निर्जलाका अगाडि कस्तो नमज्जा

शरत्सिंह भण्डारीको पार्टीमा महासचिव केशव झाको कारण करोडौं बुझाएर सांसद भएका दुई मान्यको रुवाबासी मच्चिएको छ । एक करोड रुपैयाँको गड्डी बुझाएर सांसद भएका दिनेश साह र ८० लाख खनखनी गनेर सांसद पद पड्काएका शरत्सिंह भण्डारीकै जिल्लावासी धर्मेन्द्र साह तेलीहरू महासचिव झाबाट पीडित भएको गुनासो निकटवर्तीको छ ।

भण्डारीलाई निर्जलाबाहेक अरू केही नचाहिने भएपछि पार्टी उनै केशव झाको कारण सिद्धिने हो कि भन्ने चिन्ताले ती मान्यमा डेरा जमाउन थालेको छ । भण्डारीले निर्जलालाई संसदीय दलको नेता मात्र बनाएनन् । पार्टीको उपाध्यक्षसम्मको जिम्मेवारी दिइसके । तर, करोडांै बुझाएर सांसद भएका दुई साह कुनै भूमिका नपाएका कारण तड्पिएका छन् । उता, शरत्सिंहले समेत निर्जला र महासचिव केशव झाको सल्लाहबमोजिम पार्टी सञ्चालन गर्न थालेसँगै रकमी सांसद भूमिका नपाएर छट्पटिन थालेका छन् । निकटस्थसँग दुबै सांसदले केशव झाका कारण पार्टीको अस्तित्व नै समाप्त हुन लागेको पीडा पोख्ने गरेका छन् ।

पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर मन्त्री बन्दै आएका भण्डारी पछिल्लो संविधानसभा चुनावमा निर्जलासँगको बाक्लो सम्बन्धमै रमाउँदा पछारिन पुगेका थिए । अहिले उनै निर्जलाको लगानीमा बर्दिवासमा बन्दै गरेको पाँचतारे होटलको रेखदेखमा व्यस्त मात्र छैनन्, त्यतै मस्त छन् । अध्यक्षको अनुपस्थिति भएपछि महासचिव झाले नै पार्टी, मोर्चादेखि गठबन्धनसम्मको बैठकमा डेरा जमाउन थालेका छन् । यतिसम्म त ठीकै थियो, मोर्चा र गठबन्धनको बैठकको समाचार सम्बन्धित बिट हेर्ने दैनिक पत्रिकाका संवाददातालाई उपलब्ध गराउँदै झाले आफूलाई रामसपाको महासचिव र मोर्चाको प्रभावशाली नेताका रूपमा चिनाउने प्रयास गरेका त छन् नै ! सरुवा–बढुवा गराइदिने ठेक्कासमेत लिँदै हिँड्न थालेपछि मोर्चा र गठबन्धनकै मधेसी नेता तीनचित्त खान थालेका छन् ।

केशवको करामत

नियतिले कसलाई कहाँबाट कहाँ पु¥याइदिन्छ भन्ने पछिल्लो दृष्टान्त हो, यो । उनै झालाई खेतीपाती गर्न सिकाउने गुरु हुन्, जेपी गुप्ता । गुप्ता सप्तरीको भारदहतिर खेतीपाती गरेर बसिरहँदा कुनै समयका उनकै चेला झाको चकचकी बढ्दै गएको छ । भोजपुरी गायन र नृत्यमा लागेका उनको कुनै पार्टीसँग साइनो सम्बन्ध थिएन । जब जेपी गुप्ताहरूले कांग्रेस त्यागेर फोरमतिर डेरा सारे, त्यही बेलादेखि जिल्लावासी (सप्तरी) को नाता लगाउँदै उनी जेपीसँग नजिकिएका । पार्टी फुटाएर जेपी सञ्चारमन्त्रीसम्म भए । केशवले आफ्नो जात देखाइहाले । टुप्पाबाट पलाएका मान्छे न परे । जेपीका यतिसम्म प्रिय र विश्वासिलो पात्र थिए कि, उनकै नाम लिएर न्युरोडका केही सुन व्यापारीसँग पैसा असुल्ने धन्दा नै चलाए । यसबीचमा जेपीको नाम लिएर चार लाखभन्दा बढी झ्वाम पारेको कुरा जेपीको कानमा प¥यो ।

यहीँ पछाडि हो जेपीले अपशब्द प्रयोग गरी ‘मेरो छेउमा देखा नपर’ भन्दै गलहत्याएका । केशवलाई नजिकबाट चिन्ने मधेसी नेताका अनुसार ‘त्यसपछि केशव राजनीतिमा निष्क्रियझैं रहे ।’ झन्डै चार वर्षको निष्क्रिय जीवन पछाडि उनी शरत्सिंह भण्डारीको पार्टीमा प्रवेश गरे । पार्टीमा आफू मात्र प्रवेश गरेनन्, त्यो समय महासचिव तथा पूर्वसांसद ओमप्रकाश यादवलाई गलहत्याए । र, सोही पद उनले कब्जा गरे । उनलाई नजिकबाट चिन्ने एक मधेसी नेता भन्छन्, ‘केशव झा जत्तिको छुप्पेरुस्तम कोही छैन ।’

टिप्पणीहरू