स्वर्णयुग

त्रिभुवन विमानस्थलमा अस्ति एकै चोटी ३३ किलो सुन भेटियो । प्रहरी त्यसको रहस्य खोतल्ने प्रयासमा लागिरहेकै बेला फेरि अर्कोतिर सुन भेटियो । त्यो पनि किलोमै । पाउ, छटाक, तोलामा पनि निरन्तर भेटिइरहेकै छ । देशको चारैतिर यसरी सुन भेटिरहेको देख्दा लाग्छ, कतै देशमा स्वर्णयुगै पो शुरु हुन लाग्या त होइन ? जताततै सुनै सुन पाइन थालेपछि स्वर्णयुग त आइहाल्यो नि † आखिर सुनै सुनको युगलाई नै स्वर्णयुग भनिन्छ, होइन र ?

प्रधानमन्त्री पुष्पकमल दाहाल जनयुद्धताका यस्तै दाबी गर्नुहुन्थ्यो । यदि, माओवादीको सरकार बन्यो भने देशमा स्वर्णयुग आउनेछ । इ…आइहाल्यो नि ! त्यो पनि उहाँकै कार्यकालमा । अहिले देशमा हङकङबाट सुन आइरहेको छ, चीनबाट पनि आइरहेको छ, थाइल्याण्ड, सिंगापुर धेरै ठाउँबाट आइरहेको छ । दुबई, कतार, साउदी अरब, मलेसियाबाट कति आउँछ, त्यो त थाहै छैन ।

तर, केही मानिसको दाबी छ, यो सुन जम्मै तस्करले ल्याएका हुन् । जम्मै सुन तस्करीको हो । यो त झनै राम्रो भयो । देशलाई स्वर्णयुगमा प्रवेश गराउन तस्कर समुदायसमेत लागिपरेको छ । आज तस्करलाई समेत देशप्रति चिन्ता छ । देशमा स्वर्णयुगको पदार्पण गर्न तस्कर त यति लगनसाथ लागिरहेका छन् भने हामी सभ्य नागरिकचाहिँ यत्तिकै बस्न मिल्छ ? हामी पनि उठौं । सुन ल्याउन ।

टिप्पणीहरू