विप्लव र कमल थापाको भेट, तीन बुँदे कार्यान्वयनमा जोड

विप्लव र कमल थापाको भेट, तीन बुँदे कार्यान्वयनमा जोड

पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापासँग भेट गरेका छन् ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । थापालाई भेट्न विप्लवसहितका नेताहरु उनको निवास, विशालनगर पुगेका थिए ।

विप्लवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष थापाले ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट्याएका छन् ।थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरुबीच आज सौहार्दपूर्ण भेटघाट भयो । दुवै पक्षकाबीच समसामयिक विषयमा विचार विमर्श भयो । विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।’

विप्लवले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेट गरिसकेका छन् ।

टिप्पणीहरू