देश त्यसै कसरी कंगाल हुन्छ र ?

बैंकमा ऋण लगानी गर्ने रकम नभएको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले चाहेजति ऋण लिन केन्द्रीय बैंक आउन उर्दी जारी ग¥यो । तर, निजी क्षेत्रका बैंकर पनि के कम, उनै गभर्नर अध्यक्ष रहेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यलाई नै केन्द्रीय बैंकविरुद्ध परिचालन गराइछाडे । गत बुधबारको बैंक सञ्चालक समितिको बैठकमा एकाएक सञ्चालक निजी क्षेत्रको बैंकको एजेन्डामा प्रस्तुत भएपछि गभर्नर चिरञ्जीवी नेपाल र अर्थसचिव शान्तराज सुवेदी जिल्ल परे ।

राष्ट्र बैंकका सञ्चालकमध्ये एउटा नाम चलेकै बैंकका अध्यक्षको ससुरा छन् । उही नाम चलेकै बैंकको ठूलो तहमा पुगेकी आफ्नी श्रीमतीका कारण डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि नुनको सोझो गरिरहेका छन् । उता, आफ्नोभन्दा अन्य बैंकको मेजमानीमा रमाउने गरेका अर्का डेपुटी शिवराज श्रेष्ठले पनि पछिल्लो केही बैठकदेखि प्राइम बैंकलगायत बैंकको पक्षपोषण गर्दै आएकै हुन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका सञ्चालक डा. श्रीराम पौडेलले समेत घुमाउरो पाराले बैठकमा निजी क्षेत्रका बैंकलाई गति छाडेरै भए पनि सहयोग पुग्ने नीतिको तर्जुमा गर्नुपर्नेमा जोड दिए । तर, अनुसन्धान विभागका प्रमुख नरबहादुर थापालगायत केही कार्यकारी निर्देशकले केन्द्रीय बैंकको बचाउमा बोलेपछि सञ्चालक समितिको बैठकको माहोल एकाएक गर्मागर्मीमा परिणत भएको स्रोत बताउँछ ।

बैंकले अहिलेको मेसोमा केन्द्रीय बैंकको सिडी रेसियोसम्बन्धी विद्यमान ८० प्रतिशतको निर्देशनको सट्टा ८५ पु¥याउन कम्मर कसेर राष्ट्र बैंककै सञ्चालकलाई प्रभावमा पारेका छन् । सञ्चालक समितिका सात जनामध्ये एक जना अदालतको आदेशपछि निलम्बनमा परेका र बाँकी ६ जनामध्ये गभर्नर र अर्थसचिवबाहेक अरूलाई आफ्नो पक्षमा पारेपछि नेपाल राष्ट्र बैंकलाई अप्ठ्यारोमा पारेर आफ्नो अनुकूलको मौद्रिक नीति र निर्देशन तर्जुमा गर्ने रणनीतिमा अधिकांश बैंकर देखिएका हुन् । यता, पूर्वगभर्नरले चाहिँ निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको चंगुलमा राष्ट्र बैंक फस्ने अवस्था रहेको भन्दै सचेत गराइसकेका छन् । नीति निर्माण तहमा रहेकाहरू नै सर्वसाधारणको हितमा भन्दा ठूला लगानीकर्ता र व्यवसायीको पक्षपोषणमा लागेपछि मुलुकको अर्थतन्त्र अधोगतितर्फ लागेको छ ।

नक्कली कारोबारका कारण सेयर बजार ओरालो लागेको छ । घरजग्गा व्यवसायमा पनि मन्दी छाउन थालिसकेको छ । वास्तविक तथा साना व्यवसायीले ऋण पाउन छाडेका छन् । नक्कली ऋणीले उपभोग गरेको ऋणको हालत देखिन थालेको छ । यस्तो अवस्थामा केन्द्रीय बैंकको सञ्चालक समितिले नगद तरलताको नाममा वित्तीय बजारमा देखिएको अहिलेको नक्कली समस्याको आडमा आफ्नै उच्च अधिकारीले गरेको चलखेललाई पन्छाउँदै समस्यालाई कसरी पार लगाउला ? सर्वत्र चासो छ ।

टिप्पणीहरू