‘रेट’ ले गर्दा रेटिनेहरू

पहिला केही दृष्टान्त हेरौँ त !
– पुस २६ गते २ नं. नापी टोली, टीकाथली ललितपुरका प्रमुख नापी अधिकृत प्रेमचन्द्र झा एक लाख ५० हजार घुस लिँदालिँदै पक्राउ परे ।
– माघ २ गते नापी कार्यालय टोखाका सर्वेक्षक गणेश मिश्र एक लाख घुस लिँदालिँदै पक्राउ परे ।
– नापी कार्यालय कलंकीका सर्वेक्षक मचाकाजी महर्जन घुस लिँदालिँदै पक्राउ परे ।

यी तीन घटना हालसालैका हुन् । यसअघि चाबहिल नापी कार्यालयका प्रमुख हजारी यादव १९ असोजमा दुई लाख घुससहित पक्राउ परे । हजारीभन्दा पहिल्यै मनमैजु नापी कार्यालयका सर्वेक्षक कमलबहादुर खत्री २० हजार घुससहित पक्राउ परे । त्यहीँका अर्का सर्वेक्षक हरि तिवारी र रामप्रमोद महासेठ एक लाख घुससहित पक्राउ परे ।

नापी कार्यालयमा ६ महिनाबीच यी घुस काण्डको जडी हो, खुलेआम भ्रष्टाचार । अर्थात्, सरुवामा १० देखि १५ लाखसम्म घुस बुझाउनुपर्ने । माथि पैसा बुझाएर जागिर खान गएको मान्छेले बुझाएको पैसा त उठाउनुप¥यो ! नापी अधिकृतले १० र प्रमुख नापी अधिकृत (कार्यालय प्रमुख) ले १५ लाख बुझाउनुपर्ने, नभए पोस्टिङ माया मार्नुपर्ने गरी नापी विभागका महानिर्देशक कृष्णराज बिसीले तय गरेको रेट हो यो । र, यही ‘रेट’ ले सन्तान र दुलही पाल्नुपर्ने विचरा कर्मचारी रंगेहात रेटिएका रेटियै छन् ।

सरुवा हुनासाथ मिल्दै नमिल्ने, नियम र कानुन पनि मिचेर काम गर्छन् । टोखामा पक्राउ परेका गणेश मिश्रलाई मन्त्री विक्रम पाण्डेका पिए कृष्ण बलायर, महानिर्देशक बिसी र निलम्बित कर्मचारी कमल खत्रीले महिनामै करोडौँ कमाइ हुन्छ भनेर कञ्चनपुरबाट सरुवा गरेर ल्याए । असोजमा ल्याए, पुसमा रंगेहात !

सबुतसहित समातिएका कारण अब मुद्दा जित्ने गुञ्जायस पनि कम छ । १४ असोजको सरुवामा यसरी झन्डै १० करोड रुपैयाँ उठेको नापी स्रोतले जनाएको छ । पहिले पैसामा कुरा नमिलेकालाई अहिले सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर धमाधम सरुवा गरिँदै छ । सामान्यतिर पनि पैसाको खेलो यसरी मौलाएको छ कि, पैसा चम्किनु मात्र पर्छ अवधि नपुगेका सरुवा भटाभट चल्छ !

टिप्पणीहरू