बिग्रेका कम्युनिष्टबाट गरिब बर्बाद

रूपमा कम्युनिष्ट, सारमा सामन्ती रहेछन् । त्रिभुवन विश्वविद्यालयबाट रिटायर्ड बुद्धिजीवी, कानुनी क्षेत्रका ज्ञाता, माले पार्टीका पोलिब्युरो सदस्य यिनै भूपू मन्त्रीको सामन्ती व्यवहारबाट म घर न घाटको भएँ । जीवनका ऊर्जाशील समय खाडी मुलुकमा पुगेर कमाएको सम्पत्तिमा गिद्धे नजर लगाए र श्रीसम्पत्ति उडाइदिए । साना दुई लालाबालाको बिचल्ली बनाइदिए, आँशु र श्राप लाग्नेछ जीवनभर मेरा सन्तानको पूर्वमन्त्री खगेन्द्र प्रसार्इंलाई ।

म दुर्गा परियार, लमजुङ, बेशीशहरमा जन्मेको दलितको बच्चा । जिल्लाको नाममा मसँग सिर्फ एउटा नागरिकताको प्रतिलिपिबाहेक केही छैन । विवाहबारी गरेर श्रीमतीको कोखमा बच्चा हुर्कंदै गर्दा पुगें खाडी मुलुक । साढे तीन वर्ष पसिना होइन, रगत बगाएँ । यो त्यही समयको कुरा हो । जुन समय नेपालको राजनीतिमा एउटा कम्युनिष्ट सरकार ढालेर अर्काे कम्युनिष्ट सरकारको उदय हुँदै थियो अर्थात् झलनाथ खनाल प्रधानमन्त्री हुँदाको समय ।

यही मन्त्रिमण्डलमा अटाए माले महासचिव सिपी मैनालीका कान्छा मामा खगेन्द्र प्रसाईंं संस्कृति तथा पर्यटनमन्त्रीको रुपमा । पिए नारायण पोखरेल । उनैले हो, आग्रह गरेको विदेशमा गाडी चलाएर आएको मान्छे, त्यसमाथि दलित समुदायको व्यक्तिलाई राख्दा हामी र पार्टीलाई पनि राम्रो हुन्छ भन्छ । त्यही सोचेर मन्त्री प्रसार्इंको गाडीचालक बस्न आग्रह गरे ।

अहोभाग्य, सोचें– अब बिदेसिन्नँ, यही माटोमा सुन फलाउँछु । मन्त्रीको सेवा गर्ने अवसर पाएसँगै जहान, बच्चा काठमाडौंमै ल्याएँ । तर, झलनाथ खनाल नेतृत्वको सरकार महिना नपुग्दै ढल्यो । स्वाभाविक थियो, मन्त्री गएसँगै मेरो नोकरी पनि धरापमा प¥यो । मन्त्रीपदबाट खुस्किएको पाँच÷सात दिनपछि उनै खगेन्द्रले मेरो जग्गा छ भक्तपुरमा, हेर्न जाऊँ भने । गाडी चलाउँदै सिपाडोलतिर लम्किएँ । त्यहाँ जाँदा उनकी श्रीमती मीरा पनि साथमै थिइन् । खै के भएर हो मीरा जग्गा आइपुग्नुभन्दा अगाडि नै ओर्लिन् । खगेन्द्र र म जग्गा भएतिर गयौं । उनले जग्गा देखाए । केही आफ्नो र केही साथीको । चल्तीको मूल्य ४ लाख तर मैले लिने भए दुई लाख आनामा दिने बताए ।

खाडी मुलुकमा गएर कमाएको धेरथोर पैसा थियो । काठमाडौंमा जग्गा किन्न पाए हुने लागिरहेको थियो । जग्गा किन्ने निर्णय गरें । ढाडमा धाप मार्दै भने– मेरो एउटा छोरा थियो, आजबाट दुईवटा भए । तिमी पनि छोरा भयौ । मेरो सदियार भयौं । मन त्यसै–त्यसै पुलकित भयौं । तत्कालै हिमालयन बैंक ठमेल शाखामा पुगें । उनले भनेबमोजिम दुई लाख रुपैयाँ ल्याएर दिएँ । कागजात लेखे वसन्तराज स्याङतानले, मलाई भनिएको थियो त्यो जग्गा उनै वसन्तको हो ।

प्रतिलिपि सुरक्षित छ । जसमा भनिएको छ– सिन्धुली अमले बस्ने श्यामकाजी स्याङतानलाई घरखर्च चलाउन र उपचार गर्न पैसा आवश्यक परेको हुँदा दुई लाख रुपैयाँ ऋण लिएको छु । उक्त रूपैयाँको बोलकबोल के थियो भने भक्तपुर सिपाडोल–९ को कित्ता नम्बर १२९८ को उत्तर पश्चिमपट्टि १० फिट कच्चीबाटो भएको ४ आना जग्गा लिने र उक्त जग्गाको बैनास्वरूप दुई लाख रुपैयाँ दिने साक्षी बसे उनै मन्त्री प्रसाईंं । त्यसको केही समयपछि घर बनाउन पैसा चाहियो, छोरा अष्ट्रेलियामा छ, उसले अर्काे महिना पठाउँछ त्यतिञ्जेललाई सापटी देऊ भने, फेरि लगेर अरू साढे दुई लाख दिए ।

