प्रेमको जाल, जिन्दगी मालामाल

  • राजेन्द्र स्थापित

प्रमिलाको जन्म सन् १९६१ मा नयाँदिल्लीको पञ्जाबी परिवारमा भयो । मेजर महेन्द्र सिंहले भोलिपल्टै छोरीको जन्मकुण्डली लेख्न लगाए । ज्योतिषीले चिना बनाइसकेपछि लेखे, ‘मेष राशिकी यी कन्या मीठो बोल्ने र शान्त स्वभावको हुनेछिन् । जीवनभरि नयाँ–नयाँ व्यक्तिबाट मनले चाहेको मद्दत प्राप्त गर्नेछिन् । धेरै यात्रा गर्नेछिन् । शुक्र मूल स्थानमा बसेकाले सुखको कमी त हुँदैन तर राहु र शनि शत्रुको रुपमा रहेकाले आमाबाबुलाई कष्ट भने दिनेछिन् । लोकप्रियता हासिल गर्लिन् तर जीवनमा उतारचढाव हुनेछ । सूर्य र बुधको मैत्रीभावले गर्दा प्रसिद्धि र ऐतिहासिक व्यक्तित्व बनाउनेछ तर केतुको शत्रुभावले सूर्यलाई हेर्ने कारण सामाजिक कलंकको दोष पनि भोग्नुपर्नेछ । कन्या सुन्दर, तेज र चञ्चल हुनेछिन् ।’

महेन्द्र सिंह र पत्नी शकुन्तला भाग्यमा विश्वास गर्दैनथे । तर घरका अन्य सदस्यको दबाबमा परेर चिना बनाउन दिए । दुई महिनापछि भारत–चीन युद्धमा महेन्द्र शहिद भए । शकुन्तला छोरा अवतार सिंह र छोरी प्रमिलाको साथ चण्डीगढ पुगिन् । सरकारी कलेजमा वार्डेनको काम पाइन् । पछि सरकारी जागिरमा दाखिला भइन् । त्यसबेलासम्म अलच्छिनी मानिएकी प्रमिला लरेन्स स्कुलमा पढ्थिन् । आमा सरकारी अधिकृत बनेपछि जयपुरको महारानी गायत्रीदेवी स्कुलमा भर्ना भइन् । ज्योतिषीले भनेजत्तिकै पढाइमा तेज र प्रतिभावान थिइन् । घोडचढी, टेनिस, पौडी र दौडमा पोख्त । श्रृंगार भने गर्दैनथिइन् । १८ वर्षको उमेर, सन् १९७९ मा दिल्ली गइन् । उचाइ ५ फुट ४ इञ्च भए पनि शारीरिक विकास भएको थिएन । त्यसैले व्यायाम गर्न थालिन् र चाँडै नै शरीरको बनोट ३४–२४–३५ बनाउन सफल भइन् । धुमपान गर्थिन् । केटाहरुको लुगा लगाउँथिन् । मित्रता गाँस्थिन् र खुल्लमखुला शारीरिक सम्बन्ध राख्थिन् । लेडी श्रीराम कलेजमा पढ्दै गरेकी उनी कहिलेकाहीं साथीहरुलाई हाकाहाकी भन्थिन्, ‘हिजो गर्भनिरोधक चक्की खानै बिर्सें । अब मेरी स्टप्स (गर्भपतन गराउने क्लिनिक) जानुपर्ला ।’
एकपटक केटा साथीहरुसित बसेर तास खेल्दै थिइन् । गर्मीको मौसम, अचानक बत्ती गयो । गर्मी सहन नसकेपछि पाइन्ट फुकालिन् । पेन्टी मात्र लगाएर बसिन् । अर्कोपटक टेनिस खेल्दै थिइन् ।

खेल सकिनेबित्तिकै खुशीले उफ्रँदै टिसर्ट फुकालेर फ्याँकिदिइन्, भित्र ‘ब्रा’ थिएन । अर्कोपटक साथीहरुसँग सेन्ट स्टिफन कलेज घुम्न गएको बेला त्यहाँको एक छात्रलाई समातेर सबैको सामु म्वाइ खाइदिइन् । निकै नै महŒवाकांक्षी । कुन बेला कोसँग मित्रता गाँस्नु पर्छ, हिसाबकिताब गरेर बस्थिन् । त्यसो त आमा शकुन्तलासँग सम्बन्ध राम्रो थिएन । सानो छँदा दिनभरि कोठामा थुनेर बाहिर जाने र कुटपिट गर्ने गरेको बताउँथिन् । कलेजको पढाइमा पनि मेधावी नै थिइन् । स्नातक तहमा ८४ प्रतिशत अंक ल्याइन् । धन र ऐश्वर्य दुवै चाहन्थिन्, त्यसैले मोडलिङ गर्न दौडिन् । टेलिभिजनका समाचारवाचक कोमल जिबी सिंहको मोडलिङ एजेन्सीमा निवेदन दिइन् । कोमलले उनको रुपलाई लिएर हेलाँ गरे, केही समयपछि राम्रो फोटो लिएर आउनू भने । अर्को हप्ता फोटो लिएर पुगिन् । पहिलोपटक छाला उद्योगका लागि मोडलिङ गरिन् । त्यसपछि हिरो साइकल, ओस्वाल, टेक्सला टिभी । ६ महिनापछि सन् १९८१ मा मुम्बई गइन् । मुखपृष्ठमा फोटो छपाउन पत्रपत्रिकाको दैलो चहारिन् । प्रसिद्ध ग्लेमर फोटोग्राफर पाब्लो बार्थोलोमेउ, सान्तनु सोरे, बिलास भेण्डे, आड्रियान स्टेभनको चाकडी गरिन् । त्यसबेलासम्ममा मोडलिङमार्फत प्रमिलाबाट पामेला बनिसकेकी थिइन् ।

यसबीच सन् १९८२ मा फेमिना पत्रिकाद्वारा आयोजित ‘मिस इण्डिया’ प्रतियोगिता जितिन् । धन र ऐश्वर्य दुवै हासिल गरिन् । मोडलिङ एजेन्सी मात्र होइन, फिल्म निर्माताहरु उनको पछाडि लाग्न थाले । नेसकफी विज्ञापनको छायांकन गर्न नेपाल आइन् । मुम्बईका ठूला व्यापारीसँग सम्बन्ध बढाइन् । चलचित्र ‘गान्धी’ को छायांकन दौरान निर्देशक रिचर्ड एटेनबरो, सहायक निर्देशक, वितरक, निर्माता सबैको ‘प्रिय’ बनिन् । जेम्सबण्ड श्रृंखलाको हलिउड चलचित्र ‘अक्टोपस’ मा अभिनय गरिन् । सन् १९८२ मा ‘सुश्री ब्रह्माण्ड’ प्रतियोगितामा भाग लिन पेरुको राजधानी लिमा गइन् । प्रतियोगिता जित्न नसकेपछि त्यतैबाट अमेरिका छिरिन् । अस्थायी भिसाअन्तर्गत लस एन्जलसमा ६ महिना बसिन् । फेशन डिजाइन र फोटोग्राफी पढिन् । फोटो पत्रकारको रुपमा काम गरिन् । लण्डनबाट प्रकाशित हुने ‘दि इन्डिपेन्डेन्ट’, ‘दि सण्डे टाइम्स’, ‘मारी क्लायर’, ‘वासिंगटन पोष्ट’, ‘न्युजविक’, ‘पेरिस म्याच’ मा फोटो छपाइन् ।

