शवबाहन चढेर जन्ती सरर

  • संकेत कोइराला

देशमा धमाधम सिनेमा हल बन्द भइरहेका छन् । घरैपिच्छे खुलेका अस्पतालमा रोगीको संख्या बढेर खुट्टा हाल्ने ठाउँ छैन । शहरका चिल्ला र राम्रा घर शिक्षाको नाममा खुलेका व्यापारिक प्रयोगशाला हुन् भनिदियो भने ९९ प्रतिशत सही हुन्छ । अस्पताल रोगी निको पार्ने पवित्र जनसेवी थलो नभएर स्टार होटलको सुविधा दिने सुरक्षा कवचमा रूपान्तरण हुँदै गएका छन् । अब के होला भन्दा पनि हुन बाँकी के रह्यो भन्ने अवस्थामा मुलुक घचेटिँदै गएको छ । अस्पताल पुगेको बिरामी बचाउनुपर्ने चिकित्साशास्त्रको परम कर्तव्य थाती राखेर खल्तीको योग्यताबाट उसको जीवन–मरणको भाग्यरेखा कोरिन्छ । न्याय माग्न पुलिस प्रशासनको ढोकामा पुगेको एउटा नागरिक पहुँचको मापदण्डबाट उसको भावी कर्मकाण्ड निर्धारण हुन्छ । १८ वर्षमा न्यायको ढोका ढकढक्याउन गएको एउटा पट्ठो युवक तारिख धाउँदा धाउँदै घुँडा र च्यापु जोडिने हजुरबा भइसक्दा पनि उसलाई पत्तो हुँदैन । भीमसेनलाई पसिना आएको सनसनी खबर बन्छ तर देशका लाखौं युवा ५० डिग्री आग्राको भुंग्रोमा सेकिएको समाचार बन्दैन । त्योभन्दा अगाडि आपूmले भोग्ने दैनिक डायरीको पाना पल्टाउनुस् त ।

धारामा पानी छैन, हिँड्न बाटो छैन, गाडीमा सिट छैन, पौरख गर्नेलाई काम छैन । जताततै फोहोरको साम्राज्य छ । फोहोरलाई हेर्ने चस्मा अझ विकृत हुँदा फोहोर सधैं समस्याको खेती बनेको छ । अन्तरीक्ष यात्रीले मंगल ग्रहमा पानी भएको पत्ता लगाइसके तर तीन दशकदेखि नेपालमा मेलम्ची नामको विकासे आयोजना दाउरे र बञ्चरोको कथा बनाएर तीन पुस्ताले घोकिरहेको छ । संसार एउटा मान्यता र विश्वासमा अडेको हुन्छ । गुड्छ र गन्तव्यमा पु¥याउँछ भन्दैमा शववाहन चढेर जन्ती गइँदैन । कपडा हो भनेर कात्रोको सुट सिलाइँदैन । भगवान्को भजन हो भनेर दिउँसो भजन सुनिँदैन । पुर्खाहरूले त्यसै भनेका होइनन्– सुख पाएँ भनेर सिरक नओछ्याउनु, दुःख पाएँ भनेर डस्ना नओढ्नु ।

जब मानिस आफ्नै सोचाइको खाल्डोमा फस्छ, कर्णालीका अक्करे भीर पनि फिका लाग्छ । राजनीतिका नाममा धोकाको विकल्प धोका रोज्ने पद्धति पुस्तौनी नासो बन्दै आएको छ । मासुभात खाने र आँसुभात खानेको खाडल झन्झन् बढ्दै जाँदा असन्तुष्टिका लाभा बढ्दै काबु बाहिर पुगेको छ । शिल्पीहरूले बुझ्नुपर्छ– देश बनाउने कुनै राजनीतिक तन्त्र, विद्याले नभएर इच्छाशक्तिले हो ।

