गगन, कति धेरै गन्ध ?

श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बद्नाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्काे प्रकरणमा बद्नाम हुँदैछ ।

हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् । खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगनभन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह सक्रिय थिए । यसरी राजेन्द्रलाई महानिर्देशक नै बनाउनुपर्ने बाध्यता गगनपत्नीलाई के परेको रहेछ भने, तीन वर्षअगाडि राजेन्द्र स्वास्थ्य मन्त्रालयमातहत बालस्वास्थ्य विभागको प्रमुख थिए । सोही समय हो, उनले गगनपत्नीलाई सेभ दी चिल्ड्रेनको प्रोग्राम अर्डिनेटर बनाइदिएको । यो युनिसेफ मातहत रही सञ्चालित आकर्षक प्रोजेक्ट हो । सेभ दी चिल्ड्रेन बालस्वास्थ्य महाशाखा मातहत रहेको सबैभन्दा बढी पैसा खोलाउन पाइने आइएनजिओसमेत हो  । यो संस्थाको को–अर्डिनेटर बनाइएकी अञ्जनालाई यसको गुन तिर्नु थियो, राजेन्द्रलाई । तीन वर्ष अगाडिको यसको हिसाब–किताब चुक्ता गर्नु थियो, गगनपत्नीलाई । त्यसको सबैभन्दा उत्तम मौका यही थियो ।

हो, सोही बदलामा उनको र गगनका ससुरा केदारनरसिंहको दबाबमा राजेन्द्रलाई गगनले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका हुन् । पन्त तिनै व्यक्ति हुन्, जो खगराज अधिकारी मन्त्री हुँदा यिनको खेलो–फड्कोबारे चाल पाएसँगै खगराजले उनलाई सुर्खेतमा सरुवा गराइदिएका थिए । रामजनम चौधरी मन्त्रीका रूपमा आएसँगै उनी आकर्षक र सबैभन्दा बढी पैसा खेलाउन पाइने बालस्वास्थ्य महाशाखामा सरुवा भएर प्रमुख बन्न आइपुगे । उनी त्यहीँ हुँदा हो बालस्वास्थ्य महाशाखाअन्तर्गत सेभ दी चिल्ड्रेनमा  अञ्जनालाई जागिर खुवाइएको । यस्तो काम फत्ते गरेर गगन हालै मात्र जेनेभातिर उडेका छन् ।

टिप्पणीहरू