‘ओलीको बुध्दिले नेकपा फुट्यो’

‘ओलीको बुध्दिले नेकपा फुट्यो’

नेपालमा मार्क्सवादको व्याख्याता मानिने पुराना कम्युनिष्ट नेता मोहन वैद्य किरणले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र नेकपा एमालेभित्रको किचलोको निम्ति केपी ओली जिम्मेवार रहेको बताउनुभएको छ । ओलीको दम्भ र अहंकारका कारण नेकपा विभाजनमा पुगेको र नेकपाको सरकार ढलेको बैद्यको भनाई छ ।

हिजो राति एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले ओलीको आफ्नै बिद्धिले सरकारबाट बाहिरिनुपरेको पनि बताउनुभयो । ‘ओलीजीको बिद्धि नभएकाले नेकपा फुट्यो । त्यत्रो नेता भएर उहाँले मिलाउनुपर्थ्यो । पार्टी फुटेपछि सरकार जान्छ भन्ने उहाँलाई थाहा थियो,’ उहाँले भन्नुभयो ।

‘भोलि चुनावमा हार्ने अवस्था आयो भने उहाँहरू मिल्न पनि सक्नुहुन्छ ।’

आफैंले गरेका सहमति कार्यान्वयन नगरेका कारण पार्टी विभाजित भएकाले त्यसको दोषी ओली नै हुने वैद्यको भनाई छ । ‘सरकारमा बसिरहन पनि चाहने, सहमति गर्ने अनि तोड्दै हिँड्ने । त्यसकारण बढी दोषी ओलीजी नै हो,’ उहाँले भन्नुभयो ।

नेकपाको विभाजन र अहिलेको एमालेको अन्तरकलह सैद्धान्तिक मतभिन्नताले नभई व्यक्तिगत इगोका कारण भएको उहाँको भनाई छ । ‘उहाँ (प्रचण्ड, ओली र माधव) हरूको झगडा सैद्धान्तिक, वैचारिक होइन, त्यसैले भविष्यमा फेरि एकता हुनसक्छ । बाटो उही हो लाइन उही हो,बेकारको झगडा,’ उहाँले भन्नुभयो ।

“सरकारमा बसिरहन पनि चाहने, सहमति गर्ने अनि तोड्दै हिँड्ने । त्यसकारण बढी दोषी ओलीजी नै हो,’

एमालेमा अहिले देखिएको विवादलाई वैद्यले चियाको कपभित्रको तुफानको संज्ञा दिनुभयो । ‘उहाँहरूको झगडा चियाको कपभित्रको तुफान जस्तै हो । त्यसले केही गर्दैन’, उहाँले भन्नुभयो, ‘भोलि चुनावमा हार्ने अवस्था आयो भने उहाँहरू मिल्न पनि सक्नुहुन्छ ।’ यद्यपि अहिले नै मिल्ने सम्भावना भने कमजोर देखिएको उहाँको विश्लेषण छ ।

एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लालगद्दार भनेको प्रसंगमा वैद्यले आफैं लालगद्दार भएकाले अरुलाई भन्न नसुहाउने टिप्पणी गर्नुभएको छ ।

“बाटो उही हो लाइन उही हो,बेकारको झगडा,’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरुसमेत मानिने वैद्यले नेपालमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी हुनुपर्नेमा पनि जोड दिनुभयो । संसद मान्ने कम्युनिष्ट पार्टीहरू एक ठाउँमा र सडकमा रहेका कम्युनिष्टहरू अर्को ठाउँमा एक भएर दुई वटा कम्युनिष्ट शक्ति बनाउन सकिने उहाँको भनाई छ ।

महासचिव वैद्यले अहिले विभाजित भएका संसदवादी कम्युनिष्ट पार्टीहरू छिट्टै एक हुने विश्वास पनि व्यक्त गर्नुभयो । एउटै विचार भएकाले विभाजित हुन आवश्यक नरहेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू