दक्षिण एशियामै पहिलो सुरुङ,घुम्न अझै कति कुरम ?

दक्षिण एशियामै पहिलो सुरुङ,घुम्न अझै कति कुरम ?

-अमृत पौडेल

हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । आजभन्दा एक सय वर्षअघि चन्द्रसमशेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गरेको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ ।

दक्षिण एशियामा नै सुरुङ नभएको बेला बेलायती ढाँचामा निर्मित त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ थियो । दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ काठमाडौं उपत्यकाबाहिर सबैभन्दा पहिले विकास गरिएको सडकखण्डमा तत्कालीन राणा सरकारले निर्माण गरेको थियो ।

९ फिट चौंडा र १० फिट उचाई भएको उक्त सुरुङ्गमार्गको लम्बाइ ५ सय मीटर रहेको छ । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङमार्ग हुँदै ल्याउने गरिन्थ्यो । सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म पुग्ने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म सामान पुर्याइन्थ्यो ।

तर, प्रजातन्त्र पुनस्र्थापनापछि त्रिभुवन राजपथ बनाउने क्रममा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सुरुङका मुखहरू थुनिए । तर, सुरुङमार्गको केही भाग भने अझै राम्रो अवस्थामा देखिन्छ ।

जीर्ण अवस्थामा रहेको यो सुरुङमार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि थप जीर्ण बन्न पुगेको छ । संरक्षणको अभावमा सुरुङ पुरिने अवस्थामा पुगेपछि उपमहानगरपालिकाले साढे ५ लाख रुपैयाँको लगानीमा स्थानीय चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण समितिमार्फत बाहिरी भागको संरक्षण गर्ने कार्य प्रारम्भ गरेको छ ।

टिप्पणीहरू