महाधिवेशनको मुखमा कांग्रेसमा कोलाहल

महाधिवेशनको मुखमा कांग्रेसमा कोलाहल

क्रियाशील सदस्यता विवादलाई लिएर प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसमा निम्तिएको लफडा अझै साम्य भएको छैन । महाधिवेशनको मिति नजिकिंदै जाँदा काँग्रेसमा क्रियाशील सदस्यता विवादले उग्र रुप लिन थालेको हो । सदस्यता विवादकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएका बेला त्यसैलाई लिएर नेताहरु पार्टी कार्यालयमै धर्ना र अनशन बस्न थालेका छन् ।

क्रियाशील सदस्यतालाई लिएर प्रदेश नं.२ मा चर्को विवाद देखिएको छ । प्रदेश २ का बारा, धनुषा,सर्लाही,रौतहट जिल्लाका नेता–कार्यकर्ता लामो समयदेखि केन्द्रीय कार्यालय परिसरमा धर्ना र अनशनमा छन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित प्रक्रिया मिचेर सदस्यता वितरणमा धाँधली भएको भन्दै सच्याउन दबाब दिने उद्देश्यले अनशन बसेको उनीहरुको भनाइ छ ।

केही दिनयता आन्दोलन गर्दै आएको कांग्रेस बाराले आज पनि धर्नालाई निरन्तरता दिएको छ । क्रियाशील सदस्यता छानविन समिति बाराले जिल्लाका हजारौं कार्यकर्तालाई १४औँ महाधिवेशनबाट बन्चित गर्ने प्रयास रोक्न माग गर्दै धर्ना दिएको हो । जिल्ला सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा क्षेत्र नं. १ का क्षेत्रीय सभापति बिजयशंकर यादव,२ का रामप्रवेश यादव,३ का मुकेश कुसवाह,४ का सुनिलकुमार गुप्ता लगायतले धर्ना दिइरहेका छन् । त्यस्तै, बाराका पूर्व सांसद रामअयोध्याप्रसाद यादव नेतृत्वको टोलीले १३ औँ दिनको अर्को धर्ना कार्यक्रम आज पनि जारी राखेको छ ।उता,रौतहटको टोली पनि रिले अनशनमा बसेको छ । जिल्लाको क्षेत्र नं. १ मा पार्टी विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित सदस्यता नविकरण गरिएको,नयाँ सदस्य वितरण भएको र लोकतान्त्रिक फोरमबाट समायोजनको संख्या भन्दा बढि सदस्यता बितरण गरेको भन्दै पूर्वमन्त्री बज्रकिशोर सिंहको नेतृत्वमा डाक्टर देवचन्द्र मिश्र, महासमिति सदस्य उदयकान्त यादव,महाधिवेशन प्रतिनिधिलगायले रिले अनसन शुरु गरेका हुन् ।

त्यसैगरी,पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित प्रक्रिया मिचेर व्यापक धाँधली गरिएको भन्दै धनुषाका नेता-कार्यकर्ताले थालेको छैठौं दिनको आमरण अनसन आज पनि जारी छ । पूर्वराष्ट्रपति ड़ा रामवरण यादवका पुत्र,पूर्वसांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य रामपल्टन साह,तरुण दल जिल्ला सदस्य दिनेश नायक आमरण अनशनमा बसेका छन् ।

उक्त अनशनमा एकवद्धता जनाउन पूर्वसांसद प्रेमकिशोर प्रसाद साह,महाधिवेशन प्रतिनिधि रामउदय यादव,सवैला नगरपालिकाका नगर सभापति विजयशंकर साह, प्रदेश सभा ‘क’ सभापति संजयकुमार महत्तो, जिल्ला सदस्य साकिर राइन, रामकृष्ण मण्डललगायत सहभागी भएका छन् । सर्लाहीमा जिल्ला सभापतिले क्रियाशील सदस्यता बितरणमा अनियमितता गरेको भन्दै आज तेस्रो दिनको आमरण अनसन जारी छ । पूर्व गाउँ विकास समिति अध्यक्ष रामगोविन्द रायको अनशनलाई साथ दिन केही नेता कार्यकर्ता धर्नामा बसेको बताइएको छ ।

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै सर्लाहीका नेता–कार्यकर्ताले अमरेशकुमार सिहंमाथि कारवाही माग गर्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । सिंहमाथि पार्टी बिधान विपरित गतिविधि गरेको आरोप लागेको छ । सिंहले भने क्रियाशील सदस्यतालाई लिएर असन्तुष्टि जनाउँदै गत बुधबार सांसद पदबाट नै राजीनामा दिएका थिए ।

पार्टी कार्यालयमै नेता-कार्यकर्ता धर्ना दिन थालेपछि देउवाले चासो व्यक्त गर्नुभएको छ । उहाँले हिजै नुवाकोटका महतबन्धु डा. रामशरण महत र डा. प्रकाशशरण महतलाई अनशनकारीसँग वार्ता गरेर माग सम्बोधन गर्न जिम्मा दिनुभएको छ ।

नेपाली काँग्रेसमा क्रियाशील सदस्यलाई महाधिवेशनको पिलर मानिन्छ । क्रियाशील सदस्यले नै महाधिवेशन प्रतिनिधि चुन्ने हुँदा नेताहरुले आफू अनुकूल सदस्यता वितरण गर्ने गरेको आरोप छ । कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । तर,कतिपय जिल्लामा सदस्यता विवाद टुंगिन सकेको छैन ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । सदस्यता विवादकै कारण कार्यतालिका प्रभावित भएकाले घोषित मितिमा महाधिवेशन हुनेमा नेताहरु आशंकित हुन थालेका छन् । कार्यतालिकाअनुसार असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने हो । तर,धेरै जिल्लामा अहिलेसम्म विवाद टुंगो नलागेकाले महाधिवेशन प्रभावित हुने देखिएको छ ।

तर काँग्रेसलाई अब महाधिवेशनको मिति सार्ने सुविधा छैन । विशेष परिस्थितिमा ६ महिना महाधिवेशनको मिति सार्न सकिने संविधानको व्यवस्थाबमोजिम काँग्रेसले फागुनमा गर्ने भनेको महाधिवेशन भदौमा सारिसकेको छ ।

टिप्पणीहरू