सन् १९८३ मा मुम्बई फर्कंदा पामेला फेरिइसकेकी थिइन् । ह्यात र ताज होटलमा बस्न थालिन् । रइस व्यापारी, पत्रकारसँग रातभरि फोनमा कुराकानी गर्थिन् । स्कच पिउँथिन् । महँगो लुगा लगाउँथिन् । जबकि अमेरिका पुग्दा उनीसित जम्मा पाँच सय डलर थियो । सिन्धी महिला बीना रमानीको घरमा तीन हप्ता बसेकी थिइन् । बीनाकै भनाइमा फोनमा हतियारको कुरा गर्थिन् । तीन हप्ता रइसहरुको निजी विमानमा उड्ने भइन् । बु्रनाइका सुल्तान र हतियार व्यापारी अदनान खशोगीसँग सम्बन्ध बढाइन् । केही दिन खशोगीको ओलम्पिक टावरमा बिताइन् । खशोगीका गुरु चन्द्रास्वामी (हेर्नुस्, जनआस्थाको वर्ष १, अंक ३०– दाह्रीभित्र लुकेको कालो कर्तुत) सँग सम्बन्ध राखिन् । चन्द्रास्वामीसँग न्युयोर्कमा एकजना नेपाली वरिष्ठ कूटनीतिज्ञले आयोजना गरेको रात्रिभोजमा भेट भएको थियो । खशोगीसँग पेरिस गइन् । निजी जहाजमा रात बिताइन् । त्यहीं सन् १९८४ मा डोमिनिक हेनरी बोर्डेससँग बिहे गरिन् ।

हेनरी संगीत उत्पादक थिए । पामेलाको लागि बिहेको अर्थ फ्रान्सको नागरिकता प्राप्त गर्नु थियो । तर बोर्डेस पामेला परम्परागत भारतीय नागरिकसरह गृहिणी बनेर बसुन् भन्ने चाहन्थे । त्यसैले दाम्पत्य जीवन तीन महिनाभन्दा बढी टिकेन । पामेला जापान हुँदै लण्डन पुगिन् । घोडचढी र टेनिस खेलाडी भएकाले लण्डनमा स्थापित हुन गाह्रो भएन । रोमानियाको पूर्व राजकुमार पाल, इटलीका काउन्ट कार्लो कोलोम्बोटी र रोलिङ स्टोन समूहका रक गायक बिल वाइमनको प्रेमिका बनिन् । उनीहरुमार्पmत् ‘बोर्डरुम’ र ‘हार्पर्स एण्ड क्वीन’ जस्ता फेशन पत्रिकाको लागि मोडलिङ गरिन् । ठुल्ठूला कार्यक्रम, रात्रिभोजमा सामेल हुने अवसर प्राप्त गरिन् । नाइट क्लब जानु दैनिकी बन्यो । एकदिन क्लबमा ‘सण्डे टाइम्स’का सम्पादक एण्ड्रयु नीलसँग भयो । नील अविवाहित थिए । दुवैको केमिस्ट्री यति मिल्यो कि पतिपत्नीसरह रहन थाले । तर जब नीलले सन् १९८८ को अप्रिलमा सम्बन्ध बिच्छेद गर्न चाहे, पामेला रणचण्डी बनिन् । कैंचीले नीलको सम्पूर्ण कपडा काटिदिइन् । त्यसपछि त्यहाँ स्थापित भइसकेका भारतीय व्यापारी र तिनीहरुका छोरासँग सम्बन्ध बढाइन् । ‘ब्रिटिश जैकी’ को नाउँले प्रख्यात घोडा व्यापारीको निजी फार्ममा महिनौं बसिन् ।