यता, कागजात गर्दा भनिएको थियो, जग्गा पुस महिनाभित्र रजिस्ट्रेसन पास गराइदिने । दिन, हप्ता, महिना गर्दै कात्तिक–मंसिर, पुस बित्यो । तर, जग्गा पास गराउनेबारे न खगेन्द्रले चासो देखाए न त श्यामकाजीले । पटक–पटक आग्रह गरें । कहिले के भनेर टारे, कहिले के भनेर झुलाए । बारम्बार कति आत्तिएका छौ, भइहाल्छ भन्थे ।

मन्त्री भइसकेका मान्छे, समाजका गन्यमान्य, त्रिवि कानुनी सेवामा समेत नोकरी गरेका । राज्यका हरेक अंगले चिनेको र पुजेको मान्छे, सयमा एक प्रतिशत पनि शंका थिएन यिनले ममाथि गद्धारी गर्लान् भनेर । तर, सधैंको आलटाल भएसँगै मनमा अलिकति चिसो पस्यो । मालपोतमा पुगेर जग्गा रोक्का गर्न खोजें । त्यहाँ पुग्दा पो छाँगाबाट खसेजस्तो भएँ, मलाई जुन जग्गा देखाएका थिए, त्यो किर्ते रहेछ । श्यामकाजी स्याङतानको नाममा भएको भनिएको जग्गा धर्मरत्न, सूर्यरत्न शाक्यको नाममा ।

यो बीचमा गोपाल किराती, नारायण खड्काहरू मन्त्री बनेर आए । तिनका सवारी चलाएँ । तर, आफूले खाडीमा कमाएको पैसा मन्त्रीले यसरी मेरो सोझोपनको फाइदा उठाएर फकाइ–फुलाई उडाएपछि अरू उपाय केही रहेन, साथीहरूको सल्लाहमा उनीहरूकै पार्टी कार्यालयमा निवेदन दिएँ । केही सुनुवाइ भएन । म चाहन्थें, मन्त्री भइसकेका मान्छेको बेइज्जती नहोस् । तर, इज्जत हुनेलाई नै हो बेइज्जतको डर हुने । जसको इज्जत छैन, उसलाई बेइज्जतको केको डर ? कहीँबाट केही पार नलागेपछि अन्त्यमा कानुनी बाटो रोजें, मुद्दा हालें । नेपाल सरकारको मन्त्री भइसकेका यी विद्वान्लाई ०६९ सालको वैशाख १२ गते प्रहरीले पक्राउ ग¥यो । अर्काे ठग वसन्त स्याङतान फरार रहे । तर, सानालाई ऐन, ठूलालाई चैन भएको मुलुक न प¥यो ! नौसिङे कानुनले प्रसाईंंलाई धरौटीमा छाडिदियो । मजस्ता एउटा श्रमिकको पाँच लाख रूपैयाँ चुसेर मोटाएका खगेन्द्र प्रसाईं दुई लाख धरौटीमा रिहा भए । न्याय पाउने सपनामा तुषारापात लाग्यो ।

सर्वहारा वर्गको हितका खातिर राजनीति गरेको एउटा कम्युनिष्ट नेताबाटै मजस्तो एउटा गरिब, विपन्न र दलित समुदायको मान्छे लुटिएँ, बर्बाद भएँ । मेरा सपना चुँडिए, खाडी मुलुकमा तीन वर्षसम्म बगाएको रगत–पसिनामा भूपूमन्त्रीले रजाइँ गरे । मेरो मात्र होइन, आफ्ना साली मञ्जुको समेत पाँच लाखभन्दा बढी रकम खाइदिएका रहेछन् ।

मुद्दा दायर गरेर पूर्वमन्त्री प्रसार्इं जेल पर्दा श्रीमती मीराको भनाइ सुन्दा अझै छक्क परें । उनले ‘मलाई किन मुद्दा हालिनस्’ भन्दै सोधेकी थिइन् ।  

यो विषयलाई लिएर पटक–पटक माले महासचिव सिपी मैनालीलाई भेटें । उनले पनि एक कानले सुनेर अर्काेले उडाइदिए ।
अहिले खानेपानी मन्त्रालयका सहसचिव शंकरप्रसाद सुवेदीको गाडी चालक । करारको जागिरे । मासिक १८ हजार हात पर्छ । महिनाभर काम ग¥यो हालत उही चिल्लै । विदेशमा खटिइन्थ्यो, मासिक ९० हजार हाराहारी कमाइन्थ्यो । छुट्टीमा घर आएका बेला मन्त्रीको गाडी चलाउने काम मिल्यो । तर, फसें उठ्नै नसक्ने गरी । लुटिएँ, चुसिएँ एउटा नामको कम्युनिष्ट व्यवहारको सामन्तीबाट । मजस्तो निमुखाको रगत–पसिना चुसेर ढाडिएका खगेन्द्र अहिले झापातिर पुगेका छन् । पैसाका लागि तारन्तार फोन सम्पर्क गर्छ,ु कहिल्यै सम्पर्कमा आउँदैनन् ।

म र मजस्ता कति गरिबको रगत–पसिना चुसे होलान् यिनले ? आफ्ना छोराछोरीलाई हामीजस्तै गरिबको रगत–पसिना चुसेर अष्ट्रेलियामा पढ्न पठाएका छन् । पाप त एक दिन लाग्छ नै ! खगेन्द्र सर ! ढिलो–चाँडो पापको सजाय भोग्ने नै छौ । दुई अबोध छोरीको आँशुले र मेरा श्रापले तिमीलाई जिन्दगीभर पोल्नेछ निश्चय नै !
– दुर्गा परियार, हालः खानेपानी मन्त्रालय 

टिप्पणीहरू