शीतल निवासलाई ठाउँ साँघुरो भएपछि…

शीतल निवासलाई ठाउँ साँघुरो भएपछि…

केपीकालमा राष्ट्रसेवकहरुमाथि कतिसम्म अत्याचार हुने गरेको थियो भन्ने कुराको एउटा दृष्टान्त छ, सशस्त्र प्रहरीमा । एआइजीहरु जानकी भट्टराई, राजेश श्रेष्ठ, सुबोध अधिकारी, निराकारविक्रम शाह र खडानन्द चौधरीले पदावधि बाँकी हुँदै राजीनामा दिएर घर जानुपर्ने भयो ।

कारण हो, ‘घटुवा गरेर डिआइजी बनाइदिऊँ कि राजीनामा दिएर जाने ?’ भन्दै प्रधानमन्त्रीले हप्काउनु । डिआइजी प्रथम श्रेणी र एआइजी विशिष्ट श्रेणीका हुन्छन् । यसरी तल्लो श्रेणीमा घटुवा हुनुभन्दा राजीनामा दिनु निको लागेर बर्दीधारीहरु रुँदैरुँदै घर गए । तर, त्यसपछि त्यही सशस्त्रमा नियमानुसार नै खड्ग राई, मन्दिप श्रेष्ठ, पुष्पराम केसी, रामशरणहरुको म्याद थप भयो । सुरज श्रेष्ठ र प्रज्वल श्रेष्ठहरुलाई भने घर पठाइयो ।

नेपाल प्रहरीका कर्मचारीमात्र हैन, सिंगो संगठनमाथि भएका अत्याचारका कथा मार्मिक छ । संगठनको स्थापनाकालदेखि महाराजगञ्जमा रहेको तालिम केन्द्रलाई पनौतिमा सार्ने र त्यहाँ राष्ट्रपति कार्यालयको पार्किङ, हेलिप्याड बनाउने योजना अगाडि सारियो । जबकि, शीतल निवासमा आफ्नै धेरै क्षेत्रफल छ ।

सेनाको भैरवनाथ गण र १० बाहिनी त्यहीँ छ । सेनाको युनिट, दरबन्दी घटाउने काम भएको छैन । चार जिल्ला हेर्नलाई एउटा ब्रिगेडियर जनरल राखिन्छ । प्रदेशको पृतनालाई कमाण्डमा स्तरोन्नति गरिएको छ । प्रहरीलाई तालिम गर्ने ठाउँ पनि डाँडापारि पु¥याइदिनेदेखि दरबन्दी कटौतिमा कीर्तिमान राख्ने काम ओलीकालमा भएको पीडित प्रहरीहरुको भनाइ छ ।

लागुऔषध कानुन कार्यान्वयन महाशाखामा डिआइजीको दरबन्दी थियो । गत वर्ष त्यो कटौती भएर एसएसपीमा झारियो । देशमा अनेकथरि महिला हिंसा बढेका छन् । तर, प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयबाट दुई वर्षअघि डिआइजीको दरबन्दी हटाइयो । उपत्यका ट्राफिकमा डिआइजीको दरबन्दी कटौती गरेर एसएसपी कायम भयो ।

प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजनाजस्तो संवेदनशील युनिटबाट पनि डिआइजीलाई लखेटियो । संघीयतालाई मजबुत बनाउँदै जाने भन्ने राज्यको मान्यता छ । तर, प्रदेशमा कायम भएको एआइजी दरबन्दी कटौतीमा परेको चार वर्ष भयो । एआइजीको १३ दरबन्दी थियो, अहिले चारमा खुम्चिएको छ । आफ्नो अनुकूलतामा थपघट पनि जारी नै छ ।

प्रहरीलाई परेको सबैभन्दा ठूलो मार हो, तालिम केन्द्रको । निजामतीका कर्मचारीलाई तालिम दिने प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा छ । सशस्त्रको तालिम केन्द्र सानो गौचरणमा छ । सेनाको पनि शिवपुरी र नगरकोटमा छ । तर, प्रहरीलाई भने हेपेर पनौति पठाउन लागिएको छ राष्ट्रपतिलाई ठाउँ साँघुरो भयो भन्दै ।

टिप्पणीहरू