हामी भने त्यही गीत गाइरहन्छांै « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

हामी भने त्यही गीत गाइरहन्छांै

प्रकाशित मिति :  ६ माघ २०७३, बिहीबार ०८:४९


  • नारायण नेपाल

जनजीवन विस्तारै सामान्यतिर आउँदै थियो । माओवादी पार्टीभित्र थाती रहेका बहस पनि चल्न थालेका थिए । जिल्ला पार्टीभित्रको अन्तरविरोध बल्झिन थालेका थिए । मनभित्र आलु खाने इच्छा राख्नेहरू मुुखमा  भने पिँडालु भन्दै थिए । बाहिर मुखले ठिक्क पार्दै नेता आफ्नो अर्को पक्षका कार्यकर्तालाई छानी–छानी कैंची मार्दै थिए । पार्टीभित्रका एकाथरी मान्छेलाई टाउको दुखाइको विषय बनेको थियो, हामीले चलाएको त्रिशूली आवाज मासिक पत्रिका ।

काठमाडौं बुद्ध नगरको बुइँगलदेखि नुवाकोट बट्टार कलेजको हलसम्म व्यापक बहस र छलफल भए । त्रिशूली आवाज मासिक र अमृता थापामगर आयोगको प्रतिवेदन कार्यान्वयनसम्बन्धी एजेण्डा थिए । नेताका उपदेशभन्दा कार्यकर्ताका दुईवटा निश्कर्ष रोचक थियो– त्रिशूली आवाज चाउथेको खरबारी होइन र अमृता आयोगको निष्कर्ष भैरवी पञ्चायतको फैसलाजस्तै हो । माओवादीको पोखरा बैठकमा अवसरवादी स्वार्थमा क्रान्तिकारीले तुषारापात गरेपछि चुनाव बहिष्कारको अन्तिम निर्णयमा पार्टी एकमतसाथ पुगेको थियो । चुनाव उपयोग गर्ने बहानामा संसद्को भत्ता थाप्न सपना देख्नेहरूको निंदहराम भएको थियो ।

चुनावको एक दिनपहिले केही नेताले हेडक्वार्टरको नाममा प्रचण्डको विरोधी पार्टीका नेतालाई भोट हाल्न मोबाइलमा सन्देश पठाएका थिए । हामीले त्यसको प्रतिवाद गर्यौं र त्रिशूली आवाजले सो सन्देशसहितको सामग्री प्रकाशन ग¥यो । एकथरी नेता त्यो देखेर तिल्मिलाए ।
हुन त त्रिशूली आवाज जन्मँदै नुवाकोट एमाओवादी पार्टीभित्र विवाद र बहस थिए । पत्रिका सञ्चालनको अनुमति माग्न जाँदा जिल्ला इञ्चार्ज लक्ष्मी मुडभरीले सेरेमोनियल भूमिकामा भएको भन्दै निरीहता प्रकट गरेकी थिइन् । तर, अरूजस्तै प्रकाशनमाथि प्रतिबन्ध लगाउने पक्षमा भने नभएको संकेत गरिन् । पार्टीभित्रै प्रतिपक्षी दलको मुखपत्रका रूपमा हामीले प्रकाशन आरम्भ गरेका थियांै ।

यतिवेला पार्टी अलग । विचार छ, कार्यदिशा र राजनीति अलग छ । उनै लक्ष्मी हाम्रो नेता छिन् । पार्टीमा विचार समूह, गुट र नयाँ पार्टीको भु्रणमा पदीय लोलुपता र अवसरवाद प्रवेश गरेको थियो ।

