कथा फेरि पस्कौँला । आज भने दोस्रो केमिस्ट्री हेरौँ ।

यो हो कुनै समय नेकपा एमालेका शक्तिशाली महासचिव माधवकुमार नेपाल र माओवादी कमाण्डर दाहालको । देउवा–दाहाल सम्बन्ध हेटबाट लभमा रुपान्तरित भएको हो । तर, नेपाल–दाहाल सम्बन्ध भने अनचिनारु लभ हुँुदै हेट अनि लभमा रुपान्तरित भएको देखिन्छ । ०३७ को जनमतसंग्रहताका भिन्नाभिन्नै दलमा रहे पनि दाहाल–नेपालमा वैचारिक सामीप्य थियो । दाहालले मोहनविक्रम सिंहलाई गुरु मानेर उनकै शब्दमा जनमतसंग्रहलाई धोखा भन्थे । नेपालले पनि सिंहको उग्रविचार तत्कालीन मालेमा स्थापित गराउन जनमतसंग्रह धोखा हो भन्ने लबिङ गर्दै लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाएको मालेकालका सहकर्मी नेताहरूले बताउने गरेका छन् । सिंहभन्दा कम क्रान्तिकारी होइएला कि भन्ने चिन्ताले पीडित नेपाल लामो समय जनमतसंग्रहको विपक्षमै रहेको पाइन्छ ।

नेपालमा माओवादीको जन्म नेकपा एमालेको एन्टी थेसिसकै रुपमा भएको हो । एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादले प्राप्त गर्दै गरेको अपार जनसमर्थनबाट अत्तालिएर माओवादी उग्रवामपन्थी मान्यताको विकास गराइएको हो । समाजको शान्तिपूर्ण रुपान्तरण सम्भव छ भन्ने जबजलाई काउण्टर गर्न युद्धबाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा माओवादीले हिंसात्मक लडाइँ शुरु गरेको थियो ।

जुन बेला दाहाल सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन भन्दै सैन्य भर्तिमा मस्त थिए त्यहीबेला नेपाल भने देशको शक्तिशाली उपप्रधानमन्त्री थिए । दाहालले भरुवा बन्दुक र एक÷दुई वटा ग्रिनेडको जोहो गर्दा नेपाल भने जनअनुमोदनबाट देशकै सेनाको अधिपति भइसकेका थिए । यहीँनिर देखिन्छ गजबको संयोग, एकातिर नेपाल उपप्रधानमन्त्री भएर देशको बागडोर हाँकिरहेका थिए । दाहाल भने राज्यसत्ताको जन्म बन्दुकको नालबाट मात्र सम्भव छ भन्ने निश्कर्षमा थिए ।

नेपाल बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै सरकारमा पुग्ने लाइनमा रहेको बेला दाहाल सर्वहारा अधिनायकत्वको वकालतमा थिए । यही मेसोमा हो दाहालको प्रचण्डपथ आएको । खासमा प्रचण्डपथ नेपालले अंगीकार गरेको जनताको बहुदलीय जनवादको एन्टिथेसिस थियो ।

आजको परिस्थितिमा प्रचण्डपथ सतप्रतिशत पराजित भएको छ । स्वयं माओवादीले नै हिंसात्मक धार र अधिनायकवादको दाहसंस्कार गरिसकेको छ । तर, विडम्बना कुनै समय हत्या र हिंसाको पर्याय ठानिएका, टाउकाको मूल्य तोकिएका दाहाल शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाज रुपान्तरण गर्न लागिपर्दा जबजका अनुयायी नेपाल भने शान्तिपूर्र्ण श्रेष्ठता भत्काउँदै प्रचण्डको साथी बनिरहेका छन् । दाहालको शब्दमा कुनै समयका विषवृक्ष माधव नेपालको पछिल्लो कायापलट देखिरहँदा मलाई भने शान्तिवार्ताकार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको याद आइरहेको छ । एक अन्तर्वार्ताका क्रममा लेखकले यो पंक्तिकारसँग तत्कालीन माओवादीलाई दाँज्दै एउटा कथा सुनाएका थिए ।

कथा यस्तो छ– एकपटक एक दृष्टिविहीन बटुवा साथीकोमा वास बस्न पुगेछन् । लामो समयपछि अतिथि बनेर आएका मित्रलाई घरपट्टिले राम्रै स्वागत गरे । साँझ आइपुगेका मित्रलाई खिर खुवाए । सायद अतिथि मित्रले खिर चाखेकै थिएनन् क्यारे उनले आतिथ्य मित्रलाई सोधे– यो के खुवाउनु भो साथी, खाँदा भातजस्तो छ तर असाध्यै मीठो छ । घरपट्टि मित्रले भने– साथी, यो खिर हो, दूधबाट बनेको । पाहुनाले सोधे– दूध कस्तो हुन्छ मित्र ? आतिथ्य मित्रले उत्तर दिए– सेतो । फेरि पाहुनाको जिज्ञासा आयो– सेतो कस्तो हुन्छ मित्र ? के भन्ने के भन्ने भएका आतिथ्य मित्रले भने– हाँसजस्तो । उनको बोली भुइँमा खस्न नपाउँदै अतिथिले सोधे – हाँस कस्तो हुन्छ ? प्रश्नको उत्तर दिँदा हैरान भएका आतिथ्य मित्रले च्याप्प अतिथिको हात समाएर नाडीलाई हाँसजस्तै बनाउँदै भने – यी यस्तो । बुझेँ बुझेँ दूध भनेको त चुलेसीजस्तो पो हुँदो रहेछ – अतिथि मित्रले भने । यसरी अतिथिको बुझाइ रह्यो दूध त चुलेसी पो रहेछ ।

पछिल्लो समय एमालेको पूर्व वरिष्ठ नेतासमेत रहेका नेपालको एमाले र जबजसम्बन्धी बुझाइ यस्तै देखिएको छ । माधव नेपाल र एमाले स्वयंका लागि पनि माधव नेपालको यो बुझाइ हितकारी पक्कै होइन । अहिले दाहालको सत्कारलाई गुलावी ओछ्यान ठान्ने र एमाले, जबजलाई चुलेसी ठान्ने भूल नेपालबाट नहोस् ।

टिप्पणीहरू