कम्युनिष्ट भन्दै ठोरीतिर ठमठम « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

कम्युनिष्ट भन्दै ठोरीतिर ठमठम

प्रकाशित मिति :  ९ श्रावण २०७८, शनिबार २०:००


अन्ततः जहाँ पुगिन्थ्यो त्यहीँ पु¥यायो घटनाक्रमले । त्यसकारण आफ्ना सीमालाई चिनेर त्यसभित्र जो–कोही बस्नुपर्छ । माथि केन्द्रमा जसले जेसुकै महसुस गरेको होस् यो राजनीतिक वियोगान्तबारे अथवा तिनका जे–जस्तोसुकै दाउपेच हुन्, तल गाउँ बस्तीमा एमाले नेकपाका कार्यकर्ता तथा समर्थकको पहिचान बनाएर बसेका सबैले साह्रै ठूलो पीडा महसुस गरेका छन् । सार्वजनिक रूपमा पछारिएको जस्तो लाजको अनुभूति गरेका छन् । भूकम्पले झिमिक्क गर्दा नगर्दै धरहरा ढालेजस्तो नेकपा र एमालेको शक्ति तथा प्रभाव पनि आँखैअगाडि हेर्दाहेर्दै धराशायी हुन पुगेको छ । मान्छेहरूले आफ्नै खुट्टामा बञ्चरो चलाएर घाइते भएको महसुस गरेका छन् ।

नेकपा पहिलेको र पछिको एमाले किन र कसरी यो अवस्थामा आइपुग्यो भन्ने कुराको मुख्य जड के थियो भन्ने कुरालाई इमानदारीपूर्वक आत्मसात् नगरी एकार्कालाई धारेहात लाउने, सत्तोसराप गर्ने र दोषारोपण मात्रै गरेर बस्ने हो भने अल्लि पहिले चुनावपछिको एमाले र हाल कांग्र्रेसको भन्दा अझै गएगुज्रिएको अवस्थामा आजको एमाले पुग्ने कुरामा कुनै दुईमत छैन । यसर्थ यस्तो गम्भीर क्षति हुनबाट पार्टी र क्रान्तिलाई जोगाउन आ–आफ्ना कमीकमजोरीलाई स्वीकार गरी त्यसलाई हटाउन सबैजना तयार हुनुपर्छ । यसलाई जुँगाको लडाइँ कसैले पनि बनाउनु हुँदैन ।

नेकपा र एमाले दुवै कम्युनिष्ट पार्टी थिए र अहिले पनि हुन् जनताको नजरमा । चुनावमा प्राप्त सफलता पनि यो कम्युनिष्ट पार्टी भन्ने भएर नै हो । तर चुनावी सफलताले सरकार बनाउने हैसियतमा पुगेपछि यो पार्टी दुइटै अवस्थामा कम्युनिष्ट पार्टी जस्तो रहन सकेन । यसका चालचलन, गतिविधि र यसले गरेको शासनको ढाँचा विशुद्ध बुर्जुवाको जस्तै भयो, विवादको जग नै यही हो । पार्टी र सरकारको पनि नेतृत्व गरेको समूहले आन्तरिक जनवादलाई लगभग निषेधै गरेर, केन्द्रीकृत शैलीमा अधिनायकवादी तौरतरिका अपनाएर, कम्युनिष्ट शैली र आचरणभन्दा बाहिर गएर पार्टी र सरकार सञ्चालन गर्ने दुस्साहस गर्दा यस्तो अवस्था आइलागेको हो । यो कुरालाई दुबै पक्षले आत्मसात् गर्नु जरुरी छ । माथि यसको रियलाइजेसन हुन सक्यो भने तल स्वतः हुनेछ ।

केजरीवाल कम्युनिष्ट होइनन् तर उनले दिल्लीमा शिक्षा, स्वास्थ्य, बिजुली, पानी निःशुल्क उपलब्ध गराएका छन् । जनताको निम्ति काम गर्न उनीहरू पनि बाध्य छन् अन्यथा अर्को चुनावमा जनताले हराइदिन्छन् ।

कम्युनिष्ट पार्टी भएको नाताले यसको पहिलो जिम्मेवारी यो हुन्थ्यो कि देशमा न्यायपूर्ण र समानतामा आधारित वर्गसमाज निर्माण गर्न आफ्नो सम्पूर्ण शक्तिलाई परिचालन गर्ने । देशभरिमा के कति जनसंख्या छन् जसको साँझ–बिहान पकाएर खाने र रात काट्ने ओतसमेत छैन, वर्षभरि दुईछाक खान नपुग्ने जनताको संख्या कति छ ? बेरोजगार–अर्धबेरोजगार युवा कति छन् ? समाजका कति प्रतिशत बालबालिका स्कुल जान्नन् वा गए पनि केही समयपछि स्कुल छोड्न बाध्य हुन्छन् गरिबीको कारणले ? सामान्य सिटामोल र जीवनजलसमेत पाउन नसक्ने मानिस कति छन् ? यस्ता कुराको यथार्थ जानकारी लिने र त्यसमा काम गर्न राज्यको स्रोत र साधनको परिचालन गर्ने । जान्नुपर्ने कुरा यो छ कि यस्तो काम त अतिदक्षिणपन्थी भनिने दलले पनि गरेका हुन्छन् ।

