चेली बेच्नेहरूको डरलाग्दो नालिबेली

सुन्दा फिल्मी कथाजस्तो लाग्ने घटना छ, काठमाडौंमै । जतिसुकै संघसंस्था खुलेर रोकथाम र नियन्त्रणका लागि पहल भए पनि नेपालको ग्रामीण भेगका चेलीबेटी मुम्बईका कोठीमा बेचिने क्रम घटेको रहेनछ, झन् बढेको छ । एउटा यस्तै विकराल कथा हो यो ।

गोरखाकी २८ वर्षीया सरिता देवकोटालाई मुम्बईको भिमण्डी सहरस्थित एक बिल्डिङमा वर्षौंदेखि धन्दा सञ्चालन गर्ने माया तामाङको कोठीमा भेट्टाए, रुकुमका प्रताप विष्टले । उनले पहिला सरितासँग तीन हजार रुपैयाँ तिरेर त्यहीँ नियमित यौनसम्पर्क राख्थे । तर, सरिताको यौनशैलीले आकर्षित गरेपछि दुई दिनका लागि ४० हजार तिरेर सरितालाई कोठीबाहिर ल्याई राखे । दुई रातको सम्पर्कले सायद पुगेन, फेरि केही रात बस्न भने । तर, कोठीभित्र सरिता मात्र थिइनन्, उनैले जन्माएका १२ र १३ वर्षका दुई छोरी पनि थिए । तिनलाई पछि आफैँले ल्याउन पहल गर्ने भन्दै प्रतापले सरितालाई फकाइफुल्याई नेपाल फर्काए ।

सरिताको कथा कस्तो भने, उनी गोरखाकी । बाबुले अर्की आमा ल्याएपछि घरबाट निकालिइन् । पोखरा बसपार्कको एउटा होटलमा भाँडा माझ्ने काम थालिन् । त्यहाँ भाँडा मात्र माझिदैनथ्यो, यातायात मजदुरको ज्यान र मन बिसाउने ठाउँ पनि रहेछ । ग्राहकको रूपमा सरिताले एउटा ड्राइभरलाई भेटिन्, दोलखा घर भएका । तिनले उनीसँग रात मात्र बिताएनन्, १४ वर्षकै उमेरमा विवाह पनि गरे । सरिता पतिको साथ लागेर दोलखा गइन् । तर, केटोले अर्की केटी ल्याएपछि सरिता भागेर काठमाडौं फर्किइन् । काठमाडौंमा डेरा थियो । केटा सरितालाई खोज्दै काठमाडौं आइपुग्यो । केटोले कुट्ला र मार्ला भन्ने डरले ५ र ६ वर्षीया दुई छोरीलाई कोठामै छाडेर उनी त्यहाँबाट भागिन्, ०६८ भदौ, अर्थात् तिजको बेला । जावलाखेलमा आफन्तकहाँ बसिन् । तर, केही दिनमै खबर सुनिन्, ६ वर्षीया छोरीलाई आफ्नै बाबु अर्थात् सरितालाई विवाह गर्ने ड्राइभरले बलात्कार गरेको कुरा । बलात्कार गरेर भागेको अवस्थामा उनलाई प्रहरी वृत्त ठिमीको टोलीले समात्यो । बलात्कारपछि रगतको आहालमा बगेकी छोरीलाई थापाथली अस्पतालमा ६ महिना लगाएर उपचार गरिन् ।

शरीरमा ९ वटा टाँका लगाइएको थियो । अस्पतालबाट फर्किएपछि कामको खोजीका क्रममा विभिन्न होटल धाउने क्रममा मुम्बईमा जागिर दिलाइदिने मान्छे भेटिए । तिनको नाम सरितालाई सम्झना छैन । ५ महिनाअघि प्रताप विष्टले उनलाई काठमाडौं ल्याएर अपराध महाशाखाको पिलर नं. ९ मा बुझाएपछि प्रहरीले उनको रेखदेख गर्न रक्षा नेपाल नामक संस्थालाई बुझाइदियो । तर, सरितालाई एचआइभी एड्स रोगले गाँजिसकेको थियो । रक्षाले एचआइभी लागेको अवस्थाका महिलाको सेवा दिने गर्दैन । त्यसैले रक्षा नेपालको सिफारिसमा सरिता पठाइन्, सुरक्षित परिवार नामक अर्को संस्थामा । एचआइभी भएका कारण सुरक्षित परिवारले औषधि सेवनका लागि सरितालाई टेकु अस्पताल जाने अनुमति दिन्थ्यो । टेकु जाने क्रममा उनी रत्नपार्कतिर पनि समय बिताउँथिन् । रत्नपार्क चेलीबेटी बेचबिखनको मुख्य केन्द्र (हव) मानिन्छ । भनिन्छ, बेच्ने र किन्नेहरूको त्यहाँ मेला नै लाग्छ । सरिताले त्यहीँ भेटिन्, स्वयम्भूका मच्छेकाजी मानन्धरलाई । काठमाडौंभित्रै चार÷पाँच वटा घर भएका मच्छेकाजीको मुख्य पेसा नै रत्नपार्ककेन्द्रित चेलीबेटी ओसारपसार हो ।