‘दि अब्जर्भर’ का सम्पादक डोनाल्ड ट्रेफोल्ड, ‘बोर्डरुम’ का सम्पादक मार्क बर्का, सांसद हेनरी बेलिंघम, अर्का सांसद डेभिड शा, बेलायती खेलमन्त्री कोलिन मोएनिहानसँग अन्तरंग सम्बन्ध बनाइन् । शाले पामेलालाई आफ्नो शोध सहायक नै बनाए तर पामेला संसद्मा छिर्न चाहन्थिन् । शाले संसद् प्रवेशको पास उपलब्ध गराउन नसकेपछि बर्कामाथि दबाब दिन थालिन् । बर्काको आग्रहमा सांसद हेनरीले पास उपलब्ध गराइदिए । मौकाको फाइदा उठाउनबाट चुकिनन् । एकपछि अर्को सांसद र मन्त्रीलाई रुप र यौवनको जालमा फसाउन थालिन् । यतिसम्म कि संसद्को सभाकक्षमा बजाइने विशेष घण्टी आफ्नो शयनकक्षमा लगाउनसमेत सफल भइन् । संसद्मा घण्टी बज्दा पामेलाको कोठामा पनि बज्थ्यो । पछि सांसद र पामेलाबीचको सम्बन्धबारे समाचार छापिन थाल्यो । ठूलो हंगामा भयो । सुरक्षाको कुरा उठाइयो । छानबिन कमिटी गठन गरियो तर पामेला निर्दोष सावित भइन् ।

सन् १९८९ को मार्च १२ मा ‘न्युज अफ दि वल्र्ड’ ले एउटा समाचार प्रकािशत ग¥यो । भनिएको थियो, ‘हाउस अफ कमन्स (संसद्) मा एउटी वेश्या कार्यरत छिन्, जो मोजमस्तीका लागि जे पनि गर्न तयार हुन्छिन् । सांसद डेभिड शाकी शोध सहायिका पामेला वास्तवमा एक वेश्या हुन् । उनको वार्षिक तलब ३ हजार पौण्ड छ तर ७५ हजार पौण्डमा किनिएको आलिशान भवनमा बस्छिन् । उनी धुलो उडेसरह खर्च गर्छिन् । सम्पर्क र सम्बन्ध यस्ता व्यक्तिहरुसित छ, जो उनका मालिकभन्दा पनि उच्च ओहदामा आसिन छन् ।’ उक्त समाचारले ब्रिटेनमा धुम मच्चायो । महिनौंसम्म अखबारको हटकेक बनिरहिन् । एकरातको पाँच सय पौण्डदेखि १० हजारसम्म लिएर शरीर बेच्ने गरेको खबर छापियो । पामेलालाई यी समाचारले केही फरक पारेन । झन् यस्ता चट्पटे समाचारबाट खुशी हुन्थिन् । पटक–पटक भनिन्, ‘यदि मैले सबै रहस्य खोलिदिने हो भने लण्डन ठप्प हुनेछ । मलाई क–कसले माया गरे, मैले क–कसलाई शरीर सुम्पें बताइदिने हो भने ठूलै तहल्का मच्चिनेछ । यहाँसम्म कि मैले चाहें भने ब्रिटेनको सरकार नै गिराउन सक्छु ।’

पामेलाको यो भनाइले आगोमा घ्यु हाल्ने काम ग¥यो । उनलाई क्रिस्टिना किलरसँग जोडेर हेर्न थालियो । सन् १९६१ मा १९ वर्षीया रुसी जासुस क्रिस्टिना किलर र ब्रिटेनका युद्धमन्त्री जोन प्रोफ्युमोको यौनकाण्डका कारण त्यसबेला कञ्जर्भेटिभ पार्टीका नेता ह्यारोल्ड म्याकमिलनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । बेलायतको राजनीतिक इतिहासमा ‘प्रोफ्युमो यौनकाण्ड’ को नाउँले कुख्यात यो एक सनसनीखेज जासुसकाण्ड हो (हेर्नुस्, जनआस्थाको वर्ष २१, अंक ४०– सुराक संकलन र सुन्दरी सञ्चालन) ।’

