बहिर्गमित लडाकू फेरि पुगे बालुवाटार

बहिर्गमित लडाकू फेरि पुगे बालुवाटार

विभिन्न माग राखी आन्दोलन गरिरहेको बहिर्गमित जनमुक्ति सेनाले आफ्ना मागबारे नयाँ सरकारको ध्यानाकर्षण गराएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटार पुगी बहिर्गमित जनमुक्ति सेनाको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

बहिर्गमित जनमुक्ति सेनाका प्रवक्ता तथा उपाध्यक्ष राजन थापा ‘सुवास’ ले लामो समयदेखि उठाउँदै आएको माग र मुद्दाबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिए । अघिल्लो ओली सरकारले लोकतान्त्रिक योध्दा अभिलेखिकरण सम्मान समिति गठन गरी काम अघि बढाएको र त्यसलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताएका छन् ।

साथै सम्बोधन हुन बाँकी आफ्ना मागका बारेमा समेत प्रधानमन्त्री देउवासँग छलफल भएको थापाले जानकारी दिए । आफूहरुले उठाएको मुद्दामा प्रधानमन्त्री देउवा सकारात्मक भएको समेत उनले बताए । उनका अनुसार प्रधानमन्त्रीले अधुरो शान्ति प्रक्रियालाई पूर्णताः दिने र बहिर्गमित जनमुक्ति सेनाले उठाउँदै आएका मुद्दालाई सम्बोधन गर्ने प्रतिबध्दता जनाउनु भएको छ ।

तत्कालीन नेकपा माओवादीले शुरू गरेको १० वर्षे जनयुध्दपश्चात् भएको शान्ति–सम्झौता र माओवादी लडाकु व्यवस्थापनमा सरकार–माओवादीबीच भएको सहमतिअनुसार राष्ट्रसंघीय मिसन अनमिनले क्यान्टोन्मेन्टमा रहेका माओवादी सेनाको प्रमाणिकरण गरेको थियो । प्रमाणिकरणका क्रममा चार हजार ९ जना लडाकूलाई अयोग्य ठहर गरिएको थियो ।

अयोग्य घोषित ती लडाकूलाई २०६६ सालमा सरकारले घर पठाएपछि रुष्ट बन्दै आएका बहिर्गमित तिनले आफ्ना माग सम्बोधन गराउन पटक–पटक सडक संघर्षसमेत गर्दै आएको छ ।

टिप्पणीहरू