संविधान बनेपछि मुलुकको अवस्था बेहुली अन्माएको घरजस्तो भएको छ । स्वामित्व ग्रहण गर्ने तत्परता कसैमा छैन । जो अगाडि देख्यो, उसैमा समाहित हुने प्रचण्ड अवतार एसएलसीमा भक्कुमार चिट चोरेर प्रथम श्रेणीमा पास भएको तर आइएस्सीमा फेल भएपछि रन्थनिएर कापी काट्ने सरलाई सत्तोसराप गर्ने काँचो विद्यार्थीको जस्तै बन्न पुगेको छ । राम्रो बन्न तेल, जेल, राम्रा लुगा, उद्योगधन्दा, बन्द व्यापार र सुत्ने खाट नरोजेर असल बन्ने बाटोमा लागि दिएको भए प्रचण्डले यो दिन देख्नुपर्ने थिएन । राजासँग पौंठेजोरी खेल्न हौसिने प्रचण्डलाई नियतिले राजा त के राजा मान्ने कमल थापाको पार्टीसँग तेस्रो स्थान पाउन लड्नुपर्ने अवस्थामा पु¥यायो । एउटा मान्यता विस्थापित गर्दा अर्को मान्यता स्थापित गर्नुपर्ने प्राकृतिक सत्य आत्मसात् नगर्दा न हाँस, न बकुल्लाको चालमा समाज रूपान्तरित भयो । भैंसीले दिनमा तीनपल्ट नुहाओस् न आखिर कहिल्यै ननुहाउने गाई नै पूजाको हकदार भएजस्तै राजनीतिका नाममा उत्ताउला, अशोभनीय र अशिष्ट खेल खेल्न खोज्ने सामाजिक अस्तित्वबाट नै बढारिँदै गएका छन् । जोसुकै होस् न प्रकृति प्रदत्त मानव कायाले प्रेमको विकल्प प्रेम खोज्छ । बाराक ओबामाले बिदा हुँदाहुँदै आफ्ना सहायकलाई सर्वाधिक ठूलो पदक दिए । श्रीमती र छोरीहरूप्रति कृतज्ञता जाहेर गरे । जब एउटा मानिस परिवारको सफल नेतृत्वमा स्थापित हुन्छ नि ऊ देशको नेतृत्वमा स्वतः सफल हुन्छ । घरकै कुशल अभिभावक हुन नसकेकाहरू राजनीतिको शीर्षस्थ स्थानमा पुग्दा समस्यामाथि समस्याको पहाड चुलिँदै गएको बुझ्न कठिन छैन ।

हो, यस्ता शाश्वत् सत्यलाई जब पाखण्ड र स्वार्थका आवरणले छोपेर विभाजित गर्न खोजिन्छ, त्यतिबेला असन्तोषको रापले पोल्छ । यसपल्ट त्यही असन्तुष्टिलाई जनताले मतदानबाट प्रकट गरेका हुन् । शान्तिप्रक्रियामा देशकै सर्वेसर्वा एक्लो शेर हुँदा पनि प्रचण्डले एउटा माखो मार्न सकेनन् । भित्ते राष्ट्रपति, पशुपति पुजारी, कट्वाल प्रकरण, विवाद समाधान समिति, राज्य पुनर्निर्धारण समितिदेखि भारतसंग सिंगौरी खेल्नेसम्मका दृश्यमा उनको गतिविधि लाटाले बाउ घुक्र्याएभन्दा माथि उठ्न सकेन । यो क्रम दोस्रो कार्यकालमा पनि निरन्तर उस्तै छ । कुरै खाने, कुरै सुत्ने, कुरैमा उठ्ने, बस्ने सामाजिक कुरीति टुप्पादेखि फेदसम्म संस्थागत बन्दै गयो । सबै नेपाली पञ्च हुन् भन्ने पञ्चायतको गीति लय सबै नेपाली कार्यकर्ता हुन्, सबै कार्यकर्ता नेपालीमा रिमिक्स भएको छ । मानिसहरू खुशी हैन, सुखी हुने लोभमा दौडिरहेका छन् । हामी अघि बढिरहेको दृश्य यति अराजक र अप्ठ्यारो छ, मानौं जहाँ घोडाभन्दा अघि बग्गी दौडिरहेको छ ।

आत्मीय प्रेम, सद्भाव र बन्धुत्व द्रौपतीको सारीजस्तै समाजबाट चिरहरण हुँदै गएको छ । सवैथोकको जड आखिर त्यही दृष्टिकोण त रहेछ । यति हुँदाहुँदै पनि प्रचण्ड देशको राजनीतिले युगमा जन्माएको एउटा प्रतिभा हो । अब उनले सवै रंगका फलपूmल समेटिएको रंग नहराएको सलादजस्तो देशको परिकल्पना गर्नुपर्छ । चिल्लो कपाल मात्र होइन, सवै जनताको रोटी खाने अधिकार नभएसम्म जनतालाई केक काट्न नदिने लेनिनको जस्तो दृढ इच्छाशक्ति विकास गर्नुपर्छ । प्रविधि र सूचनाको छताछुल्ल विश्वलाई नजरअन्दाज गरी यस्तो ठिहीमा कार्यकर्तालाई आइसक्रिम बेच्न पठाएर आपूm ब्लु लेबलमा झुम्दाको परिणाम के हुँदो रहेछ भन्ने पाठबाट सबक सिक्न जरुरी छ । भगवान्ले त पुजिने क्रमसम्म पुग्दा शिल्पीले हानेको निर्मम प्रहार खप्नुपर्छ भने मान्छेको अग्निपरीक्षा स्वाभाविक हो । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले त्यो पदमा पुग्नु अघि के भोगेनन ? आमा मरिन्, बिहे गर्न कुरा छिनिएकी प्रेमिका मरिन्, ऋणमा डुबे, दर्जन पटक चुनाव हारे, महिनौं बिरामी भएर ओछ्यानमा थलिए तर हरेस खाएनन् । त्यही इच्छाशक्तिले उनलाई अमेरिकाको १६ औं राष्ट्रपति बनायो ।