पत्रिकाले पार्टीभित्रका दहीच्यूरे छेपारे प्रवृत्तिको भण्डाफोर गर्दा पत्रिका जलाउँछौं, च्यात्छांै भन्दै बुद्धनगरको बुइँगलमा आइलागे । नेता हनुमान उफ्राइमा आनन्द लिँदै खडा थिए, गणेशको प्रतिमाझैं । साह्रै असैह्य हुँदै थियो, कमरेड वृषले काउण्टर जवाफ दिए, तिमीहरूको चाउथेको खरबारी हो त्रिशूली आवाज मन लाग्दा च्यात्ने, जलाउने लौ सक्छौ भने जलाएर देखाऊ । पत्रिका र लाइटर अगाडि राख्दै लौ जलाऊ त हेरांै भन्दै मैले पनि भुइँमा मुड्की बजारेँ ।

पार्टीभित्र आगो लाग्दै थियो । विस्तारै तुप्चे बैठकबाट पार्टीमा सल्कियो र जल्न थाल्यो । अन्तरविरोधको गोलचक्करमा नेता फस्दै भित्र–भित्र कार्यकर्ता उचाल्ने र जुधाउने खुराफाती काम शुरु भयो । यो कर्तुत छताछुल्ल भएपछि आफूहरू चोखिन आयोग गठन गरे ।

नेता नै जान्ने–सुन्ने– उनले बुझेका मात्र सही, वैज्ञानिक र वस्तुवादी हुने, कार्यकर्ताको काम भनेको दिएको खाने, अह्राएको गर्ने मात्र हो भन्ने धारणा थियो । पार्टीमा गफ गरेर नथाक्नेहरूको भीड लागेको थियो । बहसदेखि बैठकसम्म, बैठकदेखि कोठासम्म केन्द्रितजस्तो थियो हाम्रो अभियान । केही मान्छेको घुर्की र धम्कीबाट मै हुँ भन्ने नेता डराएका थिए । पार्टीभित्र दण्डहीनता मौलाउँदै थियो । विधि र पद्धतिको गफ गरेर नथाक्नेहरूले नै विधि, विधान र पद्धतिलाई धोती लगाइदिएपछि अनुशासनको डण्डा त निरीहलाई मात्रै त लाग्ने रै’छ । निरीहलाई मात्र लागू हुने कानुन थियो, क्रान्तिकारी पार्टीभित्र । भेला र सम्मेलनमा कान ठाडो बनाएर कुद्नेहरू अघिपछि त खुराफातमै मस्त थिए ।

पार्टीभित्रको गोप्य सूचना दूतावास र दुश्मनलाई दिनेहरूलाई जनयुद्धकालमा भए आन्तरिक सफाया हुन्थ्यो । तर, आज यहाँ ठाँटबाँटसाथ हिँडिरहेका छन् । छाती फुलाएर । जब नेताले कार्यकर्ताको जिज्ञाशा समाधान र आवश्यकता परिपूर्ति गर्न सक्दैन, त्यसपछि संगठनको पद्धति र कारबाहीको डण्डा लगाएर तह लगाउने काम गर्दा रहेछन् ।

अमृता थापामगर आयोगको औचित्यलाई सिद्ध गर्न नेता निकै जोडतोडले लागेका थिए । न्याय–अन्याय छुट्याउन नसक्नेले न्याय दिन्छन् जस्तो लाग्दैनथ्यो मलाई ।

हामी बैठकदेखि छलफलको अभियानसम्म थियाँै । रामहरि सरले भन्नुभयो– आयोगको फैसला र भैरवी पञ्चायतको फैसला उस्तै भयो । अमृता आयोगको फैसला त सबैसामु भर्खर पाठ भएको थियो भैरवी पञ्चायतको फैसलाचाहिँ थिएन । त्यसपछि सबैको आग्रहमा उहाँले त्यो सुनाउनुभयो– कुरा यस्तो रहेछ ।

