चम्पादेवीमा पुष्पलाल स्मृति मनाइयो

चम्पादेवीमा पुष्पलाल स्मृति मनाइयो

किर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस मनाइएको छ । आज बिहान पुष्पलालको शालिकमा माल्यार्पण गरेपछि कार्यक्रम शुरु भएको हो ।

प्रमुख अतिथि तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत झण्डै ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिनिधि सभाका सदस्य सुरेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश सभाका सदस्य राजेन्द्रप्रसाद पाण्डे, पुष्पलालकी जेठी छोरी उषा श्रेष्ठ, कान्छा छोरा उमेशलाल श्रेष्ठ, किर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्का रिजाल, प्रतिष्ठानका कोषाध्यक्ष मोहनबहादुर केसी, वामपन्थी लेखक गोपीरमण उपाध्याय, प्रतिष्ठानका महासचिव गंगालाल तुलाधर, पुष्पलालकी बहिनी पुष्पलता श्रेष्ठको समेत उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालले पुष्पलालपथले कहिल्यै निरंकुशता नसहने बताउनुभएको छ । कम्युनिष्ट पार्टी सँधै इमान्दारहरुबाट बन्नुपर्ने, सत्ता र शक्तिको लोभ गर्न नहुने भन्दै नेपालले छिमेकी मित्रराष्ट्र चीनमा कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहँदा यता हाम्रो अवस्था ठिक विपरित टुट फुटमै रमाउने वातावरण बनिरहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु ठिक ढंगले चल्न जरुरी छ । कम्युनिष्ट बिग्रेमा अरुभन्दा धेरै गन्हाउने भएकाले त्याग, तपस्या, स्वार्थरहित हिसाबले पार्टीमा लाग्नुपर्छ ।’

एमालेभित्रको अवस्थालाई उहाँले आफू पर्ख र हेरको अवस्थामा रहेको बताउनुभएको छ । उहाँको भनाई थियो, ‘आफँैले बनाएको घरमा अपमान र कुकर्म सहेर बसिँदैन । शक्तिमा जो पुगेपनि सच्चा कम्युनिष्टलाई फरक पर्दैन । किनकी कम्युनिष्ट कसैको पनि दास हुन सक्दैन ।’

अहिले देखिएको बाँदर र स्याल हुँईंया जुलुसले केही फरक नपर्ने उहाँको भनाई छ । कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै त्यसको प्रतिफल पाउने नेपालको तर्क छ । आफ्नै मानसिकता र सभ्यतालाई सुसंस्कृत नबनाएसम्म सुसंस्कृत राष्ट्र बनाउन नसकिने बताउँदै नेपालले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा सिद्धान्त, साम्यवाद, समाजवाद र सिर्जनशीलता अपरिहार्य मान्यता हुन् तर हाम्रोमा नेतालाई प्रधान मान्न थालिएको छ । यसबाट विचार, सिद्धान्त र व्यवहार ओझेलमा पर्नु स्वाभाविक हो ।’

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले राजतन्त्रको अन्त्यको मूख्य व्यक्ति पुष्पलाल श्रेष्ठ रहनुभएको उल्लेख गर्दै हिजोको गल्ति कम्जोरीलाई सच्याउने, घमण्ड त्याग्ने हो भने पार्टी एकीकरणमा कुनै बाधा नरहेको बताउनुभयो ।

त्यस्तै अर्का उपाध्यक्ष तथा लेखक डा.वेदुराम भुसालले पनि पुष्पलाल श्रेष्ठ आधुनिक नेपालको राजनीतिक इतिहासको मुर्धन्य व्यक्ति रहेकोमा दुई मत छैन भन्नुभयो । नेपाली राजनीतिमा माक्र्सवाद भित्र्याउने व्यक्तिको ५४ वर्षे जीवन प्रायः सबै राजनीतिमा बितेकाले उहाँले दिनुभएको राजनीतिक दर्शन, शिक्षा, सन्देश र शैलीहरु अनुशरणीय र अनुकरणीय रहेको भुसालले बताउनुभएको छ ।

कार्यक्रममा डा.वेदुराम भुषाल, डा. माधव पन्थी र डा. ढाकाराम सापकोटाद्वारा लिखित पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ विमोचन गरिएको छ ।

तुलाधर जनै खटिरालेग्रस्त भए पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो । यसअघि नेता नेपाललाई पनि जनै खटिराले दुःख दिएको थियो ।

प्रतिष्ठानको परिसरमा पुष्पलाल स्पोर्ट्स क्लबद्वारा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

टिप्पणीहरू