फुली थपेपछि अलपत्र पार्न पाइन्छ ? अब कडा नियम चाहिन्छ

फुली थपेपछि अलपत्र पार्न पाइन्छ ? अब कडा नियम चाहिन्छ

नेपाल प्रहरीमा असारको अन्तिम साता भएको एआईजी हेरफेर र सरुवापछि अघिल्लो दिन बढुवा भएका एआईजी सहकुल थापा अलपत्र पर्नुभएको छ । बढुवापछि उहाँलाई मानव स्रोत र प्रशासनको जिम्मा दिइएको थियो ।

लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारले एआईजीहरुको सरुवा तत्काल रोक्न आदेश दिएपछि घटनाक्रमले नयाँ रुप लिएको हो । १४ महिनाअघि डिआईजी बन्नुभएका थापालाई नयाँ दरबन्दी थपेर असारमा बढुवा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार रहेको अवस्थामा नयाँ प्रहरी प्रमुखको लागि एआइजी बनाइनुभएका थापालाई संगठनभित्र पनि त्यहि हिसाबले हेरिएको थियो ।

तर,नयाँ सरकारको गृहमन्त्रीको आदेशपछि रोकिएको सरुवाले उहाँलाई कुन विभाग,निकाय वा निर्देशनालयको जिम्मा दिने भन्ने अन्यौल देखिएको हो । स्रोत भन्छ, ‘सरुवा भएकालाई पुरानै विभाग वा कार्यालयमा बस्न भनिएको छ, थापा पनि दौडेका छन्,तर घिउ लाग्ने सम्भावना देखिँदैन ।’गृहको आदेशपछि अरु एआइजीले पुरानै कार्यालयमा बसेर काम गरे पनि थापालाई भने हाजिर हुने ठाउँ समेत मिलेको छैन । असार २९ गते साँझ नै मन्त्रालयले दुई दिनअघिको सरुवा र पदस्थापन कार्यान्वयन नगर्नु भनेपछि थापा एकाएक ‘फाजिल एआईजी’ मा परिणत हुनुभएको त्यहिँ भित्रकाले बताउन थालेका छन् ।

ओली सरकारको अन्तिमतिर उहाँले बढुवा भएपछि कुममा तारा र गाडीमा २ वटा तारा हालेर गाडी चढ्नुभएको छ । तोकिएको कार्यकक्ष र निकाय नभए पनि उहाँले यसबीच भक्तपुरस्थित घर र कार्यालय मात्र आउजाउ गरिरहनुभएको बताइन्छ ।

यस्तै घटना यसअघि सशस्त्रमा पनि भएको थियो । त्यतिबेला त्यहाँ पाँच जना एआइजी बढी थिए भने अहिले नेपाल प्रहरीको हकमा एक जनामा लागू भएको छ । सशस्त्रका जानकी भट्टराई, निराकारविक्रम शाह,सुदिप अधिकारी,खड्ग चौधरी र राजेश श्रेष्ठलाई फाजिल दरबन्दीमा राखिएको थियो । उनीहरुको त्यतिबेला जागिर थियो,काँध र गाडीमा फुली पनि थियो तर जिम्मेवारी भने फाजिलमा रहेको अवस्था अहिले नेपाल प्रहरीमा समेत देखिएको बताइन्छ ।

सशस्त्रमा त्यतिबेला पाँच जनालाई प्रधानमन्त्री ओलीले कि राजिनामा दिनु,कि तल झरेर डिआईजीको जिम्मेवारी सम्हाल्नु भनेर समेत होच्याएको विषय निकै चर्चित भएको थियो ।

अहिले नेपाल प्रहरीमा देखिएको त्यस्तै अवस्थाको बारेमा सरकारले के निर्णय गर्छ भन्न नसकिने अवस्था उत्पन्न भएको एक जना डिआइजीले बताएका छन् । थापालाई विशेष खालको दरबन्दी सिर्जना गरेर बढुवा गरिएकाले अहिलेको क्याबिनेटले ‘नो’ पनि भनिदिन सक्ने एक थरीको बुझाई छ ।

