सिरिखुरी, अदालतले तिरिमिरी « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

सिरिखुरी, अदालतले तिरिमिरी

प्रकाशित मिति :  १५ माघ २०७३, शनिबार ०८:१६


बौद्ध, महांकाल–६ की ३४ वर्षीय भक्ति श्रेष्ठ तब झस्किइन्, जब उनका काका घर तत्काल खाली गर्न प्रहरी लिएर आइपुगे । माइतीले दिएको जग्गामा ऋण काढेर बनाएको घर खाली गर्न प्रहरीले दिएको आदेशलाई सुरुमा त उनले पत्याउनै सकिनन् । तर, जब काठमाडौं जिल्ला अदालतको फैसाला पत्र तेस्र्याउँदै काका नयन श्रेष्ठ सामुन्ने उभिए, उनी छाँगाबाट झरेझैँ भइन् ।

भेउ नपाएकी उनलाई घटनाको रहस्य बुझ्न अब उत्सुकता जाग्यो । हुर्रिंदै श्रीमान् झलककहाँ पुगिन् । तर, उनले पनि घटनाको भेउ पाउन सकेनन् । प्रहरीको गतिवधिले खैलाबैला मच्चियो । टोलछिमेक घटनास्थलमा जम्मा भए । सबैको सामुन्ने प्रहरीले अदालतको आदेश पत्र देखाउँदै भन्यो, ‘हामी त कानुन कार्यान्वयन गर्ने निकाय । अदालतको फैसलाअनुसार यो घरमा अब नयन श्रेष्ठको हक लाग्छ । फैसला पत्रमा यही लेखिएको छ । त्यसैले घर खाली गर्न हामी आएका हौँ ।’

अर्को पटक पुनः आउने भन्दै प्रहरी बाटो लाग्यो । अदालतको फैसला पत्र भने त्यहीँ छाडेर गयो । वातावरण केहीबेरमै शान्त बन्यो । तर, उनको परिवारमा प्रहरीको आदेशले तनाव छायो । घटनाबारे छलफल भयो । निष्कर्ष निस्क्यो, अदालतको फैसलाबारे वकिलसँग परामर्श लिने ।
अदालतको फैसला पत्र लिएर उनका श्रीमान् झलक वकिलकहाँ पुगे । बल्ल पो थाहा पाए, श्रीमतीको दाइजोमा पाएको जग्गामा ऋण काढेर बनाएको घर त काका नयनले तीन वर्षअघि नै आफ्नो बनाइसकेछन् ।

झलकका अनुसार काका नयनले ४ जेठ ०६९ मा काठमाडौं जिल्ला अदालतमा अंशको हकदाबी गर्दै मुद्दा हाले । पेसाले वकिल नयनले मुद्दामा आफंै बहस गरे । तर, भतिजालाई त्यसबारे थाहै दिएनन् । मुद्दाको विपक्षमा बोल्ने कोही नभएपछि अदालतले वकालतकर्ता नयनकै पक्षमा ६ चैत ०७० मा मुद्दा फैसला ग¥यो । मुद्दा फैसलामा पुनरावेदन हुन सक्ने भएपछि केही महिना नयन चुपचाप बसे । जब, पुनरावेदनको म्याद सकियो अनि अदालतको फैसला पत्र लिएर उनी प्रहरी लिएर भतिजकहाँ पुगे ।

षड्यन्त्रपूर्वक काकाले महलबाट सडकमा उतारको दुखेसो गर्दै झलकले भने, ‘जग्गा श्रीमतीको हो । घर ऋण गरेर बनाएको हुँ । अझै तिर्न सकेको छैन । घर भाइहरूको पनि नाममा छ । ऋण तिर्न दैनिक ज्यामी काम गर्छु । काकाले षड्यन्त्र गरे । दुःख गरी बनाएको घर जाने भयो । हामी त अब सडकमै पुग्ने भयौं ।’

झलकको पुख्र्यौली घर दोलखा बाबरे–३ हो । काका नयनसँग उनको परिवार २२ जेठ ०५४ मै छुट्टिएका हुन् । अंशबन्डा पनि त्यहीवेला भएको हो । छुट्टाछुट्टै तिरो तिरेको कागजपत्र अझै उनीसँग छ । ०५० सालमा भएको नापीमा काका नयन र उनको परिवारले आ–आफ्नै नाममा जग्गा नापी गरे । त्यसको प्रमाण पनि उनीसँग छ । काठमाडौंको बौद्ध महांकाल–६ स्थित जग्गा उनले ०६२ मा पाएका हुन् । जग्गमा घर भने ०६७ मा बनाए । तर, काका नयनले अंशबन्डा गरिपाऊँ भन्दै त्यही जग्गामा मुद्दा हाले ।

आँखाबाट आँसु झार्दै उनले भने, ‘हाम्रो पुख्र्यौली घर दोलखा हो । काका र हाम्रो परिवार पहिले नै भिन्न भएको हो । अंशबन्डा पनि त्यही बेला भएको हो । त्यसको प्रमाण हामीसँग अझै छ । तर, काकाले अंशबन्डा भएकै छैन भनी काठमाडौंको जग्गामा मुद्दा हालेछन् । त्यसको रहस्य मुद्दा जितेपछि पो थाहा भयो । काकाले साह्रै अन्याय गरे । हाम्रो त बिल्लीबाठ हुने भयो । अब हामी उजुुरी गर्न कहाँ जाने ?’


प्रतिक्रिया दिनुहोस !