जनकपुरमा मन्त्री र सचिवको बिजोग, एसीवाला गाडीमा हुईंकिने सचिवको भागमा साइकल

जनकपुरमा मन्त्री र सचिवको बिजोग, एसीवाला गाडीमा हुईंकिने सचिवको भागमा साइकल

मन्त्री र सचिवको बस्ने कार्यकक्षको टुंगो नहुँदा २ नम्बर प्रदेशको राजधानी जनकपुरमा भाँडभैलो मच्चिएको छ । एउटा मन्त्रालयको एउटै कार्यकक्षमा दुई जना सचिव बस्नुपर्ने स्थिति पैदा भएपछि अहिले दुई सचिवबीचको झगडा उत्कर्षमा पुगेको छ ।

उपेन्द्र यादव र महन्थ ठाकुर खेमाबीच लफडामा भएपछि प्रदेशका मन्त्रीहरु हेरफेर गर्न त्यहाँ मन्त्रालय फुटाइयो । अहिले न मन्त्री, न सचिवलाई दुबैको कार्यकक्ष नहुँदा यस्तो स्थिति सृजना भएको हो ।

अहिले त्यहाँको भौतिक पूर्वाधार मन्त्रालयमा दुई सचिव खटाईंदा कार्यकक्ष र कुर्सीको लफडा उत्कर्षमा पुगेको त्यहाँका कर्मचारीले जनआस्थालाई सुनाएका छन् । र, यो लफडामा रामआधार साह र दीपककुमार दास मुछिएका छन् ।

अनिल झा उद्योग मन्त्री हुँदा उनैले टपक्क टिपेर बालाजुमा रहेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागमा लगेका थिए साहलाई ।

विज्ञान प्रविधिका विद्यार्थी रामआधार साह त्यहाँ पुगेलगतै उनले उपत्यकाका पेट्रोल पम्पहरुलाई एउटा सफ्टवेयर बेचे । त्यो यस्तो सफट्वेयर थियो, जस्ले पेट्रोल भर्दा सवारी साधनमा आधा हावा हालेर उपभोक्तालाई ठग्दथ्यो ।

पम्पवालाहरुले मुनाफा कमाउने तर उपभोक्ताको ढाड सेकिने, तेलको ठाउँमा हावा आउने भएपछि त्यही सफट्वेयर बेचेर उनले मनग्य कमाउन सफल भएका हुन् । यो मामला पत्ता लागेपछि उपभोक्तावादी ज्योति बानिँयाहरु जुर्मुराएर र उनी तथा पम्पवालाविरुद्ध मुद्दा मामिला गरे ।

केही वर्ष निलम्बनमा परेका उनी उच्च अदालतका श्रीमानहरुमार्फत चलखेल गरी सफाई पाए । विमलेन्द्र निधि गृहमन्त्री हुँदा सेटिङ मिलाएर उनले उन्मुक्ति पाएका हुन् ।

बदलामा विमलेन्द्रको छोराका विवाहको खर्च उनै रामआधारले बेहोरिएको बताइन्छ । प्राविधिक सेवाका उनी प्रशासन पट्टी छिर्ने प्रयास गरे, विमलेन्द्रले क्याबिनेटमा प्रस्ताव पनि लगे तर पारित हुन सकेन ।

सहसचिवमा उक्लिएपछि उनको पोष्टिङ २ नम्बर प्रदेशको भौतिक योजना मन्त्रालयमा भएको हो । त्यहाँको राज्यमन्त्री थिइन् डिम्पल झा, जो उनै अनिलकी श्रीमती हुन् । २ नम्बर प्रदेशमा उपेन्द्र यादव र महन्थ ठाकुरको लफडा भएपछि सरकार हेरफेर भयो । त्यहाँ विमलेन्द्र निधिका दाहिने हात मानिएका रामसरोज यादव मन्त्री बने भने डिम्पल हटिन् ।

मन्त्रीहरुलाई भागबण्डा मिलाउन त्यहाँ मन्त्रालय फुटाइयो । भौतिक पूर्वाधार फुटाएर खानेपानी र ऊर्जा मन्त्रालय बनाइयो । यी दुबै मन्त्रालय सम्हालिरहेका थिए रामआधारले । तर अस्ति शुक्रवार त्यहाँ सचिवका रुपमा दीपककुमार दासलाई खटाइएको छ ।

रामआधारको पोष्टिङ ऊर्जा र खानेपानीमा भएको भए पनि कार्यकक्ष एउटै हुँदा उनको कुर्सीमा दीपककुमार दासले कब्जा जमाएपछि अहिले रामआधारको रुवाबासी शुरु भएको बताइन्छ ।

उनले पाएका सवारी साधनहरु पनि खोसिएका छन् । कार्यकक्षमा नयाँ सचिवले कब्जा जमाएपछि अहिले रुवाबासी मात्र शुरु भएको छैन, उनी साइकलमा सीमित भएका छन् ।

टिप्पणीहरू