तर पछिल्लोपटक पनि पामेला निर्दोष सावित भइन् । जासुसी संस्था एमआई–५ ले गरेको अनुसन्धानमा यौनकाण्डमार्फत उनले कुनै मुलुकको निम्ति जासुसी नगरेको प्रमाणित भयो । यद्यपि पत्रपत्रिकाले पामेलाको नग्न फोटो छाप्न रोकेनन् । अझ उत्तेजक फोटो छाप्नमा होडबाजी नै गर्न थाले । पाल रेमण्डको वयस्क पत्रिका ‘मेन ओन्ली’ ले एउटा नग्न फोटोका लागि ७६ लाख ५० हजारसम्म दिने भयो । धेरैले धेरै कुरा उछाल्न थालेपछि पामेला लण्डनबाट गायब भइन् । हङकङ, सिंगापुर हुँदै इण्डोनेसिया पुगिन् । बालीमा पापाराचीले लखेटेपछि सडक दुर्घटनामा समेत परिन् । सुन्दर अनुहारमा दाग बस्यो ।

केही समयपछि फेरि लण्डन पुगिन् । केही समयमै ‘इभनिङ स्ट्याण्डर्ड’ ले समाचार लेख्यो, ‘पामेला लिबियाइ जासुसको चक्करमा ।’ लिबियाइ राष्ट्रपति कर्नेल मोअम्मर कद्दाफीको काकाका छोरा अहमद गेद्दा फेद्दमलाई प्रेमजालमा फसाइसकेकी थिइन् । अहमद बराबर पेरिस पुग्थे । पामेला पनि पेरिस जान्थिन् । जर्ज (पञ्चम) र चाल्र्स डे गाल्सजस्ता ठूला होटलमा अहमदसँग रात बिताउँथिन् ।

अहमदले पामेलालाई निजी जेट विमानमा लिबिया लैजान्थे । हप्तौं त्रिपोलीमा बसेर लण्डन फर्कन्थिन् । बेलायत र फ्रान्सका पत्रपत्रिकाले अहमद सेनाको कर्नेल भएको र लिबिया गुप्तचर विभागको प्रमुख पनि भएको समाचार छापेपछि पामेलामाथि जासुसीको लाञ्छना लाग्यो । फ्रान्स सरकारको आग्रहमा एमआई– ५ ले फेरि अनुसन्धान थाल्यो तर अहमदको गुप्तचर विभागसित कुनै सम्बन्ध नभएको प्रमाणित भयो । लण्डन बसाइको क्रममा पामेलाको सामाजिक उचाइ माथिल्लो तहसम्म पुगेको थियो । जर्ज बुश राष्ट्रपति बनेपछि अमेरिकी दूतावासले लण्डनमा आयोजना गरेको रात्रिभोजमा उनी पनि आमन्त्रित थिइन् ।

पछिल्लो जीवनमा पामेलाले पुनः फोटो पत्रकारको रुपमा काम गरिन् । अफ्रिकाको विभिन्न मुलुक घुमिन् । सन् १९९७ मा अमेरिकाको पेन्सिलभानियामा आयोजित फोटो प्रदर्शनी ‘इण्डिया ः अ सेलिब्रेसन अफ इण्डिपेन्डेन्स’ मा सरिक भइन् । वन्यजन्तुमा आधारित १६ एमएमको एउटा चलचित्र पनि तयार पारिन् । भारतको नयाँदिल्ली, न्युजिल्याण्ड, जर्मनीलगायत अमेरिकाको विभिन्न शहरमा आफूले खिचेका फोटाहरु प्रदर्शन गरिन् । कम्बोडियाको आङकोर भाटमा एकल फोटो प्रदर्शनी गरिन् ।

पछिल्लो समय लण्डनबाट प्रकाशन हुने ‘डेली मेल’ ले पामेला कहाँ छिन् भनेर खोजी गर्दा भारतको गोवामा हिप्पीसरहको जीवन व्यतित गर्दै गरेको भेटियो । ५६ वर्षीया उनी योगा गर्दै गरेको फोटो उक्त पत्रिकाले छापेको थियो । एकपटक उनले भनेकी थिइन्, ‘मलाई यो दलदलमा चन्द्रास्वामीले फसाएका हुन् । म जासुस हैन । मैले पैसाको बदलामा प्रेम बाँडेको थिएँ । कुनै सांसद र मन्त्रीसँग सुतेको थिइनँ ।’

टिप्पणीहरू