कहिले “गध्दार” को बात,कहिले “माया” को हात

कहिले “गध्दार” को बात,कहिले “माया” को हात

नेकपा एमालेको अन्तरकलह अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालकै वरिपरी गुजुल्टिएको छ । विवाद समाधान नहुनुमा वैचारिक सांगठानिक अन्तरविरोध भन्दा पनि दुई नेताका परस्पर विपरित स्वभाव,कार्यशैली र प्रवृत्ति बढी निर्णायक रहेको मानिन्छ । ओलीलाई अडान भएका नेताको रुपमा प्रस्तुत गरिँदा नेता नेपाललाई भने ‘अस्थिर’ पात्रका रुपमा हेर्ने गरिन्थ्यो ।

तर,पछिल्लो समय ओली र नेपालप्रतिको आम बुझाइ परिवर्तन हुन थालेको छ । ओलीका चट्टानी अडान क्रमश: स्खलित हुँदै जान थालेका छन् भने नेता नेपाल आफ्नो अडानमा देखिनुभएको छ । हुन त राजनीतिमा यस्ता कुरा स्वभाविकै मानिएलान् । तर,अरुलाई अस्थिर चरित्रको आरोप लगाउने ओलीको ‘चट्टानी अडान’ पछिलो समय एकपछि अर्को रुपमा स्खलनले धेरैलाई अचम्मित बनाएको छ  ।

बालुवाटारबाट निजी निवास सरेकै दिन बालकोटको बार्दलीमा उभिएर ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिँदै एमालेमा ढोका बन्द भएको घोषणा गर्नुभएको थियो । त्यसको तीन दिनपछि पार्टीको औपचारिक फोरममै उहाँले नेपाललाई दोस्रो अध्यक्ष मानेर जान आफू तयार रहेको उद्घोष गर्नुभयो । आफैंले गद्दार घोषणा गरेका नेतालाई दोस्रो अध्यक्ष स्वीकार गर्न तयार भएपछि ओलीको ‘चट्टानी अडान’ क्षणभरमै चर्किएको हो ।

‘उहाँ (ओली)लाई माधव नेपाल चाहिएको होइन,हाम्रो शक्ति चाहिएको हो । बाहिर भन्न नसके पनि उहाँले हाम्रो शक्ति देखिसक्नुभएको छ । त्यो शक्तिलाई छोडेर चुनावमा जाँदा हार व्यहोर्नुपर्छ भन्ने चिन्ता लागेको होला ।”

त्यसो त,ओलीको चट्टानी अडानको स्खलन बार्दलीबाट शुरु भएको होइन । यसअघि पनि पटक-पटक उहाँले आफ्ना पुराना निर्णय र अभिव्यक्तिलाई खण्डन हुने गरी अर्को निर्णय गरिरहनु भएको छ । आफूलाई विश्वासको मत नदिएका नेपाल पक्षका २७ सांसदलाई कारवाही गर्ने उहाँको चेतावनी कार्यान्वयनमै आएन । अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नभए पार्टी एकताको प्रक्रिया बन्द हुने उहाँको चेतावनी थियो । तर,अदालतको फैसला पछि पनि पार्टी एकताका लागि उहाँ निकट नेताहरुको दौडधुप रोकिएको छैन । पटक-पटकका २४ घण्टे स्पष्टीकरण त अलपत्र परेकै छ । पछिल्लो पटकको २४ घण्टे स्पष्टीकरणको जवाफ नआएपछि उहाँले फेरि पुरानो मिति राखेर अर्को पत्र पठाउनुभएको छ ।

सत्ता बहिर्गमनले राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा पुर्याएपछि कठोर ओली नरम रुपमा प्रस्तुत हुन बाध्य बनेको धेरैको विश्लेषण छ । गद्दार भनिएका नेता नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार हुनुको पछाडि ओलीको शक्तिमा आएको ह्रास नै मुख्य कारण रहेको बताइन्छ ।

एमालेको संस्थापन पक्षकै एक नेताका अनुसार जारी केन्द्रीय कमिटीको बैठकमा प्रदेश तहबाट आएका रिपोर्टमा नेपाल पक्षको वास्तविक शक्ति बुझेपछि ओली नरम बन्न बाध्य हुनुभएको हो । पार्टी एकताको आवरणमा ओलीले नेपाल पक्षको शक्तिलाई स्वीकार गरेको टिप्पणी पनि हुने गरेको छ ।

बाहिर दोस्रो अध्यक्ष स्वीकार गर्छु भने पनि ओलीको चाहना भने माधव नेपाल बाहेकको एमाले बनाउने देखिन्छ । नेपाल समूहका नेतालाई आफूतिर तान्ने र माधवलाई एक्ल्याउने रणनीतिका साथ कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन गरिएको बताउनेहरु पनि छन् । १० बुँदेले नेपाल समूहका अधिकांश नेता आफूतिर आउने ओलीको आंकलन छ ।

एमालेका एक नेता भन्छन्, ‘उहाँ (ओली)लाई माधव नेपाल चाहिएको होइन, हाम्रो शक्ति चाहिएको हो । बाहिर भन्न नसके पनि उहाँले हाम्रो शक्ति देखिसक्नुभएको छ । त्यो शक्तिलाई छोडेर चुनावमा जाँदा हार व्यहोर्नुपर्छ भन्ने चिन्ता लागेको होला । त्यसैले पनि उहाँ पार्टी एकता भन्दा पनि यताका नेता-कार्यकर्ता चोर्ने दाउमा हुनुहुन्छ ।’

यता, नेता नेपालले भने ओलीको दोश्रो अध्यक्षको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको छ । उहाँले दोस्रो अध्यक्षको भ्रममा नपर्न आव्हान नै गर्नुभएको छ । हिजो उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुग्नुभएका नेता नेपालले दोस्रो अध्यक्षको भ्रममा नपर्न आग्रह गर्नुभएको थियो ।

नेपाल पक्षले पार्टीलाई विधि, पद्धतिमा चलाउन र संस्थागत निर्णयका लागि संघर्ष गरिरहेको भन्दै पदको लोभ देखाएर ओलीले आफूहरुले उठाएका मुध्दा कमजोर बनाउन खोजेको आरोप लगाएको छ । पुस ५ यता ओलीले गरेका राजनीतिक र संवैधानिक निर्णयलाई अपराधपूर्ण कार्य भन्दै नेपाल समूहका अधिकांश नेताले ओलीले जनता र पार्टीसामु माफी माग्नुपर्ने बताउँदै आएका छन् । अन्यथा ओलीसँग एकता हुन नसक्ने नेपाल समूहको प्रष्ट अडान छ ।

परिस्थितिले हिजो अस्थिर भनिएका नेतालाई चट्टानी अडानमा पुर्याएको छ भने चट्टानी अडानको पर्यायवाची भनेर प्रचार गरिएका नेता चैं अस्थिर चरित्रमा बदलिएका छन् ।

टिप्पणीहरू