रोक्का डिसिजन

संविधान संशोधनको मुद्दा संसद्मा विचाराधीन छ । संशोधन पारित गर्न चाहिने जति संख्या सरकारसँग छैन । त्यसैले एक एक जना सांसदको मत पनि उत्तिकै महत्वपूर्ण मानिँदै छ । हर एक सांसदको मत अमूल्य छ । यस्तो अवस्थामा छिमेकमै रहनुभएका माननीय सांसदज्यूको मतचाहिँ कतातिर होला ?

म हिजो बिहानै उहाँको निवास पुगेँ । नेताजी बिहानी ‘ब्रेकफास्ट’ सँगै पत्रिका पढिरहनुभएको थियो । मैले अगाडि गएर शुभप्रभाती प्रणाम गरेँ, ‘नमस्कार नेताजी, के छ हालचाल ?’

उहाँले मतिर टुइँक्क हेर्नुभयो । भन्नुभयो, ‘ओहो, हालचाल ठीक छ । तपाईंको के छ भाइ ?’

‘ठीकै छु,’ सँगैको मूढा आफूतिर तान्दै भनेँ, ‘नेताजीको के छ भन्नोस् । संविधान संशोधन के होलाजस्तो छ ?’

उहाँ एकछिन मौन रहनुभयो ।

‘के होला यो ? पास होला नेताजी ?’ मैले प्रश्न थपेँ ।

‘खै..,’ उहाँले चियाको कप तान्नुभयो, ‘भन्न सकिन्न ।’

‘किन ? तपाईंचाहिँ के गर्नुहुन्छ त नेताजी ?’ मूल प्रश्न राखेँ ।

‘खै..म त सोच्दै छु । अब सरकारले जतिबेला मन्त्रिमण्डल विस्तार गर्ला मेरो डिसिजन पनि त्यहीबेला आउला । सरकारकै कारण मेरो डिसिजन अवरुद्ध भइरहेको छ ।’

अब भने मौन बस्ने पालो मेरो थियो । उहाँको डिसिजनलाई त सरकारले पो रोकेको रहेछ ।

पुनः भन्नुभयो, ‘अब हेर्नोस् न, म आफ्नो डिसिजन दिनेवाला थिएँ कि सरकारले मन्त्रिमण्डल विस्तारको कार्यक्रमै पोष्टपण्ड गरिदियो । यस्तो तालले म कसरी डिसिजन दिन सक्छु !’

उहाँको अनुहारमा एकाएक हैरानीका धर्सा देखिन थाले । म केही क्षण त्यही धर्सा गनेर घरतिर फर्कें ।

टिप्पणीहरू