भारतको फोन ट्यापिङ्गले नेपालमा हङ्गामा - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

भारतको फोन ट्यापिङ्गले नेपालमा हङ्गामा



दिल्लीस्थित नेपाली राजदूतसहित कयौँ भारतीय पत्रकार,राजनीतिज्ञ, कूटनीतिज्ञलगायतको फोन ह्याक गरिएको घटनाले नेपालमा समेत त्रास फैलिएको छ । आफ्नो फोन–ट्यापिङको आशंका गरिरहेका केही राजनीतिक दलका नेता तथा पत्रकार भारतमा ‘पेगासस’ नामक सफ्टवेयरमार्फत धेरैको फोन जासुसी भएको सूचना बाहिरिएपछि भयभित भएका हुन् ।

नेपालमा अहिलेसम्म पेगाससको आक्रमणबारे कुनै जानकारी बाहिरिएको छैन । तर,केही राजनीतिक दलका शीर्ष नेतादेखि चर्चित पत्रकारसम्म फोन–ट्यापिङमा परेको आशंका भने गरिएको छ । नाम उल्लेख नगर्ने शर्तमा उच्च जानकार स्रोतले राज्य संयन्त्रमार्फत केही व्यक्तिको फोन–ट्यापिङमा परेको बतायो ।

त्यसो त राजनीतिक दलका नेताहरुले फोनमा कुरा गर्न हिच्किचाउनु,भाइबर वा ह्वाट्सएपमा कुरा गर्न चाहनुले पनि त्यस्तो आशंकालाई बल पुर्याएको देखिन्छ । फोनमा भएका गोप्य कुराकानीका आधारमा राज्य संयन्त्रमार्फत तत्कालीन सरकारसमक्ष सूचना पुग्ने गरेको कतिपयले दाबी गर्ने गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्रीले जसरी एकपछि अर्को मुभ गर्नुभयो र गोप्य सूचना बालुवाटार पुगेको भनियो,त्यसले हामीलाई आशंका बढाएकै हो’

‘तत्कालीन प्रधानमन्त्रीले जसरी एकपछि अर्को मुभ गर्नुभयो र गोप्य सूचना बालुवाटार पुगेको भनियो,त्यसले हामीलाई आशंका बढाएकै हो’,एक नेताले भने । यसबारे खुलेर कुरा गर्न नचाहेका ती नेताले विपक्षीहरुका गोप्य सूचना बालुवाटार पुग्ने गरेको दाबी भने गरे ।

नाम चलेका केही पत्रकारहरुको पनि फोन ट्यापिङमा परेको जानकार स्रोत बताउँछ । यद्यपि स्रोतले थप पुष्टि गर्न भने मानेन । कतिपयले भने तत्कालीन प्रधानमन्त्री केपी ओलीको सचिवालयमार्फत विरोधीहरुका सूचना चुहाउन फोन ट्यापिङ गरिने गरिएको दाबी गरेका छन् । नेताहरुले फोनमा गरेका गोप्य कुराकानी बालुवाटार पुगेको गुनासो पटक-पटक सुनिने गरिएको छ । तर,त्यतिबेलै ओलीको सचिवालयले फोन ट्यापिङको आरोपको खण्डन गरेको थियो ।

विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको हठात प्रस्तावबारे निवर्तमान प्रधानमन्त्री केपी ओलीले तत्काल जानकारी नपाउनुलाई सत्ता बहिर्गमनसँगै सूचनाको पहुँचबाट पनि बाहिरिएको विश्लेषण पनि गरिन्छ । यद्यपि त्यसको औपचारिक पुष्टि गर्ने आधार भने भेटिएको छैन । जे होस्,विरोधीहरुको सूचना लिन सत्तामा हुनेले फोन ट्याप गर्ने गरेको आरोप भने लागिरहेको छ ।

“के नेपालमा सत्तामा हुने सबैले अनाधिकृत सूचना लिने गर्छन् ?”

के नेपालमा सत्तामा हुने सबैले अनाधिकृत सूचना लिने गर्छन् ? सरकारमा हुँदा राज्यका संयन्त्रहरुमा सहज पहुँच हुने भएकाले सत्ताधारीले खास परिस्थितिमा त्यसरी सूचना लिने गरेको हुनसक्ने बताइन्छ । गुप्तचर निकायदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले फोन कुराकानीलाई निगरानी गर्ने गरेको विगतमा पनि सुनिँदै आएको हो । तर,नेपालमा फोन ट्यापिङ गर्न कानुनले बर्जित गरेको छ । अपराधको अनुसन्धानका लागि अदालतले अनुमति दिएपछि मात्रै कुनै व्यक्ति वा कुनै टेलिफोन नम्बरका सम्बन्धमा सूचनामा पहुँच दिनसक्ने व्यवस्था छ ।

अस्ति भारतका कयौँ पत्रकार,राजनीतिज्ञ, कूटनीतिज्ञलगायतको फोन ह्याक गरिएको सनसनीपूर्ण समाचार फैलियो । इजरायलस्थित गैरसरकारी संस्थाले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत भारत सरकारले आफ्ना विरोधीहरुका बारे गरिएको जासुसीमा दिल्लीमा रहेका नेपाली राजदूतको ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिर आएको थियो ।

विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेयरले भारतका लागि नेपाली राजदूत राजनीतिकर्मी,कूटनीतिज्ञ, सञ्चारकर्मी र मानवअधिकारकर्मीको समेत फोन ट्यापिङ भएको बताइन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
मन्त्रीलाई स्वागत गर्दैमा रोकियो श्रीमानहरुको सरुवा
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add