टाउको गिन्ती रोक्न माग गर्दै महन्थ अदालतमा

टाउको गिन्ती रोक्न माग गर्दै महन्थ अदालतमा

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर अदालत पुगेका छन् । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै ठाकुरपक्ष रिट लिएर सर्वोच्च अदालत गएको हो ।

जसपाको आधिकारिकता विवादमा सोमबार निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखत गराउने निर्णय गरेको छ । कार्यकारिणी र संसदीय दल दुबैतिर अल्पमतमा परेपछि ठाकुर खेमा अदालतको शरणमा पुगेको हो ।

ठाकुरका तफर्बाट दायर रिटमा जसपा विवाद निरुपणका लागि साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

सत्ता गठवन्धनलाई लिएर दुई धारमा विभाजित भएको जसपामा ठाकुर खेमा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि विवाद चर्किएको थियो । अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा सहभागी हुनेहरुलाई कारवाही गरेपछि विवाद थप उत्कर्षमा पुगेको थियो । दुवै पक्षले एकले अर्कालाई गरेको कारवाहीको जानकारी निर्वाचन आयोगलाई गराएका थिए ।

आयोगले दुवै पक्षको कारवाहीलाई मान्यता नदिएपछि यादव पक्षले आधिकारिकता दाबी गर्दै अर्को निवेदन दिएको थियो । आधिकारिकता सम्बन्धमा निर्णय लिन आयोगले सोमबार हेड काउन्ट गर्दैछ ।

यसअघि आयोगले सहमति कायम गर्न गरेको आग्रह दुवै पक्षले अस्वीकार गर्दै कानूनअनुसार हुने निर्णय स्वीकार गर्ने बताएका थिए । सोहीबमोजिम आयोगले इजलास गठन गरेर सुनुवाइ गरेको थियो । आयोगले हिजो विवाद उत्पन्न हुनुअघिको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाउने निर्णय गरेको थियो ।

विवाद उत्पन्न भएपछि एकलौटी हेरफेर गरेको कमिटीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ठाकुर समूह अदालत गएको बताइन्छ ।

टिप्पणीहरू