ओलीगार्की जिउँदै छाडेर गयो ओलीतन्त्र

ओलीगार्की जिउँदै छाडेर गयो ओलीतन्त्र

– पुरुषोत्तम लम्साल

नेपालको सत्ता राजनीतिको इतिहासमा साताअघि नयाँ तथ्य र सत्य थपियो । सर्वाेच्च अदालतको परमादेशको बज्रमा परेपछि बालुवाटारबाट बालकोट सरेका जननिर्वाचित प्रधानमन्त्रीको रूपमा खड्गप्रसाद (केपी) शर्मा ओलीको नाम शिलामा कुँदेबराबर भयो । किनकि, लालमोहर लागिसक्यो । नेपालको कम्युनिष्ट राजनीतिभित्रको अन्तर–पार्टी कलह र पार्टीभित्रको अन्तरसंघर्षको यो उत्कर्ष यही पहिलो दुर्भाग्य हो । नेपाली कांग्रेसले छत्तिसे र बहत्तरेको रूपमा दशकौंअघि गरिसकेको यो अभ्यास नेकपा एमालेभित्र पुनरावृत्ति हुँदा राजनीतिका धेरै गाँठा र गुजुल्टा निर्माण भएका छन् ।

व्यक्तिको रूपमा र पात्रको रूपमा पनि यो गाँठो र गुजुल्टो इतिहासमा सदाका लागि दर्ज भएको छ । यो नठान्नुस् कि यसमा केपी शर्मा ओली मात्र बाँधिएका छन्, ओलीसँगै नेपाली वामपन्थी राजनीतिका धेरै घाघडान अनुहारहरूले दर्पण हेर्दा आत्ममूल्याङ्कन गरेर आफ्नो लिङ्ग पहिचान गर्नपर्ने स्थिति निर्माण भएको छ । केपी शर्मा ओली यथार्थ हुन् भने भ्रम को को हुन् ? केपी शर्मा ओली भ्रम हुन् भने यथार्थ को को हुन् ? अबको सयौं वर्ष नेपाली राजनीतिको अध्ययन गर्नेहरूका लागि यो प्रश्नको उत्तर किटान गर्न हम्मेहम्मे पर्नेछ ।

लुतो फाल्ने भनेर चिनिएको साउने संक्रान्तिको पूर्वसन्ध्यामा नेकपा एमालेभित्र माघेसंक्रान्तिमा चन्दनीको पाटोमा मदिरा सेवन गराएर जुधाउन छाडिएका बहरहरूको झल्को दिने गरी दृष्यसामाग्री निर्माण भए, भइरहेका छन् । एउटा पक्ष नयाँ गद्दारको पगरी सृजना गरेर तुष्टी लिइरहेको छ, अर्को पक्ष ‘देखिस्, मसँग जुँगा लडाउनुको परिणाम ?’

अहिले पनि एउटा पक्ष अदालत पुजिरहेको छ, अर्को पक्ष अदालतलाई थुकिरहेको छ । एउटा पक्ष जीतको उन्मादमा भोज, सहभोज आयोजन गरिरहेको छ, अर्को दुर्वाच्य औ दुर्वाक्यको खेतीमा मग्न छ । लुतो फाल्ने भनेर चिनिएको साउने संक्रान्तिको पूर्वसन्ध्यामा नेकपा एमालेभित्र माघेसंक्रान्तिमा चन्दनीको पाटोमा मदिरा सेवन गराएर जुधाउन छाडिएका बहरहरूको झल्को दिने गरी दृष्यसामाग्री निर्माण भए, भइरहेका छन् । एउटा पक्ष नयाँ गद्दारको पगरी सृजना गरेर तुष्टी लिइरहेको छ, अर्को पक्ष ‘देखिस्, मसँग जुँगा लडाउनुको परिणाम ?’ शैलीमा आफ्नै देवत्वकरण गर्न मरिहत्ते गरिरहेको छ ।

महाभारतमा धृतराष्ट्र शारीरिक रूपमा बिकलांग औ दृष्टिविहीन थिए तर गान्धारीले लोकलाजको घेरा देखाएर आफ्नो आँखामा पट्टी बाँधेकी थिइन् । नेकपा एमालेभित्रको तामस तमाशाले के भन्छ वा देखाउँछ भने त्यहाँ अहम्को दीर्घरोगको शिकार धेरै पुरुष गान्धारीहरू छन् जो विचारको धृतराष्ट्रलाई मयुर चढेर कुमारले कैलाश परिक्रमा गरेजसरी फन्को लगाइरहेका छन् ।

लंकाको वैभव रित्तिएको र अयोध्याको कठपुतली भएर सुग्रिवले पनि तारामाथि मात्र लीला गरेको पौराणिक दृष्टान्तबाट एमालेजनलाई कत्ति सुर्ता छैन ।

