काँग्रेसमा क्रियाशील सदस्यता विवाद, नेताहरु आमरण अनशन र राजीनामामा विभक्त

काँग्रेसमा क्रियाशील सदस्यता विवाद, नेताहरु आमरण अनशन र राजीनामामा विभक्त

महाधिवेशनको मिति नजिकिंदै जाँदा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवादले उग्र रुप लिन थालेको छ । सदस्यता विवादकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएका बेला त्यसैलाई लिएर ठाउँ–ठाउँमा आन्दोलन हुन थालेका छन् ।

क्रियाशील सदस्यतालाई लिएर प्रदेश नं. २ मा चर्को विवाद देखिएको छ । प्रदेश २ का बारा, धनुषा, सर्लाही, रौतहट जिल्लाका नेता–कार्यकर्ता लामो समयदेखि केन्द्रीय कार्यालय परिसरमा धर्ना र अनशनमा छन् । पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरित प्रक्रिया मिचेर सदस्यता वितरणमा धाँदली भएको भन्दै सच्याउन दबाब दिने उद्देश्यले अनशन बसेको उनीहरुको भनाइ छ ।

रौतहट क्षेत्र नं. १ मा सदस्यता वितरणमा व्यापक धाँधली भएको र पार्टीको तहगत निर्णय नगरी एकपक्षीय रुपमा नयाँ सदस्यता बाँडिएको आरोप लगाउँदै पूर्वमन्त्री वरच किशोर सिंहको नेतृत्वमा आजदेखि रिले अनशन शुरु भएको छ । अनशनमा डा. देवचन्द्र मिश्र, उदयकान्त यादवलगायत डेड दर्जन नेता सहभागी छन् ।

त्यसैगरी, बारा जिल्लामा पनि सदस्यता वितरणमा धाँधली भएको भन्दै थालिएको आमरण अनशन आज छैठौँ दिन पनि जारि छ । काँग्रेस बाराका सभापति जयचन्द्र चौरासियाको नेतृत्वमा स्थानीय नेता–कार्यकर्ता अनशनमा बसेका हुन् । जिल्ला कार्यसमितिले निर्णय गरेर पठाएको क्रियाशील सदस्य मापदण्डअनुसार नै रहेकोले ती सदर हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले जिल्लाले पठाएको फाइल सदर नगरेसम्म धर्ना नरोक्ने चेतावनी दिएका छन् ।

यता, धनुषाको क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र पूर्वसांसद डा. चन्द्रमोहन यादवसहितका नेताहरु अनशनमा बसेका छन् । अनशनमा रामपल्टन साह, दिनेश नायकलगायत छन् ।

त्यस्तै, बारा जिल्लाका पूर्वसांसद रामअयोध्या प्रसाद यादव नेतृत्वको १३औं दिनको धर्ना कार्यक्रम आज पनि जारी राखिएको छ । सर्लाहीका पूर्वजिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा पाँचौ दिनको धर्ना कार्यक्रम आज पनि यथावत छ ।

क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै सर्लाहीका नेता–कार्यकर्ताले अमरेशकुमार सिहंमाथि कारवाही माग गर्दै सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । सिंहमाथि पार्टी बिधान विपरित गतिविधि गरेको आरोप लागेको छ । सिंहले भने क्रियाशील सदस्यतालाई लिएर असन्तुष्टि जनाउँदै गत बुधबार सांसद पदबाट नै राजीनामा दिएका छन् ।

काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । सदस्यता विवादकै कारण कार्यतालिका प्रभावित भएकाले घोषित मितिमा महाधिवेशन हुनेमा नेताहरु थप आशंकित हुन थालेका छन् । कार्यतालिका अनुसार असार २० गतेभित्र सदस्यता टुंग्याइसक्नुपर्ने हो । तर, धेरै जिल्लामा अहिलेसम्म विवाद टुंगो नलागेकाले महाधिवेशन प्रभावित हुने देखिएको छ ।

तर, काँग्रेसलाई अब महाधिवेशनको मिति सार्ने सुविधा छैन । विशेष परिस्थितिमा ६ महिना महाधिवेशनको मिति सार्न सकिने संविधानको व्यवस्थाबमोजिम काँग्रेसले फागुनमा गर्ने भनेको महाधिवेशन भदौमा सारिसकेको छ ।

टिप्पणीहरू