केजरीवाल कम्युनिष्ट होइनन् तर उनले दिल्लीमा शिक्षा, स्वास्थ्य, बिजुली, पानी निःशुल्क उपलब्ध गराएका छन् । जनताको निम्ति काम गर्न उनीहरू पनि बाध्य छन् अन्यथा अर्को चुनावमा जनताले हराइदिन्छन् । तर कम्युनिष्ट पार्टीसंग न त यस्तो सूचना छ, न तथ्यांक छ र योजना नै छ । यस्तो भएपछि देशको नीति समाजवादी कसरी बन्छ ? रोजगार सिर्जना गर्ने नीति कसरी बन्छ ? शिक्षा र स्वास्थ्य सके निःशुल्क नभए न्यूनतम शुल्कमा उपलब्ध गराउने नीति कसरी बन्छ ? गरिब तथा बेरोजगार जनतालाई आर्थिक तथा अन्य अनुदान सहयोग उपलब्ध गराउने नीति कसरी बन्न सक्छ ? खासमा, कम्युनिष्टको सरकारले त जनताको गाँस, बास र कपासको जिम्मा नै लिनुपर्ने हो ।

अझै पनि जहाज डुबिसकेको छैन । यसलाई टाइटानिक हुनबाट बचाउन सकिन्छ । तर त्यसको एक मात्र शर्त हो कम्युनिष्ट पार्टी भनेपछि कम्युनिष्ट पार्टी नै बनाउने । कम्युनिष्ट पार्टीले निर्जीव मूर्तिमा प्राण भरेर ठोरीको यात्रामा निस्किने हो भने हुने यस्तै हो ।

जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने हो । व्यक्तिको योग्यता र क्षमताअनुसारको रोजगार उपलब्ध गराउनुपर्ने हो । तर, यो तीन वर्षको अवधिमा कम्युनिष्टको सरकारले यस्तो कुनै काम गरेन । बरु यसले त महँगा निजी अस्पताल खोल्न पुँजीपतिलाई सहयोग ग¥यो । चर्को शुल्क असुल्न पाउने स्कुल–कलेज खोल्न निजी क्षेत्रलाई नै प्रोत्साहन गर्ने र बढावा दिने काम ग¥यो । युवालाई देशमै रहने अवस्था बनाउन होइन कि विदेशमा पठाउन सहजीकरण गर्ने काम ग¥यो । भ्रष्टाचारमा आफैँ संलग्न भयो । यस्तै हुन्छ त कम्युनिष्ट पार्टीको सरकार ? सारमा भन्दा यो सरकारले लुट र शोषणको केन्द्रीकरण र गरिबी र दुखको सामाजिकीकरण गर्ने काम धेरै ग¥यो ।

कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता अन्धविश्वास, रुढीवाद, धार्मिक कट्टरपनमा विश्वास गर्दैनन् भन्छन् । तर, व्यवहारमा यस्तो देखिएन । एमालेका नेता हिन्दू अतिवादी भगवाधारी पण्डाजस्ता देखिए । नेताले कहिले चरु होम गरे, कतिले कालो बोका काटेर सरकारी गृह प्रवेश गरे, कतिले धातुको मूर्तिमा सुनको लेपन लगाए, निर्जीव मूर्तिमा प्राण । तलका कार्यकर्ताले अनुसरण गर्ने त नेतृत्वकै हो । यस दौरान मूल नेतृत्वले नै विज्ञानमा कम भरोसा राखेको देखियो । विवादका मुख्य कारणहरू यिनै–यिनै हुन् ।

अन्त्यमा, शेरबहादुर देउवालाई विश्वासको मत नसोचेको हिसाबले प्राप्त भयो । ओली पक्षमै लागेर अर्को पक्षको खेदो खन्नेहरूले समेत पार्टीको निर्देशनविरुद्ध गएर देउवालाई समर्थन गरे । यो कुराले त्यहाँभित्र ठूलो सोफोकेशन रहेछ भन्ने कुरातिरै इंगित गर्छ । अझै पनि जहाज डुबिसकेको छैन । यसलाई टाइटानिक हुनबाट बचाउन सकिन्छ । तर त्यसको एक मात्र शर्त हो कम्युनिष्ट पार्टी भनेपछि कम्युनिष्ट पार्टी नै बनाउने । कम्युनिष्ट पार्टीले निर्जीव मूर्तिमा प्राण भरेर ठोरीको यात्रामा निस्किने हो भने हुने यस्तै हो । यस्तो झुट, अन्धविश्वास र मायाजालमा आधारित कम्युनिष्ट पार्टी बन्नुभन्दा त्यस्तो पार्टी भत्केको, चकनाचुर भएकै जाति । यी यावत कुराका बाबजुद हामी अझै पनि आफूलाई कम्युनिष्ट नै भनिरहने र ठोरी यात्रामा पनि हिँडिरहने ठूलो विरोधाभाषमा छौं । दुःखको कुरा यही हो ।


प्रतिक्रिया दिनुहोस !