पञ्चायतकालमा नुवाकोट दरबार क्षेत्रलाई भैरवी पञ्चायतको नामले चिनिन्थ्यो । प्रधानपञ्चको घरमा एकदिन एउटा किसान छिमेकीले बाख्रो मारेको उजुरी गर्न गए । प्रधानले आदेश गरे, बाख्रा मार्ने छिमेकी तुरुन्तै प्रधानको दैलोमा खडा भए । आफ्नो रछ्यानको साग खाएकाले बाख्रो मारेको बयान दिएयो । बाख्रा मार्ने छिमेकी प्रधानपञ्चको मान्छे । जनप्रेमी कहलाएको प्रधानलाई आपत प¥यो, सही फैसला गरांै आफ्नो मान्छेको गल्ती छ, अर्मल तिर्नुपर्छ, नगरांै जनप्रियता घट्छ । निकै विचार गरी यस्तो फैसला सुनाएछन् । बाख्रा छाड्नु तेरो गल्ती, करेसाबारीमा बार नबार्नु उसको गल्ती, साग खानुचाहिँ बाख्राकै गल्ती ।

यस्तै पो भयो क्रान्तिकारी पार्टीको फैसला । घटनाको अभियुक्तहरू नै छानबिन आयोगको प्रमुख बनाइएपछि यस्तो त हुने नै भयो ।
यसपछि कमरेड लक्ष्मी मुडभरीको नुवाकोटबाट स्थानान्तरण भयो । समस्यालाई यथावत राखेर स्थानान्तरण गर्नुको कुनै अर्थ हुँदैन भन्ने थियो हाम्रो धारणा, दृढतापूर्वक यो कुरा पार्टी राख्यौँ । यो कुराको कसैले सुनुवाइ गरेनन् । प्रशंसक र भजनभण्डलीको स्तुति गानले के सही र गलत छुट्ट्याउने नेताको विवेक गुम्न सक्छ । कार्यकर्ता भनेका मेरा रैती हुन्, दास हुन् भन्ठान्नेहरू हामीलाई बेला–बेलामा अराजकको बिल्ला भिराउने गर्थे । बोले अराजक, नबोले दास क्या उदेकलाग्दो अवस्था ?

हामी पनि केमा कम थियौँ र ? घरमा बा–आमाले भनेको नमानेर माओवादी पार्टीमा लागियो । माओवादीमा शालीन, भद्र र आदर्श नेता त पोष्टबहादुर नै थिए । अनुहार गोरो, चिटिक्क हितबहादुरकै थियो । किन वैद्यबाको पछि दगुर्दै छौं ? के छ हाम्रो लेनदेन ? आखिर क्रान्ति गर्छु भन्नेलाई साथ दिने, राम्रो काम गरे साथ दिने हो । जे–जे गर्छन् सबै ठीक त हनुमानले मात्र भन्छ । हाम्रो लेनदेन आखिर कुन नेतासँग के छ ? जे देखिन्छ, त्यही भनिन्छ । मुखै बैरी भो !

पार्टीमा भ्रष्टाचार बढ्यो भन्दै ३ हात उफ्रने नेतालाई हामीले पनि सप्रमाण उजुरी हातैमा थमायांै तर बिचरा नेता त हामीमाथि नै पो खनिन थाले । महादेवले सतीदेवीको लास बोकेर हिँडेझैं भ्रष्टलाई बोकी हिँड्दै गए । कहिले कारबाहीको ओइरो, कहिले जसले जे गरे पनि छुट, क्या अजवको जनवादको विकास भयो, दंगदास थियौं नेताको तमासा देखेर । हरेक जल्दाबल्दा समस्याको निर्ममतापूर्वक आलोचना गर भन्ने माक्र्सको यो उक्ति शिरोपर गर्दै लागिरहन्छौं कतिलाई । आज यथार्थ छर्लंग हुँदै छ । जब अन्तरसंघर्ष नै वर्ग संघर्षको स्तरमा पुग्छ, त्यतिबेलाका अनुभूति उस्तै हुँदोरहेछ । यो उदेकलाग्दो चरित्रले सहिद कृष्ण सेनका यी भावना स्मृतिमा मडारिँदै थिए ।

हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
तिमी भन्छौ गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।


प्रतिक्रिया दिनुहोस !