केपी शर्मा ओलीको दानवीकरण गरेर वा ओलीलाई रावण बनाएर लंका जल्दा आल्हादित मन लिने विभीषणहरू एमालेभित्रै एकातिर छन् । र, सुग्रिवको सत्तामोह पूरा गर्न बालीको बलि लिएर धर्मको जय गाउने पनि एमालेभित्रै छन् । तर, लंकाको वैभव रित्तिएको र अयोध्याको कठपुतली भएर सुग्रिवले पनि तारामाथि मात्र लीला गरेको पौराणिक दृष्टान्तबाट एमालेजनलाई कत्ति सुर्ता छैन । एमालेले आमन्त्रण गरेको यो दुर्भाग्यभित्र नेपाली लोकतन्त्रको बिद्रुप तस्वीर मात्र समेटिएको छैन, ओलीगार्की र प्लुटोक्रेसीका शाश्वत तस्वीर पनि समवेत स्वरमा बोलिरहेका छन् । र, यो तस्वीर कम्युनिष्ट नामधारी कसैका लागि पनि कर्णप्रिय नहुन पर्ने हो, तर यथार्थ दीपावलीको दीप अझै निभेको छैन ।

ओलीगार्की भनेको नेपाली राजनीतिको एक पात्र केपी शर्मा ओलीको नाममा दर्ज भएको राजनीतिक विकृति पक्षपोषण गर्ने पदावली होइन । यो हजारौं वर्षअघि ग्रिकबाट उत्पत्ति भएको शब्द हो । ओलीगार्कीले कुलीन बर्गको शक्ति संरचना, वरिपरिका व्यक्ति वा शक्तिले घेरिएर बनेको सत्ता सञ्चालन गर्न अनुमतिप्राप्त आधिकारिक संरचना भन्ने बुझाउँछ । कुनै बेला नेपालमा राजतन्त्र थियो जहाँ दरबार र मुठ्ठीभरका भारदारलाई प्रभावमा पारेर सीमित सम्भ्रान्तले शक्ति हत्याउँथे र शासनलाई नियन्त्रणमा लिन्थे । हामीले केपी शर्मा ओलीको शासनको प्रकृति केलाउने हो भने यो अभ्यास दुरुस्त रहेको फेला पार्न सक्छौं ।

हाम्रो लोकतन्त्र, हाम्रो सरकार र हाम्रा सरकारी संस्थान त्यो घेराका भारदारहरूको कठपुतलीझैं नाच्दै गएपछि कहिले उमार्गी भएर, कहिले सुमार्गी भएर कहिले ओम्नीबाट, कहिले यतीबाट यताउता गरिरहेका हुन्छन् । जब गणतन्त्रमा रेशम चौधरीहरू बाबुराम भट्टराईहरूका लागि क्रान्तिवीर र कुमार पौडेलहरू प्युसा लाग्छन् त्यतिबेला क्रान्ति र परिवर्तनका तस्वीरहरूमा लागेको धूलो पुछ्ने सामथ्र्य न केपी शर्मा ओलीसँग हुन्छ न प्रचण्डहरूसँग । परिवर्तनको बहाव केपी शर्मा ओली र प्रचण्ड दुबैमा ठोक्किएर स्थीर रहेको बेला हामीले आइज्याक न्यूटनको चालका नियमहरू केलाएपछि मात्र राजनीतिका गतिको अनुमान गर्नपर्ने हुन्छ । यो गतिमा कहीं माधव नेपाल ठोक्किएलान्, कहीं शेरबहादुर देउवा ठोक्किएलान्, त्यसको बहिखाता राजनीति केलाउनेहरूको घर्र्रामा सुरक्षित नै हुन्छ ।

ठालुतन्त्रको निर्माण र विस्तार हाम्रो लोकतन्त्रको स्थायी चरित्र हो भने हामीले केपी ओली जाँदा मूर्दावाद भन्नु र शेरबहादुर देउवा आउँदा जयजयकार गर्नुको अर्थ र उपादेयता दुवै रहन्न ।

धेरैका लागि अहिले माधवकुमार नेपाल रुसो जस्तो लाग्लान् र प्रचण्डगण थोमस जेफर्सनका असली अनुहार । यथार्थतामा केही होइन । सङ्कुचित घेराका लागि आफ्नो सबैथोक त्यागिदिने समूह र व्यापारिक स्वार्थका लागि सबैथोक आत्मसमर्पण गरिदिने चरित्रबीच बीसको उन्नाइस भिन्नता छैन भनेर राजनीतिको व्याख्या गर्नेहरूले बुझिदिंदा केही बिग्रन्न । किनकि, ओलीगार्की र प्लुटोक्रेसीबीच अहम् भिन्नता भनेको शासन चलाउनेलाई नियन्त्रणमा लिने स्वार्थसमूहको अभ्यासमा मात्र हुन्छ चरित्रमा हुँदैन ।