‘सर्पको खुट्टा सर्पले मात्रै देख्छ’ भनेजस्तो सरितालाई देख्नासाथ मच्छेकाजी उनको पछि लागिहाले । मच्छेकाजीले भेट्नासाथ सरितालाई १२ हजारको सामसुङ मोबाइल, ८ हजार पर्ने हाते ब्याग, ४५ सयको कुर्ता–सुरुवाल किनिदिए । यसबापत सरिताले मच्छेकाजीलाई तुरुन्तै ‘काभ्रेतिर जाऔँ’ भन्दै धुलिखेल पु¥याइन् । धुलिखेलको एक होटलमा बसेर केही मानिसलाई फोन गरिन् । त्यो रात उनीहरूले त्यहीँ बिताए । भोलिपल्ट दिउँसो एक जना व्यक्तिले धुलिखेल बसपार्कमा सरितालाई बोलाए । मच्छेकाजीसँग एक लाख रुपैयाँ लिएर सरिता त्यहाँ पुगिन् । र, ल्याइन् १६ वर्ष नकटेका दुई युवती । ती युवती मच्छेकाजीको जिम्मा लगाइन् । काठमाडौं फर्किएपछि सरिता सुरक्षित परिवारकै सेल्टरमा फर्किन् । दुई दिन किन हराएको भनी सोधिँदा उनले ‘आफन्त भेट्नु थियो’ भनी जवाफ दिइन् । उनी त्यहाँ फर्किएको भोलिपल्ट त्यही सरिता फेरि हराइन्, सेल्टरमा सडक बालिकाका रूपमा उद्धार गरिएकी १५ वर्षीया रीता कुमालसँगै । संस्थाले प्रहरीमा उजुरी ग¥यो । तर, केही दिनपछि सरिता आफैँ फर्किइन् । उनीसँगै हिँडेकी रीता भने साथमा थिइनन् ।

संस्थाका सञ्चालकले सोधखोज गर्दा अनभिज्ञता जाहेर गरिन् । र, सरितालाई प्रहरीमा बुझाइदिए । प्रहरीलाई उनले भनिन्, रीतालाई मच्छेकाजीको जिम्मा लगाएको कुरा । यसपछि मच्छेकाजी पक्राउ परे । मच्छेकाजीले पनि रीता आफूसँग सम्पर्कमा आएको स्विकारे । तर, ‘जान्छु पनि नभनी उनी कता गइन्, कता…’ कुरा लुकाए । प्रहरीले अनेक तवरबाट रीताको अवस्थाबारे सोध्यो । तर, उनीहरूले बताएनन् । चेलीबेटी बेचविखनको कसुरमा प्रहरीले उनीहरूलाई मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतले मच्छेकाजी र सरितालाई गत सोमबार (३ माघ) मा पुर्पक्षका लागि कारागार चलान ग¥यो । अहिले मच्छेकाजी केन्द्रीय कारागार र सरिता महिला बन्दीगृह सुन्धारामा छन् । जेल पुग्दासम्म उनीहरूले रीतालाई कहाँ पठाएको हो भन्नेबारे केही बताएका छैनन् । सरिताले अहिलेसम्म आफूलाई उद्धार गर्ने प्रताप विष्ट रुकुमका हुन् भन्ने मात्र बताएकी छन् । उनको काम, पेसा र अन्य जानकारी दिएकी छैनन् । मच्छेकाजीसँग धेरै पुरानो चिनजान भएको बताएकी छन् ।

टिप्पणीहरू