अहिले थापाले एआइजीको फूली लगाइसक्नुभएको छ । तर जिम्मेवारी सम्हालेर कलम चोप्न भ्याउनुभएको छैन । थापाको विशेष खालको बढुवा,सरुवा र पदस्थापन नेपाल सरकारको निर्णयभित्र परेकाले ‘नो’ भन्न सक्ने आँकलनसमेत गरिएको छ । एआइजी थापाले यसबीच कार्यालयको कामको सिलसिलामा कागजमा दस्तखत वा निर्णय प्रक्रियामा सहभागी गरेको भए उक्त विषयलाई लिएर अदालतमा पर्न सक्ने थियो । त्यसैले सरकारले ती सबै पक्षलाई हेरेर नयाँ दरबन्दी नथप्ने निर्णय गरेको अवस्थामा थापाको बढुवा नयाँ पेचिलो विषय बन्न सक्ने देखिँदै गएको छ ।

यसअघि थापालाई एआइजीमा प्रस्ताव गर्दा प्रदेश समन्वयको जिम्मेवारीमा राखिएको थियो । एआइजी बनाउने क्रममा नयाँ दरबन्दी सिर्जना गर्दा अपराध अनुसन्धान र कार्य विभागलाई टुक्रायो । कार्य विभागमा पनि एक जना एआइजी राख्ने निर्णय गरियो ।

नेपाल प्रहरीको समायोजन प्रक्रिया कार्यान्वयनमा गइसकेको छ । समायोजन ऐनअनुसार नयाँ दरबन्दी थप्न नसकिने स्पष्टसँग दफा ३० मा लेखिएको छ । अब सरकारले त्यहि दफालाई टेकेर आवश्यक निर्णय गर्नसक्ने अड्कल लगाइएको छ ।

यसअघि महानगरीय प्रहरीमा एआइजीको दरबन्दी समायोजन ऐनअघि थपिएको थियो । त्यसैले समायोजनपछि त्यसले मान्यता पाएको हो । ऐनमा संरचना समायोजन र दरबन्दी हेरफेर गर्न पाइने छैन भनिएको छ । त्यसैले हालै विभाग टुक्राएर थपिएको दरबन्दीबारे सरकारले बोल्ड डिसिजन गर्नसक्ने अड्कल काटिएको हो ।

तर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जाँदाजाँदै एआइजी थापालाई समेत अलपत्र बनाएर जानुभएको छ । एकजना वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘थापाको पनि एआइजी भएपछि आइजी हुन खोज्नु अस्वाभाविक हैन । यसअघि एउटै लिष्टमा रहेकामध्ये जयबहादुर चन्दलाई छाडेर दुई नम्बरको नवराज सिलवालाई बनाउन खोज्दा भाँडभैलो भएको उनले पत्तै पाएनन् । एआइजी भएको अवस्थामा आईजीको लाइनमा बसेका सबैलाई उछिन्छु भन्ने आत्मविश्वासले काम गर्यो ।’

उनै अधिकारीका अनुसार थापामा रहर बढेपछि अहिलेको अवस्था आएको हो । ‘उनी एआइजी हुन बढुवा भएकै होइन,आइजी हुनको लागि मात्र हो । जसरी ओलीले पूरै अवधि प्रधानमन्त्री हुन्छु भनेका थिए,सहकुलले पनि एआइजी भएपछि ओलीले आइजी बनाइदिन्छन् भन्ने सोचे,’ स्रोतले भनेको छ ।

अब सरकारले एआइजीको बढुवा र सरुवाको बारेमा सबै कुरा बोलिदिन पनि सक्छ । पद कार्यान्वयनमा नगइसकेको र एउटा पनि दस्तखत नगरिसकेकाले सरकारले दरबन्दी हटाउने निर्णय गर्न सक्छ । सरकारले आफ्नो कार्यकारी अधिकारको निर्णय गर्दा थापाको पद चिप्लिन सक्नेसम्मको अड्कल काटिएको छ ।

नेपाल प्रहरीमा खालि रहेको डीआइजी पद आजै पूर्तिकाे प्रक्रिया अघि बढेकाे छ । प्रतिष्पर्धामा सबैभन्दा अगाडि रहेका सौरभ राणा बढुवाकाे लागि सिफारिस भएका हुन् । उनी यसअघि धरानमा एसएसपी हुँदा केटी काण्डमा डामिएका थिए । तर पनि वरिष्ठको आधारमा सौरभ एक नम्बरमै थिए । बढुवाको लाइनमा रहेका सुशील यादव, पूजा सिंहसमेतको चर्चा थियो ।

टिप्पणीहरू