कीर्तिपुरमा ओली समूहको ३ सय १ सदस्यीय युथ फोर्स गठन

कीर्तिपुरमा ओली समूहको ३ सय १ सदस्यीय युथ फोर्स गठन

नेकपा एमालेको केपी शर्मा ओली पक्षले नगरस्तरमा युथ फोर्स बिस्तार गर्न थालेको छ । सोही क्रममा हिजो किर्तिपुरको नयाँगाउस्थित सामुदायिक भवनमा किर्तिपुर नगरपालिकास्तरीय राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स गठन तथा भेला सम्पन्न भएको बताइएको छ ।

कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय युवासंघ नेपालका क्षेत्र नं. १० का उत्प्रेरक तथा केन्द्रीय सदस्य हिमेश केसीले अहिलेको परिस्थितिमा पार्टी संकटमा परेका कारण राष्ट्रिय युवासंघ र युथ फोर्स गठन गर्नुपर्ने अवस्था आएको बताएका थिए ।देशका युवाहरुको काँधमा मुलुक रहने भएकाले मुलुकलाई सही दिशामा अगाडि बढाउनुपर्ने र राजनीतिमा जोडिनुपर्ने अवस्था रहेको बताउँदै उनले युवालाई संगठित गरेर राजनीतिमा समाहित गर्न युवा संघ गठन गर्नुपरेको जानकारी दिएका छन् ।

राजनीति पेशा नभएर सेवा भएकाले सबैले सामाजिक अन्याय र अत्याचारकाविरुद्ध आफ्नो आवाजलाई सशक्त पार्ने काम गर्न संगठन चाहिने भएकाले दोधारमा नपर्न र संगठित हुन उनले आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै एमाले नगर कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतले राजनीतिले समाजमा रहेको फोहोरलाई पन्छाएर सुन्दर बनाउने काम गर्नेमा जोड दिएका छन् । बाँच्नको लागि केही न केही गर्नैपर्ने तर राजनीतिले सबै चिज नदिने भएकाले पेशासँगै राजनीतिलाई अगाडी बढाउन युवाहरुलाई आग्रह गरेका छन् ।

भेलाले ५५ सदस्यीय राष्ट्रिय युवा संघ कीर्तिपुर नगर कमिटी गठन गरेको छ । जसको संयोजकमा भावेश महर्जन, सह–संयोजकमा सञ्जय महर्जन छन् ।

त्यसैगरी सञ्जय महर्जनको संयोजकत्वमा ३ सय १ सदस्यीय युथ फोर्स समेत गठन गरिएको छ ।

टिप्पणीहरू