दन्ता, सीता, वसन्ता र फाइटिङ अनन्त

कन्याहरूका बीचमा किचलो चल्यो । खबर सुनाउन पुगेका युवतीलाई गृहमन्त्री विमलेन्द्र निधीले भने, ‘किचकिच नगर न यार, म जान्नँ क्या !’

अहिले पनि नेविसंघ नेत्री सीता मिजार अस्पतालमा छिन् । रामचन्द्र पौडेल दिनदिनै अस्पताल पुगेर ‘के गर्नुपर्ने हो ? तपाईं त भन्नु पनि हुन्न’ भन्दै फर्किने गरेका छन् । पद्मकन्या क्याम्पसमा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीको आक्रमणमा परेर सीता अस्पताल भर्ना भएकी हुन् । दुईवटा दाँत कामै नलाग्ने गरी भत्किएको छ । मुखमा आठ वटा टाँका लगाइएको छ । एकातिर गृहमन्त्री भेट्नै जान्न भन्ने, अर्कातिर कमलपोखरीका डिएसपी उल्टै नेविसंघका कार्यकर्तालाई ‘भित्र खाँद्नु नपरोस्’ भन्दै हप्काउने !

क्याम्पसमा सबैखाले विचारका विद्यार्थीबीच सौहार्दपूर्ण पिकनिक लैजाने भनेर क्रान्तिकारीका अगुवाले एक महिनादेखि मान्छे भेला पारे । उनीहरूका ८–९ जना तयार भएका थिए । नेविसंघकी केन्द्रीय सदस्य रूपा पोखरेलले आफूहरूसँग नसोधी यस्तो योजना बन्यो भन्दै क्रान्तिकारीका कार्यकर्तासँग कुरा गरिन् । कुरा हुँदै जाँदा अलिक चर्काचर्की चल्यो । रूपा र क्रान्तिकारीकी दन्ता नेपाली (दर्शना) बीच बाझाबाझ भयो । एक प्रसंगमा रूपाले ‘छोयो भने…’ शब्द उच्चारण गरेकी थिइन् । तर, क्रान्तिकारीहरूले ‘दलित भनेर हेप्ने ? छोइछिटोको कुरा गर्ने ?’ भन्दै कुरा चर्र्काएपछि स्थितिले झडपको रूप लियो । खासमा रूपाले ‘तिमीहरूलाई छोयो भने कुट्यो भन्छन्, कुट्यो नै भने त मा¥यो भन्छन्…’ भनेकी थिइन् । तर, ‘छोयो’ भन्ने शब्दलाई दलितमाथिको अपमान भन्ने नाममा युवतीबीच घम्साघम्सी भयो ।

झगडा मिलाउन नगर प्रहरी, कमलपोखरी र सिंहदरबारदेखिका प्रहरी टोली पुगे । प्रहरीकै मध्यस्थतामा क्रान्तिकारीका विद्यार्थीको तर्फबाट नेविसंघका विद्यार्थीविरुद्ध प्रहरीमा छुवाछुतसम्बन्धी उजुरी हाल्ने गरी झगडा सामसुम भयो । कुरा पुग्यो, राष्ट्रिय महिला आयोगसम्म । तर, नेविसंघ र अखिल क्रान्तिकारीका नेताबीचको वार्तापछि मिलापत्र गर्ने र दुबै पक्षले यो घटनालाई बिर्सने सहमति भयो । तर, रूपाले ‘बोल्दै नबोलेको कुरामा किन मिलापत्र गर्ने ? नेतृत्वले हामीलाई माओवादीसँग झुक्न लागाउने ?’ भन्दै मिलापत्र अस्वीकार गरिन् । त्यसपछि केही दिनअघि नेपाली कांग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशन प्रतिनिधि, त्यहाँको स्ववियु सदस्य र राष्ट्रिय दलित आयोगको समेत सदस्य रहेकी सीता मिजार क्याम्पसमा पुगिन् । सीता र रूपा मित नलगाए पनि मितिनीजस्ता, सँगै खाने, सँगै सुत्ने साथी रहेछन् ।

क्याम्पस छिर्नासाथ सीताले ‘नभनेको कुरामा, दलित भन्दै जे पायो त्यही बोल्न पाइन्छ ?’ रूपाको पक्ष लिँदै उनले यसो भनेपछि क्रान्तिकारीका कार्यकर्ता उत्तेजित भए । दन्ता आफैँ हातमा किरिङजस्तो एउटा सिल्भर बोकेर आउँदै थिइन् । तर, त्यसमा सानो चक्कु पनि रहेछ । त्यो चक्कुले सीताको मुखमा ताकेर हानेकी थिइन्, लाग्यो दाँतमा । उनी त्यहीँ ढलिन् । लगत्तै प्रहरी आइपुग्यो । र, वीर अस्पताल पु¥यायो । नेविसंघका नेताहरूले अस्पतालबाट घाजाँच फाराम भरेर मेडिकल रिपोर्ट तयार पारे । र, त्यसैका आधारमा ज्यानसम्बन्धी महलमा जाहेरी दरखास्त लिएर टेकुस्थित प्रहरी परिसरमा दर्ता गरे । यस्तो जाहेरी दर्ता भइसकेपछि आरोपित प्रहरी नियन्त्रणमा हुनुपर्ने हो । तर, भोलिपल्ट कमलपोखरीका डिएसपी महेश थापाको साथ लागेर दन्ता क्याम्पस छिरिन् । साथमा थिइन्, त्यहाँकी क्रान्तिकारी इकाई अध्यक्ष बसन्ता भण्डारी । बसन्ताचाहिँ चार लाख मूल्य पर्ने बुलेट बाइक चढेर पुगेकी थिइन् ।

हिजो दिउँसो नेविसंघ अध्यक्ष नैनसिंह महरसहितको टोली पार्टी सभापति शेरबहादुर देउवासमक्ष दन्तालाई पक्राउ गर्न गृहमन्त्रीलाई भनिदिनु भन्दै पुगेको थियो । देउवाले विमलेन्द्रलाई फोन गरे । विमलेन्द्रले हुन्छ त भने । तर, दिनभरि बागबजारतिरै देखिएकी दन्ता पक्राउ परेकी छैनन् ।

टिप्पणीहरू