दोश्रो अध्यक्षवाला भ्रममा नपर्न माधवकुमार नेपालको आह्वान - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

दोश्रो अध्यक्षवाला भ्रममा नपर्न माधवकुमार नेपालको आह्वान



आज बेलुका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीमबहादुर रावललाई भेट्न उहाँको निवास टोखा पुग्नुभयो । कोटेश्वरबाट सरसर्ती टोखामा गएर उहाँले दुई वटा कुरा राखेर फर्किनुभएको बुझिएको छ । पार्टीको दुबै खेमाले आफ्नो रणनीति बनाइरहेको अवस्थामा नेता नेपाल र रावलबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।

रावल निकट स्रोतका अनुसार नेता नेपालले उहाँलाई पार्टीभित्रको अवस्थालाई ध्यान दिँदै आफ्नो विचार समूहले अघि बढाएको प्रक्रियासँगै हातेमालो गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरी उहाँले हामीसँगै हिँड्नुस् र सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुस् समेत भन्नुभएको बताइन्छ । प्रत्युत्तरमा रावलले आफू नेपाल समूहसँगै रहेकाले सँगसँगै जाने प्रतिबध्दता जनाउनुभएको छ ।

यता आजै उक्त समूहको स्थायी समिति बैठक बसेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताबारे गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ । छलफलमा आफ्नो विचार राख्दै नेता नेपालले साउन ३ गते प्रतिनिधिसभामा देउवा सरकारले विश्वासको मत नपाएको भए व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतमा आँच पुग्ने खतरा रहेकाले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन देउवा सरकारलाई मत दिनैपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले अगाडि भन्नुभयो, ‘एकातिर विभिन्न शक्तिहरु वामपन्थी शक्तिलाई मिल्न नदिने र विभाजित गर्ने षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर पार्टी दक्षिणपन्थी भासमा पर्ने खतरा पनि देखिएको छ । यसबाट जोगिनुपर्छ । राजनीतिक अस्थिरता उत्पन्न हुन दिनुहुँदैन ।’ लोकतान्त्रिक गणतन्त्र,संविधान र प्रतिनिधिसभा रक्षाका लागि देउवा सरकारलाई विश्वासको मत दिँदै प्रधानमन्त्री देउवालाई भ्रष्टाचार रोक्न र त्यसमा स्वयम् प्रधानमन्त्री समेत जोगिन सुझाव दिएको नेपालले बताउनुभएको छ ।

छलफलमा सहभागी सबैले पार्टीले सरकारलाई विश्वासको मत दिने सांसदहरुलाई सोधिएको स्पष्टिकरणबारे आपत्ति जनाउनुभएको छ । त्यस्तै वरिष्ठ नेता नेपाल र विश्वासको मत दिने सांसदहरुविरुद्ध भएको नारा, जुलुस र पुत्ला दहन कार्यप्रति कडा आपत्ति जनाइएको छ ।

एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाइएको अवस्थामा स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने,पुत्ला बनाएर जलाउने साथै सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोक्न पनि बैठकले निर्णय नै गरेको छ । निर्णयमा भनिएको छ, गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरतापूर्वक अघि बढाउन पार्टी अध्यक्षको ध्यानाकर्षण गराइन्छ ।’

छलफलमा सहभागीहरुले पार्टी एकतालाई सबैले गम्भीर र जिम्मेवार भएर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । छलफलमा वरिष्ठ नेता नेपालका साथै नेताहरु मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुसाल, योगेश भट्टराई र प्रमेश हमालको उपस्थिति थियो ।

यसैवीच नेता नेपालले आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नरहेको र पद नमागेको दावी गर्दै दोश्रो अध्यक्ष बनाउने भनिएको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति र देशवासीलाई आह्वान गर्नुभएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add