काँग्रेस राजीनामा दिने साँसदमाथि कार्वाहीको माग,नेताहरुको आमरण अनशन जारी

काँग्रेस राजीनामा दिने साँसदमाथि कार्वाहीको माग,नेताहरुको आमरण अनशन जारी

महाधिवेशनको मिति नजिकिंदै जाँदा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवादले उग्र रुप लिन थालेको छ । सदस्यता विवादकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएका बेला त्यसैलाई लिएर ठाउँ–ठाउँमा आन्दोलन हुन लागेको हो ।

क्रियाशील सदस्यतालाई लिएर प्रदेश नं.२ मा चर्को विवाद देखिएको छ । प्रदेश २ का बारा, धनुषा,सर्लाही,रौतहट जिल्लाका नेता–कार्यकर्ता लामो समयदेखि केन्द्रीय कार्यालय परिसरमा धर्ना र अनशनमा छन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित प्रक्रिया मिचेर सदस्यता वितरणमा धाँधली भएको भन्दै सच्याउन दबाब दिने उद्देश्यले अनशन बसेको उनीहरुको भनाइ छ ।

रौतहट क्षेत्र नं. १ मा सदस्यता वितरणमा व्यापक धाँधली भएको र पार्टीको तहगत निर्णय नगरी एकपक्षीय रुपमा नयाँ सदस्यता बाँडिएको आरोप लगाउँदै पूर्वमन्त्री वरचकिशोर सिंहको नेतृत्वमा आजदेखि रिले अनशन शुरु भएको हो । अनशनमा डा.देवचन्द्र मिश्र,उदयकान्त यादवलगायत डेढ दर्जन नेता सहभागी छन् ।

त्यसैगरी,बारा जिल्लामा पनि सदस्यता वितरणमा धाँधली भएको भन्दै थालिएको आमरण अनशन आज छैठौँ दिन जारी छ । काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा स्थानीय नेता–कार्यकर्ता अनशनमा बसेका हुन् । जिल्ला कार्यसमितिले निर्णय गरेर पठाएको क्रियाशील सदस्य मापदण्डअनुसार नै रहेकोले ती सदर हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले जिल्लाले पठाएको फाइल सदर नगरेसम्म धर्ना नरोक्ने चेतावनी दिएका छन् ।

यता,धनुषाको क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र पूर्वसांसद डा.चन्द्रमोहन यादवसहितका नेताहरु अनशनमा बसेका छन् । अनशनमा रामपल्टन साह,दिनेश नायकलगायत छन् ।

त्यस्तै,बारा जिल्लाका पूर्वसांसद रामअयोध्याप्रसाद यादव नेतृत्वको १३औं दिनको धर्ना कार्यक्रम आज पनि जारी राखिएको छ । सर्लाहीका पूर्वजिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा पाँचौ दिनको धर्ना कार्यक्रम आज यथावत छ ।

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै सर्लाहीका नेता–कार्यकर्ताले अमरेशकुमार सिहंमाथि कारवाही माग गर्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । सिंहमाथि पार्टी बिधान विपरित गतिविधि गरेको आरोप लागेको छ ।

सिंहले भने क्रियाशील सदस्यतालाई लिएर असन्तुष्टि जनाउँदै गत बुधबार सांसद पदबाट नै राजीनामा दिएका छन् ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । सदस्यता विवादकै कारण कार्यतालिका प्रभावित भएकाले घोषित मितिमा महाधिवेशन हुनेमा नेताहरु थप आशंकित हुन थालेका छन् । कार्यतालिकाअनुसार असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने हो । तर, धेरै जिल्लामा अहिलेसम्म विवाद टुंगो नलागेकाले महाधिवेशन प्रभावित हुने देखिएको छ ।

तर, काँग्रेसलाई अब महाधिवेशनको मिति सार्ने सुविधा छैन । विशेष परिस्थितिमा ६ महिना महाधिवेशनको मिति सार्न सकिने संविधानको व्यवस्थाबमोजिम काँग्रेसले फागुनमा गर्ने भनेको महाधिवेशन भदौमा सारिसकेको छ ।

टिप्पणीहरू