अहिले पाइला पाइलामा महँगो शिक्षाले सस्तो व्यवहारलाई प्रश्रय दिएको छ । घरघरमा असन्तुष्टिको आगो सल्किएको छ । कोही कसैसंग सन्तुष्ट छैन । सामाजिक सद्भाव यसरी खल्बलिएको छ कि एउटा पुस्ताले अर्को पुस्तालाई निषेध गर्ने अचम्मको संस्कार भित्रिएको छ । नातिले हजुरबाको अभिभावकत्व ग्रहण गरेको विरलै देख्न पाइन्छ । टुकुटुकु हिँड्ने सन्तानलाई दरिलो टेको दिएर उभ्याउने अघिल्लो पुस्ताका हातहरूमा अहिले नाति र छोराको हात नभएर निर्जीव लाठी जीवनको सहारा बनेको छ । सभ्यताका नाममा छोरा–बुहारी युरोप–अमेरिका भासिएपछि नातिनातिको तिर्सना मेट्न पप्पी पाल्ने ठालुहरूको संख्या बढेको छ । भात खानेहरूलाई भुजा खानेहरूको भीडले अल्पमतमा पार्दै लगेको छ ।

खाए मकै, नखाए भोकैको संस्कृतिमा हुर्किएर शहर पसेकाहरू पपकर्नमा रमाउन थालेका छन् । उनीहरूको जिब्रो गुन्द्रुक, सिन्कीमा लर्बराएर हिमालय सुपमा सुहाउन थालेको छ । क, ख, एबीसीडी बनाउनेहरू पक्कै पनि निरक्षरी थिए । तर तिनै अपठितहरूले बनाएको बा¥हखरी पढेर आपूmलाई स्वघोषित मूर्धन्य ठान्नेहरूले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको अभिमान धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौं उनैका मूर्ति बनाइए । प्रत्येक मानिस बुद्ध हो । मात्र फरक भगवान् गौतम बुद्ध उठेका बुद्ध हुन् भने हामी सुतेका बुद्ध । हरेक मानिस जागृत हुने हो भने बुद्धत्व प्राप्त गर्न सक्छ । गाई जुनसुकै रंगको किन नहोस दूध त सेतै हुन्छ नि !

राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्योअनुरूप तिम्रो रूप, शरीर कालो र कुरूप छ ।’ यो सुनेर कालिदास केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई ज्यादै तिर्खा लाग्यो । कालिदासले राजाका लागि माटो र सुनको दुईवटा भाँडोमा पानी ल्याएर भने– ‘महाराज ! यी दुई भाँडामध्ये कुन भाँडाको पानी पिउन चाहनुहुन्छ ?’ राजाले भने– ‘माटाकै भाँडाको पानी शीतल छ । त्यसैले म त्यही पिउन चाहन्छु ।’ मौका यही हो भन्ठानेर कालिदासले पालाको पैंचो तिरे– ‘महाराज, जसरी शीतलता भाँडाको सौन्दर्यमाथि निर्भर गर्दैन, त्यसरी नै बुद्धि र हार्दिकता पनि शरीरको सौन्दर्यमाथि निर्भर गर्दैन ।’

भगवान् रामदेखि कृष्णसम्म, अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्मका व्यक्तित्वलाई संसारमा पूज्य के ले बनायो । उत्तर हाजिर छ– राजनीति । दक्षिण अफ्रिका देशभन्दा अघि मानिस नेल्सन मण्डेला सम्झन्छन् । सहमत, असहमत संसारका हरेक मानिस उनको जन्मघर चिहाउन पुग्छन् । आखिर किन ? राजनीतिप्रति उनको इमान्दार संकल्प । तर देशलाई छातीबाट कहिल्यै अलग गरेनन् । देश के हो ? यसको उत्तर शरणार्थीलाई थाहा छ । एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ । मानिस आउनु–जानु प्रक्रिया हो । मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रमसिवाय केही होइन । गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहो¥याउनुचाहिँ अक्षम्य अपराध हो । अब त गल्तीका पनि धेरै चाङ लागिसके । खालखालका प्रयोगले देश छिद्र भइसक्यो ।

भो अब दाउपेच बन्द गरौं । धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनुपर्छ । त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बीउ तमाम देशबासीमा छर्नुपर्छ । कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन । यसका लागि आपूmबाहेक सबै बेठीकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ । नबिर्सौं देश बनाउनु भनेको उच्च मनबोलको बृद्धि हो । उत्साह विना संसारमा कहाँ पो विकास भएको छ र ? त्यसपछि मात्र वसुधैव कुटुम्बकम्को भावना सार्थक हुन पुग्छ ।

टिप्पणीहरू