किनभने, धनीहरूको नियम, बन्धन र शक्तिमा बाँधिएको तन्त्र वा शासन वा सत्ता प्लुटोक्रेसी हो । धनी समूह, व्यापारिक घराना वा व्यावसायिक साझेदारहरूको हितका खातिर नीति बनाउने र निर्णय लिने तन्त्र हिजो पनि हामीले प्रचण्डको कार्यकालमा देखेकै हौं र आज पनि केपी ओली भोगेकै हौं । असमानता, अनुचितता र ठालुतन्त्रको निर्माण र विस्तार हाम्रो लोकतन्त्रको स्थायी चरित्र हो भने हामीले केपी ओली जाँदा मूर्दावाद भन्नु र शेरबहादुर देउवा आउँदा जयजयकार गर्नुको अर्थ र उपादेयता दुवै रहन्न । जसरी निश्चित वा सीमित व्यक्ति वा समूहको मति र गतिमा निर्देशित हुने सत्ता ओलीगार्की हो र त्यसरी नै सम्भ्रान्तहरू चाहे ती बैदेशिक स्वार्थनिर्देशित समूह हुन् चाहे राष्ट्रिय पुँजीपतिको स्वार्थमा चल्ने धनीतन्त्रका मतियार प्लुटोक्रेसी चरित्र हिजो पनि उही हो र आज पनि त्यही हो ।

जनताका मुद्दालाई निषेध गर्ने चरित्र जसरी हिजो ओलीगार्कीको प्रतिनिधित्व गर्ने ओलीतन्त्रसँग थियो, भोलि देउवाले नेतृत्व गर्ने प्लुटोक्रेसी चरित्रसँग पनि उस्तै हुन्छ भने हामीले जीत र हारको व्याख्या गर्नु अर्थहीन हुन्छ । व्यवस्था एकै हो, शासनलाई नियन्त्रणमा लिने चरित्र र तिनको अभ्यास केलाउनेका लागि नेकपा, एमाले र तिनभित्रका विवाद र असहमतिका निश्कर्षमा कुनै अन्तर छैन भनेर बुझ्नु नै आजका लागि सबैभन्दा बुद्धिमानी सन्दर्भ हुन्छ ।

बाध्यकारी र अनिवार्य शासनको आदेश चलाउने व्यवस्था जहाँ राजनीतिक बिचौलियाहरूको सम्बन्ध सत्ताका प्राधिकारहरूको नाइटोसँगै जोडिएको हुन्छ भने भैंसी व्याएर पाडो पाए पनि पाडी पाए पनि बिगौती खाने त बिचौलिया नै हुन्छन् । हामी अहिले पनि राजनीतिका बिचौलियाहरूको सत्ता अभ्यासमा अभ्यस्त छौं । यो अभ्यासमा हाम्रा आदर्श राजनीतिक दलहरू प्राणहीन फगत पुत्ला मात्र हुन् भनेर अब सबैले स्वीकार गर्नपर्ने तथ्य विकास भएको छ । दलगत राजनीति जब अदालतको मुठ्ठीमा कैद हुन्छ त्यो बेला लोकतन्त्रका अभ्यासहरू संस्थागत हुन्छन् र तिनले आफैंमा दीर्घ चरित्र प्राप्त गर्दछन् भनेर बुझ्नु किमार्थ जायज हुँदैन । दलीय तन्त्र अदालती दलदलमा जाकिंदै जाँदा कसरी स्वर्गको सपना बाँडेको नेकपा नरकको भासमा जाकियो भनेर बुझ्नेलाई ओलीतन्त्रको पतन र यसभित्र समेटिएका अनुहार कतै मुहुनीमय लाग्दैनन् ।

ओली राजनीतिको खराब अभ्यास गर्ने पात्र थिए र भए त्यसैले ती गए । यो सत्य अब बंग्याउन सकिँदैन । तर ओलीतन्त्रको खिलाफमा हामीले गरेको अभ्यासले पनि ओलीगार्की र प्लुटोक्रेसीविरुद्ध कहीं कतै उभ्याउँदैन भने सबैले दिल खोलेर भने हुन्छ– हामीले पुरानो ओली फालेर नयाँ ओली प्रतिस्थापन गरेका छौं । यो त्यतिबेलासम्म जायज ठहरिन्छ जुनबेलासम्म हामीले राजनीतिक समूहहरूको अबैध सम्बन्ध परीक्षण गर्दैनौं र भ्रष्ट नोकरशाहीको जाँच गर्दैनौं । त्यसैले समीक्षा ओलीतन्त्रका पक्षधरहरूले मात्र होइन ओलीतन्त्रविरोधी सबैले उत्तिकै निर्मम ढंगले गर्नपर्ने बेला भएको छ । ओली, माधव नेपाल वा पुष्पकमल दाहाललाई केन्द्रमा राखेर होइन ओलीगार्की र प्लुटोक्रेसीलाई केन्द्रमा राखेर हेरौं केपी शर्मा ओली त हारे तर ओलीगार्की हारेको छैन, प्लुटाक्रेसी हारेको छैन । हार त अरस्तुले भनेजस्तै लोकतन्त्रको विद्रुप अनुहारहरूको भएको छ ।

टिप्पणीहरू